‘नेताराज’ अन्त्य गर्ने भन्दै नागरिक समाजले घोषणा गर्‍यो ‘मिसन ८४’

‘नेताराज’ अन्त्य गर्ने भन्दै नागरिक समाजले घोषणा गर्‍यो ‘मिसन ८४’

काठमाडौं । नागरिक अगुवा राजनीतिक दलभित्र देखिएको ‘नेताराज’को विरोध गर्दै फेरि सडकमा उत्रिने तयारीमा लागेका छन् ।

राजनीतिक दलहरूले ‘मिसन ०८४’ भनिरहँदा नागरिक समाजले पनि त्यसलाई ‘नेताराज’को अन्त्य गर्ने अभियानका रूपमा  ‘मिसन ८४’ घोषणा गरेको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बृहत् नागरिक आन्दोलनले मिसन ८४ अभियान सुरु भएको घोषणा गरेको हो ।

अब ०८४ मा हुने चुनाव आम नागरिकको पक्षमा बनाउने गरी अभियान सुरु गरिएको नागरिक अगुवा बताउँछन् ।

घोषणा कार्यक्रममा बृहत् नागरिक आन्दोलनका अगुवाद्धय खगेन्द्र सङ्ग्रौला र कृष्ण खनालले ०६२/०६३ को नागरिक आन्दोलनको सन्दर्भ कोट्याउँदै वर्तमानका असन्तुष्टिको लामै फेहरिस्त सुनाए । अलिअलि आक्रोश पनि पोखे ।

०६२/०६३ यता बारम्बार दलहरुसँगको अपेक्षा कमजोर हुँदै गएको भन्दै गुनासो गरे । दलीय शासनको सट्टा ‘नेताराज’ हाबी हुँदा लोकतन्त्रप्रति आम मान्छेमा वितृष्णा बढेको निर्क्योलमा पुगेको छ, नागरिक समाज ।

सामाजिक सञ्जाललाई असन्तुष्टि मापन गर्ने एउटा मानकका रुपमा देखाए, कृष्ण खनालले । उनले भने, “सोसल मिडियालाई एउटा इन्डिकेटर मान्ने हो भने त्यसले आजको असन्तुष्टिको अवस्था देखाउँछ ।” सर्वत्र व्याप्त रहेको गुनासो र असन्तुष्टिको कारण दलभित्र ‘नेताराज’ देखिएको खनाल बताउँछन् ।

‘नेताराज’ अन्त्य गर्ने भनेको के हो ?

जवाफमा खनाल भन्छन्, “हामीले दलतन्त्र अन्त्य गर्न खोजेको होइनौँ । दलभित्र र शासन व्यवस्थामा देखिएको नेताराज अन्त गर्न दबाब दिन खोजेका हौँ । दलहरु लोकतान्त्रिक व्यवस्थाका चालक हुन् ।”

लोकतन्त्रलाई अभ्यास गर्ने माध्यम नै दलहरु हुन भन्दै उनी भन्छन्, “दलभित्र देखिएको अव्यवस्था, दलको संरचनामा गडबडी छ, त्यसलाई जरैदेखि उखेल्नुपर्छ ।”

चुनावमा आम नागरिकले दिएको मतको अपमान भएको र चुनावमा पार्टीले हार्ने तर नेताले जित्ने अवस्था नै ‘नेताराज’कै नतिजा भएको खनालको निष्कर्ष छ ।

खनाल थप प्रष्ट पार्छन्, “नेताराज शब्द अलिकता व्यङ्ग्यात्मक शब्द हो । हामीले खोजेको असल नेता हो, राज गर्ने नेता होइन् । हाम्रो भावना बुझेर हामीप्रति उत्तरदायी भएर नेपाली समाज, राजनीति ड्राइभ गर्ने मान्छे पो हामीले नेता भनेको हो । हामीले राज खोजेको होइन नेता खोजेको हो । पदमा पुगेर, सुविधाभोगी भएर आफ्ना स्वार्थ पूरा गर्न रजगज गर्ने प्रवृत्तिलाई सङ्केत गर्न नेताराज शब्द प्रयोग भएको हो ।”

तर, यसको अर्थ दल चाँहिदैन, दलको नेतृत्व चाहिँदैन भन्ने आफूहरुको माग नरहेको खनालले प्रष्ट्याए । राजनीतिक दल समाज चलाउने साध्य नभइ साधन भएको खनाल बताउँछन् ।

लोकतन्त्रका चालक हुनुपर्ने दलहरु नेताराजको कब्जामा पुगेको हुँदा नागरिक समाज फेरी सडकमा आउने तयारीमा उत्रिएको खनालले सुनाए ।

नागरिक समाज पनि मिसन ८४ मा लाग्ने बताउँदै खनाल भन्छन्, “पार्टीहरु सबैले अहिले मिसन ०८४ भनिरहेका छन् । यही हालतको मिसन ०८४ हामीलाई चाहिँदैन । यिनै अनुत्तरदायी दल, भ्रष्ट नेतृत्वलाई अनुमोदन गर्ने मिसन ०८४ चाहिएको छैन् । आउने चुनावमा हाम्रो पनि मिसन छ । हामीले नचाहेको, हामीप्रति उत्तरदायी हुन नसक्ने, हाम्रा कुरा सुन्न नसक्ने नेतालाई अर्को चुनावमा फ्याँक्नुपर्छ ।”

नागरिक समाज अबका दुई वर्ष यही अभियानमा लाग्ने पनि उनले सुनाए । दलहरुलाई उत्तरदायी हुन र नेताराजको अन्त्य गर्न दलहरुसँग निरन्तर संवाद गर्ने पनि खनाल बताउँछन् ।

राजनीतिक दलहरु ‘मठाधीश’को कब्जामा परेको बताउँदै खनाल भन्छन्, “पार्टीहरु मठाधीशको कब्जामा छन् । ती मठाधीश र मठको अन्त्य गर्न जरुरी छ ।”

खनालले नाम नलिकनै ‘मठाधीश’ भन्दै सङ्केत गरेका नेताहरुको नाम खगेन्द्र सङ्गौलाले सुनाए । उनले भने, “नेताराज भन्ने बित्तिकै तीन वटा नेताको अनुहार हाम्रा अगाडि आउँछ । पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवा ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved