काङ्ग्रेसको पोखरा भेलामा उठे पार्टी सङ्गठनदेखि जलवायु परिवर्तनसम्मका विषय

नेपालभ्युज

काङ्ग्रेसको पोखरा भेलामा उठे पार्टी सङ्गठनदेखि जलवायु परिवर्तनसम्मका विषय

गण्डकी । चार दिनयता पर्यटन राजधानी पोखरा काङ्ग्रेसमय भएको छ । देशैभरिबाट आएका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताका कारण यहाँको चहलपहल बढाएको हो ।

पार्टीको पोखरा महानगरपालिका समितिद्वारा यही २० गते आइतबार आयोजित महानगर कार्यसमतिको तेस्रो वार्षिक सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापतिसहितका नेताले सम्बोधन गरेका थिए ।

यसैगरी, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार भएको प्रदेशस्तरीय, मङ्गलबार र बुधबार भएको जिल्लास्तरीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतृत्वसहित सातवटै प्रदेशका सभापति तथा उपसभापति, ७७ वटै जिल्लाका सभापति तथा उपसभापति पोखरामा रहेका छन् ।

प्रशिक्षणमा पार्टी सङ्गठनलाई कसरी बलियो बनाउनेदेखि राष्ट्रिय रूपमा देखिएका जलवायु परिवर्तनसम्मका मुद्दामा गम्भीर छलफल एवं बहस भएको सहभागी नेताहरूले बताएका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले प्रशिक्षणात्मक शैलीको सम्बोधन गरेका थिए भने महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुुमार थापाले सङ्गठनात्मक गतिविधिलाई समेटेर प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकका रूपमा रहेका विज्ञहरू डा जगदीशचन्द्र पोखरेलले आर्थिक नीति र प्रजातान्त्रिक समाजवाद, डा कृष्ण पौडेलले कांग्रेसको नेतृत्वमा भए गरेका काम, डा बुद्धि श्रेष्ठले सङ्घीयता कार्यान्वयन र विश्वद्वीप लामिछानेले सूचना प्रविधिको प्रयोगलगायत विषयमा प्रशिक्षण दिएको काङ्ग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

प्रशिक्षणमा विभिन्न सातवटा समूह बनाएर छलफल गरिएको थियो भने प्रत्येक समूहबाट दुुई –दुुई जनाले समूहका तर्फबाट आफ्ना भनाइ राखेका थिए । विभिन्न १० वटा जिल्लाका सभापतिले प्रतिनिधिका रूपमा जिल्ला पार्टी सङ्गठनका गतिविधि सञ्चालन, विद्यमान चुनौतीलगायत विषयमा बोले ।

पोखरामा भएको यो भेलामा सङ्गठनात्मक प्रशिक्षणसँगै पार्टी सङ्गठन सुुदृढीकरणदेखि जलवायु परिवर्तनलगायत विषयमा गम्भीर छलफल भएको सहभागी पार्टीका नेताहरूले बताएका छन् ।

प्रशिक्षणले पार्टीलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्यायाएको काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ बताउँछन् । छलफलमा जनजीविकाका सवालहरूसँगै जलवायु परिवर्तनले पुर्याइरहेको असर, बाँदरका कारण भइरहेको समस्या समाधान खोज्नुपर्नेलगायत सवालमामा गम्भीर छलफल भएको उनले जानकारी दिए । ‘पार्टीले जनमुखी नीति ल्याउनुुपर्ने, युवा रोजगारी अभिवृद्धि एवं उनीहरूलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने विषयमा छलफल भएका छन्,’ श्रेष्ठले भने ।

यसअघि केवल महाधिवेशन र महासमितिको बैठकमा मात्रै भेला हुने अवस्था रहेकामा पार्टीका जिल्ला सभापति एवं उपसभापति, केन्द्रीय नेतृत्व एकै ठाउँमा जम्मा भएर आफ्ना अनुुभवहरू एकापसमा आदानप्रदान गर्न पनि पोखरा भेला महत्वपूर्ण बनेको उनको भनाइ छ ।

पार्टीका ७७ वटै जिल्ला सभापति एवं उपसभापतिलाई भेला गराएर पार्टी सङ्गठन र समसमायिक विषयमा गरिएको प्रशिक्षण एवं छलफलले पार्टी सङ्गठनमा नयाँ रक्तसञ्चार गराएको नेपाली काङ्ग्रेस रोल्पाका उपसभापति कविता उपाध्यायले बताइन् । ‘पोखराको यो भेला धेरै प्रभावकारी बनेको छ,’ उनले भनिन्, ‘प्रशिक्षणबाट पार्टीमा नयाँ आशा एवं उत्साह थपिएको छ ।’

पार्टीमा बढ्दै गएको गुट र अन्तर्घात समस्याका रूपमा रहेको भन्दै सहभागीले त्यसलाई परास्त गर्न सकेमा आगामी निर्वाचनमा बहुमत ल्याउने विश्वास व्यक्त गरेका थिए ।

काङ्ग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले प्रशिक्षणले पार्टीलाई नीति तथा सङ्गठनात्मक रूपमा बलियो बनाउन महत्वपूर्ण सहयोग पुर्याएको बताए । ‘प्रशिक्षणले जिल्लामा नयाँ जोस र जाँगरका साथ गाउँ तहसम्म पुगेर सङ्गठन विस्तारमा जुट्न प्रेरणा मिलेको छ,’ उनले भने ।

मनाङका सभापति शङ्कर गुरुङले प्रशिक्षणबाट केही नयाँ कुरा सिक्नाका साथै जिल्लामा पार्टी सङ्गठन विस्तारमा केही परिवर्तन गर्न पे्ररित गरेको धारणा राखे ।

प्रशिक्षणबाट पार्टी सञ्चालन गर्दा अपनाउनुपर्ने नयाँ कुरा सिक्नाका साथै स्थानीय जनतासँग गर्ने व्यवहार, सङ्गठन विस्तारलगायत विषयमा महत्वपूर्ण ज्ञान प्राप्त भएको उनको भनाइ छ ।

पार्टीका रौतहट उपसभापति धीरेन्द्रकुमार सिंहले राजनीतिका बारेमा नयाँ कुरामा अद्यावधिक मात्र नभई पार्टीलाई बलियो बनाउन पोखरा भेला फलदायी बनेको अनुुभव सुनाए । पार्टीको नीति र सङ्गठन ठीक भएमा पार्टी बलियो हुने भन्दै उहाँले यस्ता प्रशिक्षण समय समयमा भइरहनुपर्ने सुुझाए ।

पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा नयाँ ऊर्जा थप्ने गरी फर्कन सहभागी नेताहरूलाई आग्रह गरेका थिए ।

जिल्ला–जिल्लाबाट सहभागी नेताहरूको आवास तथा भोजनका लागि पार्टीकै नेता तथा कार्यकर्ताको घरमा राख्ने गरी कास्की काङ्ग्रेसले गरेको व्यवस्थापनको प्रशंसा गर्दै उनले यो कार्य अन्य जिल्लाका लागि पनि अनुकरणीय बन्न सक्ने धारणा राखे ।

कास्की काङ्ग्रेसले पोखरा आएका ७७ वटै जिल्लाका पार्टी सभापति र उपसभापति (दुुई/दुुईजना)लाई आवास एवं भोजनको व्यवस्थापनका जिल्ला समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई आतिथ्यता एवं व्यवस्थापनको जिम्मा लगाएको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved