ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड

दरबारी शक्तिको आडमा चलाउँथे असुली धन्दा

ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड

काठमाडौं ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ,’ ७ फागुनको ज्ञानेन्द्र शाहको भाषणको यही लाइनले गर्दा राजावादी समूह र दलहरू हौसिएका छन् ।

‘राजा आउ देश बचाऊ’ भन्ने आवाज सडक, सदन र सामाजिक सञ्जालमा सुनिन थालेको छ । रोलक्रममा नभएपनि प्रारब्धले दुई पटक राजा हुने बिरलाकोटी मौका पाएका हुन्, ज्ञानेन्द्रले । उनका पछिल्ला अभिव्यक्तिले तेस्रो पटक राजा बन्ने चाहना मौलाइरहेको भान हुन्छ ।

त्रिभुवन शाह भारतीय दूतावासमा शरण लिन पुगेपछि २२ कार्तिक २००७ मा राणा प्रधानमन्त्री मोहन शमशेरले नाबालक ज्ञानेन्द्रलाई राजा घोषणा गरेका थिए । बालकैमा राजा भएको दम्भ कतिसम्म थियो भने उनले आफ्ना दाइ वीरेन्द्रलाई यही सन्दर्भसहित हियाउने गर्थे ।

भेषबहादुर थापाको किताब ‘राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म’मा ज्ञानेन्द्रको यो दम्भबारे लेखिएको छ, ‘दार्जिलिङमा पढ्न बस्दा वीरेन्द्र र ज्ञानेन्द्रको झगडा भएको थियो । त्यतिबेला ज्ञानेन्द्रले वीरेन्द्रसँग भनेका थिए रे – तिमी राजा हुन बाँकी नै छ । म त राजा भइसकेको मानिस हुँ ।’

नियतिले ज्ञानेन्द्रलाई विसं २०५८ मा दोस्रो पटक राजा बनायो । राजा बनेपछि उनले जेजे गरे त्यसैको परिणाम हो, आजको गणतन्त्र ।

राजा हुँदा र नहुँदा पनि ज्ञानेन्द्र मूलतः विचौलिया र व्यापारिक चरित्रका देखिन्छन् । उनीसँग विभिन्न तहमा काम गरेका नेताहरूले नै आफ्नो किताबमा ज्ञानेन्द्रको यस्तो चरित्रबारे लेखेका छन् । थापाले आफ्नो किताबमा लेखेका छन्, ‘ज्ञानेन्द्रमा व्यापारिक चाहना बढ्तै थियो ।’

थापाका अनुसार वीरेन्द्रले अघोषित रुपमा राज परिवारका सदस्यलाई ‘पोर्टफोलियो’ बाँडेका थिए । थापा लेख्छन्, ‘रानी ऐश्वर्य सामाजिक क्षेत्र हेर्थिन् । कान्छा भाइ धीरेन्द्र शान्ति सुरक्षा हेर्थे, माहिला भाइ ज्ञानेन्द्र पर्यटन, वन तथा वातावरण । उनीहरूलाई मुख्य चाहिने कुरा पैसा नै थियो । उनीहरू आफूलाई मन्त्री–प्रधानमन्त्रीभन्दा माथि ठान्थे ।’

राजा हुँदा उनले गरेका गतिविधिले त राजतन्त्र नै समाप्त भयो । राजा नहुँदा उनी एक प्रकारको असुली धन्दा चलाउँथे, विचौलिया, दलालसँग मिलेर व्यवसाय गर्थे ।

ओमेगामा सेयर खोजेपछि…

२०२५ सालमा कीर्तिनिधि विष्ट नेतृत्वको सरकारमा नवराज सुवेदी उद्योग वाणिज्यमन्त्री थिए । सुवेदीलाई मन्त्रीको जिम्मेवारी दिँदा नै महेन्द्रले आफ्ना परिवारबाट दबाब आउन सक्नेबारे सचेत गराएका थिए । सुवेदीले आफ्नो किताब ‘इतिहासको एक कालखण्ड’मा लेखेका छन्, ‘लामो समय तिमिले यसै मन्त्रालयमा काम गर्नुपर्छ । मेरो परिवारको दबाब आउनसक्छ, डर नमानी काम गर ।’

नभन्दै सुवेदीलाई राज परिवारका सदस्यबाट अनेक दबाब आउन थाले । सुवेदीका अनुसार व्यापार, उद्योग र व्यवसायका विषयमा हिमालय, बसुन्धरा र हेलेन सामेल थिए । उनीहरूबाट बारम्बार दबाब आउँथ्यो । 

सुवेदीले लेखेका छन्, ‘श्री ५ अधिराजकुमार हिमालय, बसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट बारम्बार दबाब आउँथ्यो । पछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो । राजा केही पनि नदे भन्ने तर, उहाँहरूलाई पूर्ण सहुलियत चाहिने ।’

आफ्ना परिवारका सदस्यको यही चाल थाहा पाएका महेन्द्रले एकदिन नवराजसँग गुनासो गरे, ‘मेरा भाइ छोराहरूलाई व्यापार गर्नु छ । मैले एकएक उद्योग गर्न भनेर दिएकै छु । अब दिनुपर्दैन ।’

तर, ज्ञानेन्द्रलाई महेन्द्रले भनेको कुराको मतलबै थिएन । उनलाई जसरी पनि व्यापार गर्नु थियो । विभिन्न उद्योग धन्दामा आफ्नो हिस्सा चाहिन्थ्यो ।

यही शिलशिलामा स्विट्जरल्याण्डको विश्वप्रख्यात घडी उत्पादक कम्पनी ओमेगाले नेपालमा कारखाना खोल्ने इच्छा देखायो । यो कुरा सुवेदीले महेन्द्रलाई सुनाए । महेन्द्रले पनि विश्व बैङ्कको साधारण सभाको बैठकबाट फर्किने बेला घडी कारखाना हेरेर आउनु भनेर अह्राए ।

सुवेदी लेख्छन्, ‘वाशिङ्गटनबट फर्किँदा म, भेषबहादुर जी र डा. पुष्करनाथ पन्थ तीन जनाले ओमेगा फ्याक्ट्री हेर्‍यौँ । र. नेपालमा पनि खोल्नेबारे कुरा पनि गर्‍यौँ ।’

यो कुराकानीमा ओमेगाले एउटा सर्त राख्यो – कसैसँग पनि साझेदारी नगर्ने । सुवेदीले लेखेका छन्, ‘उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्देनौँ भन्ने थियो । यो सर्त मञ्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गर्छौँ भन्ने उनीहरुको भनाइ थियो ।’

सुवेदीको टोलीले पनि विश्वविख्यात कम्पनीको फ्याक्ट्री नेपालमा खोल्दा राम्रै हुने ठाने । त्यहीकारण उनीहरूले ओमेगालाई नेपाल ल्याउने मञ्जुरी दिने निर्णय गरे । तर, उनीहरूको मञ्जुरीले मात्र कहाँ हुन्थ्यो र ?

‘तर, काठमाडौं आएपछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरेँ । यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन ।’ यही कारण ज्ञानेन्द्रसँग आफ्नो सम्बन्ध बिग्रेको सुवेदीले किताबमा लेखेका छन् ।

‘हप्ता असुली’को शैलीमा उद्योगधन्दा र व्यापारमा सेयर खोज्ने ज्ञानेन्द्रको व्यवहारसँग महेन्द्र परिचित थिए । महेन्द्रले भनेको कुरा सम्झिँदै सुवेदीले लेखेका छन्, ‘वीरेन्द्र साह्रै सोझे र असल छ । तर, उसभन्दा भाइहरू निकै चलाख र चुतर छन् । ज्ञानेन्द्र अब व्यापार गर्छु भन्दै छ उ चलाख र चतुर छ । सफल हुन सक्छ, तर पछि दाजुसँग कति मिल्न सक्छ भविष्यले नै भन्ने कुरा हो ।’

र, वीरेन्द्र राजा भएपछि ज्ञानेन्द्रले अघोषित रुपमै शासन सञ्चालन कज्याएको कुरा भेषबहादुर थापाले आफ्नो किताबमा उल्लेख गरेका छन् । महेन्द्रजस्तै कडा नभएको भन्दै वीरेन्द्रको आलोचना गर्ने गरेको कुरा पनि लेखिएको छ ।

पानी जहाजमार्फत कालोधन सेतो बनाउने प्रयास

भेषबहादुर थापा अर्थमन्त्री थिए । एकदिन उनको टेबलमा नेपालकै पानीजहाज चलाउने योजनाको फाइल आइपुग्यो ।

‘सगरमाथामा मात्र होइन, समुद्रमा पनि नेपाली झण्डा फहराउनुपर्छ,’ ज्ञानेन्द्रले पानीजहाज चलाउने योजना बनाउँदा तय गरेको नारा थियो । पानीजहाज चलाउनका लागि गाम्बा इन्टरनेसनल कम्पनी नाम दिइएको थियो । र कम्पनीको अध्यक्ष थिए, ज्ञानेन्द्र शाह ।

अध्यक्षमा ज्ञानेन्द्रको नाम भएपनि यसमा लगानी थियो, युगाण्डाबाट धपाइएका भारतीय मूलका व्यापारीको । थापाले आफ्नो किताबमा लेखेका छन्, ‘प्रतिनिधिका रूपमा युगान्डाबाट धपाइएका एकजना भारतीय नागरिक प्रस्तुत भए । युगान्डाका तानाशाह इदी अमिनले त्यहाँ भएका भारतीय मूलका ठूला व्यापारीलाई लखेटेका थिए । त्यतिबेला लखेटिएका धनाढ्य व्यक्तिहरू आफ्नो सम्पत्ति कहाँ पुर्‍याउन सकिन्छ भनेर खोज्दै नेपालसम्म आइपुगेका थिए ।’

थापाको टेबलमा आइपुगेको पानीजहाज कम्पनीका फाइलमा एउटा निवेदन थियो । त्यो निवेदनअनुसार पानीजहाज कम्पनीका लागि नेपाल सरकार ग्यारेन्टी बस्नुपर्ने थियो । नेपाल सरकार ६० करोडभन्दा बढी रुपैयाँ ग्यारेन्टी बस्नुपर्ने थियो । यतिखेर नेपालको वार्षिक बजेट नै चार अर्बभन्दा कम थियो ।

ज्ञानेन्द्रले पठाएको त्यो फाइलमा कुनै निर्णय नै नगरीकन थापा विश्व बैङ्कको कार्यक्रमका लागि वासिङ्गट्न गए । वासिङ्गटनमा अमेरिकन एक्सप्रेस बैङ्कका अन्तर्राष्ट्रिय विभाग प्रमुख लर्ड क्यामोएले फाइलमा भएको कम्पनीका बारेमा थापालाई सचेत गराए ।

लर्ड क्यामोएले थापालाई भने, ‘तिमीलाई कडा र इमानदार मानिस भन्ने ठानेको थिएँ । तर, तिमी त इदी अमिले नै शङ्कास्पद भनेर निकालेको कम्पनीको ग्यारेन्टी बस्न तयार भए छौ ।’

लर्ड क्यामोए यतिमै रोकिएनन्, उनले सचेत गराउँदै भने, ‘यसमा नेपाल नराम्ररी फस्यो । यसले नेपालको राज्य ढुकुटीलाई तलमाथि पार्न सक्छ । राजपरिवारसँग सम्पर्क भएको हुँदा नेपाल नफसोस् भन्ने मेरो चाहना हो ।’

यो सुनेपछि थापालाई लाग्यो फाइलमा कुनै निर्णय नगरेको ठीकै भएछ । उनी विश्व बैङ्कको कार्यक्रमबाट चार दिनपछि फर्किए । फर्किँदा उनको टेबलको फाइल सदर भइसकेको थियो । अर्थात् सरकार ग्यारेन्टी बस्न तयार भइसकेको थियो । त्यसपछि रिसाएका थापाले त्यो फाइल मगाए । र, लेखे, ‘यसमा सरकार ग्यारेन्टी बस्न सक्दैन र कुनै संलग्नता पनि देखाउन चाहँदैन ।’

सदर भएको फाइल रोकिएको कुरा ज्ञानेन्द्रलाई थाहा नहुने कुरै भएन । तर, यता थापाले सरकारको निर्णय बदल्दा ज्ञानेन्द्र भने बेलायत पुगिसकेका थिए – पानीजहाज छान्न । बेलायतको पानीजहाज निर्माता कम्पनीका कर्मचारी पनि नेपाल आइपुगे । तर, सरकार ग्यारेन्टी नबस्ने भएपछि उनीहरू फर्किए ।

आफ्नो योजना असफल भएको थाहा पाएपछि ज्ञानेन्द्र बेलायतबाट रिसाउँदै फर्किए । नेपाल फर्केपछि उनले थापालाई निर्मल निवासमा चिया खान बोलाए । थापा निर्मल निवास पुग्नेबित्तिकै ज्ञानेन्द्रले भने, ‘मैले नेपालको झण्डा समुद्रमा पुगोस् भनी चाहेको थिएँ । त्यसमा तिमीले विरोध गरेको सुनेँ ।’

थापाले पानीजहाज बेच्ने कम्पनी र यसबाट हुने नाफा नोक्सानबारे अध्ययन नभएको सुनाए । थापाले यस्तो सुनाइरहँदा ज्ञानेन्द्रको हाउभाउ फेरिइसकेको थियो । अनि थापाले भने, ‘एउटा अर्थशास्त्रीसमेत भएका नाताले सरकारलाई यसमा हात नहाल्न सल्लाह दिन्छु । सरकार आफैँ व्यक्तिगतरूपमा साधन सम्पन्न हुनुहुन्छ भने एक्लो निर्णय लिन सक्नुहुन्छ । तर, अर्थ मन्त्रालय संलग्न हुन सक्दैन । अर्थमन्त्रीका नाताले म त्यत्रो रकमको ग्यारेन्टी र राष्ट्र बैङ्कबाट लगानी गर्ने विषय अनुमोदन गर्न सक्दिनँ ।’

थापाको यति कुरा सुनेपछि ज्ञानेन्द्रले भने, ‘सो यूआर एगेन्सट इट ?’

‘हो सरकार,’ थापाले भने ।

‘यू मे गो ।’ ज्ञानेन्द्रले थापालाई निर्मल निवासबाट बाहिर पठाए ।

आफ्नो योजना थापाले असफल बनाएकोमा ज्ञानेन्द्र रिसाए ।

राजाको शासनकालमा कुनै पनि उद्योगधन्दा सुरु गर्नुअगाडि राज परिवारका सदस्यलाई ५१ प्रतिशत सेयर दिनुपर्ने बाध्यात्मक व्यवस्था रहेको कुरा त उद्योगी तथा नेपाली काङ्ग्रेसका सांसद विनोद चौधरीले आफ्नो आत्मकथामै लेखेका छन् । उनले विभिन्न उद्योगका लागि धीरेन्द्र शाहलाई सेयर दिएको कुरा किताबमा लेखेका छन् ।

असुली धन्दामा सामेल राज परिवारका भाइभारदारलाई सूर्यबहादुर थापाले ‘भूमिगत गिरोह’को नाम दिएका थिए । राजा भएपछि २०५९ सालमा पहिलो विदेश भ्रमणका रूपमा भारत जाँदा पनि ज्ञानेन्द्र व्यापार र भौतिक सामग्री सङ्कलनमै व्यस्त रहेको थापाले किताबमा लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved