काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेड टाइटल स्पोन्सर बन्ने भएको छ ।
शुक्रबार ललितपुरमा आयोजित समारोहमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले यस साझेदारीको घोषणा गरेको हो ।
एनसेलले नेपाली फुटबल प्रवर्द्धन गर्दै खेलाडीहरूलाई प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा स्थापना भएको एनएसएल अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।
लिग मार्च २९ देखि सुरु हुनेछ, जसमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, र पोखरा थन्डर्स एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
एनएसएलका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेलको संलग्नताले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । एनसेलका सीसीओ उमैर मोहसिनले फुटबलले समाजलाई जोड्ने शक्ति राख्ने भन्दै खेल विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए ।
एनसेलले क्रिकेट, भलिबल, गल्फ तथा पारा खेलाडीहरूको सिप विकासमा पनि योगदान गर्दै आएको छ । यस साझेदारीले नेपाली फुटबल, खेल पूर्वाधार सुधार, र युवा सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Facebook Comment
Comment