महोत्तरीमा बिहीबार शीर्ष तीन नेताको जमघट : दुई फर्किए, देउवा अझै यतै

नेपालभ्युज

महोत्तरीमा बिहीबार शीर्ष तीन नेताको जमघट : दुई फर्किए, देउवा अझै यतै

महोत्तरी । आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बिहीबार एकै दिन जिल्लामा भएका कार्यक्रममा सहभागिताले यहाँ उत्साह देखिएको हो ।

‘मुलुकका जिम्मेवार दलका नेताहरू एकैदिन जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुहुन्छ, यसले यहाँका जनतामा आशा र उत्साह पलाएको छ,’ बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने, ‘मुख्य दलका नेताले यहाँका विषय उठाउनुभएको छ, यहाँका आवश्यकताले उपल्लो तहमा चासो बढाएको छ, यो हाम्रा लागि अवसर हो ।’ तत्कालै कुनै परिणाम देखिनहाले पनि नेताहरूको यो जमघटले जिल्लालाई दूरगामी रुपमा फाइदा नै पुग्ने क्षेत्रीको विश्वास छ ।

प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एन्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक भए । ‘तीनै ठाउँमा मधेसको आर्थिक विकास र समृद्धिका कुरा उप्किए, तीनै नेताले यहाँको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो,’ गौशाला–४ रजखोरका सामाजिक राजनीतिक कार्यकर्ता अजय कुशवाहा भन्छन्, ‘नेताहरूको यो जमघटले यहाँका विकास सम्भावनाबारे चर्चा बढेको छ ।’ बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री नै रहेको हुँदा आसलाग्दो स्थिति बनेको कुशवाहाको बुझाइ छ ।

बुधबारदेखि नै जिल्लामा विभिन्न भेटघाट र सभामा सरिक भएका माओवादी अध्यक्ष प्रचण्डले बिहानबेलुका सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट र कुराकानी गरेका छन् । यसैगरी शुक्रबारको मनराशिशवा नगरपालिकाको कार्यक्रममा सरिक हुन बिहीबार नै बर्दिबास आइपुगेका सभापति देउवाले यहाँका कृषि, उद्योग र सुक्खा बन्दरगाहको कुरा महत्वका साथ हेरिने बताएका छन् । अध्यक्ष दाहालले त सुक्खा बन्दरगाहबारे आफू निकै उत्साही रहेको र यसका लागि पहलकदमी लिने सार्वजनिक प्रतिबद्धता नै जनाएबाट अब केही हुन्छ भन्ने विश्वास पलाउँदै गएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको प्रतिक्रिया छ ।

प्रधानमन्त्री ओली सरिक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री तथा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहको सरिकताले यहाँका कुरा केन्द्र र प्रदेश सरकारसम्म जिम्मेवार तहमा पुगेका गौशालाका नगरप्रमुख डा. दीपेन्द्र महतो बताउँछन् । यसबाहेक प्रदेश सरकारका मन्त्रीहरू सरोजकुमार यादव र राजकुमार लेखीसहितको नेताहरूको सामूहिक सहभागिताले यहाँका प्रस्ताव अब सबैजसो दलका मुख्य नेतासम्म पुगेका डा‍. महतोको भनाइ छ ।

कार्यक्रम सकेर प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड महोत्तरीबाट फर्किसके पनि सभापति देउवा भने शुक्रबार मनराशिशवामा आयोजना हुने कार्यक्रममा सरिक हुने तालिका छ ।

नेताहरूको यो जमघट जति बढ्यो, यहाँका आवश्यकताका कुराले जिम्मेवार ठाउँमा उति चर्चा पाएका शिक्षाविद् बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् । यस भेगमा नेताहरूको जमघटबीच यहीँकै विकास निर्माण र त्यससम्बन्धी बहसका मुद्दा जोडतोडका बढ्दा अब नयाँ कामका विषयबारे सघन चासो र चर्चा बढेको घिमिरेको ठम्याइ छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved