काठमाडौं । मध्यराति गएको भूकम्पबाट नेपालमा सामान्य क्षति भएको ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षतिका विवरण प्राप्त भएका छन् ।
भूकम्प आएपछि आत्तिएर भाग्ने क्रममा लडेर जिल्ला कारागारका एक कैदी घाइते भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नेपालभ्युजलाई जानकारी दिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै भूकम्पले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
बिहीबार मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौंलगायत बागमती कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो । यसले गर्दा काठमाडौंका बासिन्दा घर बाहिर निस्किएका थिए ।
यस्तै पश्चिम नेपालको पोखरा, पाल्पामा समेत भूकम्प महसुस गरिएको त्यहाँका स्थानीय प्रतिनिधिहरूले जनाएका छन् ।
भूकम्पले पुर्याएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।
Facebook Comment
Comment