देशभरका २२७ स्थानीय तहमा प्रशासकीय अधिकृत रिक्त, सबैभन्दा पीडित मधेस

देशभरका २२७ स्थानीय तहमा प्रशासकीय अधिकृत रिक्त, सबैभन्दा पीडित मधेस

काठमाडौं विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आइतबारदेखि उमेर हदको कारण सेवाबाट अवकाश पाए । पराजुलीपछि सोमबारदेखि दसौँ तहका अधिकृत रामप्रसाद ढुङ्गेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

ढुङ्गेलकाअनुसार उनले नियमित कार्यालयको काम मात्र गर्ने छन् । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल योजनाहरूको भुक्तानीदेखि सामाजिक सुरक्षा भत्ता वितरणसमेत रोकिन्छ । ‘मसँग आर्थिक अधिकारहरू त हुँदैन । भुक्तानीहरू प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्र हुन्छ,’ ढुङ्गेलले नेपालभ्युजलाई भने ।

विराटनगर महानगर मात्र हैन, अहिले मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२७ वटामा प्रमुख प्रशासकीय पद रिक्त छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो विवरणअनुसार २२६ स्थानीय तहमा रिक्तता छ र यसमा विराटनगर महानगरपालिका सोमबारदेखि थपिएको छ । 

मन्त्रालयको विवरणअनुसार २ महानगरपालिका, ६ उपमहानगरपालिका, १०० नगरपालिका र ११९ गाउँपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्नेछ ।

प्रादेशिक हिसाबले हेर्दा सबैभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको प्रदेश हो- मधेस । मधेसमा आधा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । यस्तै: हाल सुदूरपश्चिम र कर्णालीको पनि छ । गण्डकीका निकै कम पालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् ।

मधेस प्रदेशको एक्लो महानगर, वीरगन्जमा प्रमुख प्रशासकीय अधिकृत खाली छ । त्यसबाहेक मधेसको १ उपमहानगरपालिका, ४६ नगरपालिका र १९ गाउँपालिकामा सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । मधेसका कुल ६७ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

कोशी प्रदेशको विराटनगर महानगरसहित अन्य ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन बाँकी छ । जसमध्ये धरान उपमहानगरसहित १२ नगरपालिका रहेका छन् भने १७ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुगेका छैनन् ।

कोशी प्रदेशका १३७ पालिकामध्ये १०७ मा मात्रै प्रमुख प्रशासकीय अधिकृत छन् ।  

बागमती प्रदेशमा पनि काठमाडौं महानगरपालिकामा खटिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ बिदामा छन् । महानगरले पटकपटक प्रमुख प्रशासकीय अधिकृत पठाउन ताकेता गरेपनि सरकारले पठाउन सकेको छैन ।

सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँमाथि महानगरले गरेको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि मात्रै त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने बताएका छन् । 

‘काठमाडौं महानगरमा मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता नबोलाइ अर्को पठाउन मिल्दैन । महानगरले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि त्यसका आधारमा हामी आवश्यक निर्णय लिन्छौँ,’ उनले नेपालभ्युजसँग भने ।

बागमती प्रदेशका कुल २० पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । दुई नगरपालिका र १८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

यस्तै, गण्डकी प्रदेशका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । गण्डकीका १ नगरपालिका र ५ गाउँपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउन बाँकी छ ।

लुम्बिनी प्रदेशका ३ उपमहानगर, २ नगरपालिका र १० गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । 

यस्तै, कर्णाली प्रदेशका ३८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । कर्णालीका १७ नगरपालिका र २१ गाउँपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । 

सुदूरपश्चिमको ५० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । जसमा १ उपमहानगर, २० नगरपालिका र २९ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

जनप्रतिनिधिको व्यवहारले कर्मचारी हतोत्साही !

जनप्रतिनिधि र कर्मचारीहरूको विवादले प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान नमान्ने समस्या देखिएको छ । काठमाडौं महानगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेको भन्दै एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका थिए ।

काठमाडौं महानगरतर्फ इङ्गित गर्दै पोखरेलले पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत जान नमानेपनि सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका थिए । पोखरेलले भनेझैँ विगत दुई वर्षभित्र मात्रै काठमाडौं महानगरमा चार जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

महानगरका मेयर बालेन्द्र साहले भ्रष्टाचारमा जोडिएकाले आफूले २ प्रशासकीय अधिकृत हटाएको बताएका छन् । सरकारले आफूलाई जानकारी नै नदिएर दुई जना प्रमुख प्रशासकीय अधिकृत हटाएको उनको भनाइ छ । 

सोमबार उनले फेसबुकमा लेखेका छन्,‘अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन् । ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो । के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर ।’

काठमाडौंमा मात्र हैन, हर्क साम्पाङको नेतृत्व रहेको धरान उपमहानगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्दैनन् । २०७९ को स्थानीय तहको निर्वाचनपछि साम्पाङ नेतृत्वमा आएयता धरानमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

केही समय अगाडि धरानको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन, उपसचिव प्रज्ञादेवी निरौला । मेयर साम्पाङले आफूखुसी फाइलहरूमा सही गर्न दबाब दिएपछि निरौलाले सामाजिक सञ्जालमै लेखेकी थिइन । ‘आदेश मानौँ कानुनको डर, कानुन मानौँ आक्रमणको डर, जय देश जय सङ्घीयता !’ 

आफ्नो आदेश नमानेपछि निरौलालाई साम्पाङले बिदामा बस्न निर्देशन नै दिएका थिए । पछि, निरौलाभन्दा कनिष्ठ उपसचिव भूपेन्द्र राईलाई सरकारले प्रमुख प्रशासकीय अधिकृतमा पठाएपछि यो विवाद अदालतसम्म पुगेको थियो ।

जनप्रतिनिधिको दबाबले समेत कर्मचारीहरूमा निराशा बढेको भन्दै त्यसलाई चिर्नुपर्ने सुझाव सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको थियो ।

समितिका संयोजक खिमलाल देवकोटा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुनुपर्ने बताउँछन् । ‘जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व हैन समन्वयको आवश्यकता छ । समन्वयकारी वातावरण भएमात्रै कर्मचारीको मनोबल बढ्छ र उनीहरूलाई  खटाइएको ठाउँमा जान प्रोत्साहन मिल्छ,’ देवकोटाले भने ।

मन्त्रालय भन्छ :  पदपूर्ति छिट्टै हुन्छ

प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्ने जिम्मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हो । मन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृतको रिक्तताबारे आफू जानकार रहेको भन्दै छिट्टै सबै स्थानमा पदपूर्ति गरिने दाबी गरे । 

‘प्रमुख प्रशासकीय अधिकृतका लागि ३८ सहसचिव तत्कालै आवश्यक छन् । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने काम सरकारले छिट्टै बढाउनेछ । म अहिले जिल्लाबाहिर छु आउनेबित्तिकै यसले तीव्रता पाउँछ,’ उनले भने ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव र उपसचिवको पोस्टिङ भइरहेको र बाँकी स्थानमा वरिष्ठलाई बनाउने गरी तयारी भइरहेको बताउँछन् ।

‘प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अब धेरै समय कायम हुने छैन । उपलब्धताअनुसार सहसचिव र उपसचिवलाई पोस्टिङ गर्ने र नपुगेको ठाउँमा वरिष्ठलाई प्रमुख प्रशासकीय अधिकृत तोक्ने गरी मन्त्रालयले काम गरिरहेको छ । यो रिक्तता अब छिट्टै अन्त्य हुन्छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहमा बजेट कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता वितरण, टेन्डर आव्हानसहित धेरै समस्या उत्पन्न भएको छ । काठमाडौंसहितका कतिपय स्थानीय तहका कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् । 

मुलुक सङ्घीय व्यवस्थामा गए पनि कार्यान्वयनमा समस्या देखिएको छ । सङ्घीय सरकारको मानसिकता अहिले पनि आफू नै केन्द्र भएकोजस्तो देखिन्छ । त्यसैले जनतासँग प्रत्यक्ष जोडिएका यस्ता विषयमा सङ्घीय सरकारलाई सोच्ने फुर्सदसम्म छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved