रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप चारजना पक्राउ

नेपालभ्युज

रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप चारजना पक्राउ
फाइल तस्वीर

जनकपुरधाम । सिरहाकी रिङ्कुकुमारी सदा मृत्यु प्रकरणमा थप चारजना पक्राउ परेका छन् ।

नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुको बलात्कार तथा मृत्यु प्रकरणमा थप चारजना पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित चारजना छन् ।

उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति रहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरूलाई आज (बिहीबार) दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

यसअघि यस घटनाका मुख्य आरोपीको रुपमा रहेका रुपेशलााई फागुन २१ गते पक्राउ परिसकेका छन् । उनीमाथि सिरहा जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार प्रहरीको विशेष टोलीले बिहान साढे ११ बजेको समयमा सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । तर, वडा सदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा र पीडक पक्षको धम्कीले गर्दा पीडित युवती ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस घटनाका विषयमा विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएपछि प्रहरीले बलात्कारमा संलग्न तीनजना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । घटनाका अन्य तीनजना आरोपी गत फागुन ११ गते नै पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved