‘आमसञ्चार परिषद् विधेयक,२०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत

नेपालभ्युज

‘आमसञ्चार परिषद् विधेयक,२०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेस गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताए ।

“विधेयकमा प्रेस काउन्सिलले गरिरहेको काम अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहनेछ, अधिकारका विषय समितिमा थप छलफल गरिनेछ, आचारसंहिता र कारबाहीका कुरा माथि पनि छलफल चल्नेछ”, उनले भने, “परिषद्लाई स्वतन्त्र मर्यादित संस्थाका रूपमा परिकल्पना गरिएको छ, सदनमा उठेका विषयमाथि थप संशोधन गरिनेछ, समितिहरूबाट आउने विषयहरू पनि समेटिनेछ ।”

सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राखेका धारणा मननीय र ग्रहणयोग्य रहेको मन्त्री गुरुङको भनाइ थियो । यसअघि मिडिया काउन्सिल विधेयकका रूपमा दर्ता गरिएकामा त्यसलाई नेपालीकरण गरी ‘आमसञ्चार परिषद् विधेयक’ का रूपमा ल्याइएको उनको भनाइ थियो । राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयनका लागि यो विधेयक जरुरी रहेको समेत उनले उल्लेख गरे । नीतिले मार्ग निदृष्ट गरेका विषय समयसापेक्ष बनाउन विधेयकले भूमिका खेल्ने उनले बताए ।

पहिले छापा माध्यम बढी रहेको अहिले विद्युतीय माध्यमहरूको सङ्ख्या बढेको, प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहने उनको भनाइ थियो ।

सभामुख देवराज घिमिरेले उक्त विधेयकमा संशोधन पेस गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदले विधेयक शाखा सिंहदरबारमा दिनसक्ने जानकारी गराए ।

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २१ गते दिनको १ बजे बस्नेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved