मुख्यमन्त्री सिंह बने महामूर्ख

नेपालभ्युज

मुख्यमन्त्री सिंह बने महामूर्ख

जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।

रङको र खुशीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ ।

उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए ।

उनकाअनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।

उनले भने, “मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।”

‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved