अबदेखि सुर्तीजन्य पदार्थको प्याकेटका सबै भागमा चेतावनीमूलक सामग्री छाप्नुपर्ने (निर्देशिकासहित)

नेपालभ्युज

अबदेखि सुर्तीजन्य पदार्थको प्याकेटका सबै भागमा चेतावनीमूलक सामग्री छाप्नुपर्ने (निर्देशिकासहित)

काठमाडौं । चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ ।

यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्ननुपर्ने व्यवस्था गरिएको छ ।

चुरोटका लागि निर्देशिकामा विभिन्न पाँच वटा खतराका चित्र र सन्देशहरू राखिएको छ । यस्तै बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूमपानले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक सन्देश, सहायक दायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धूमपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन, धूमपान गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्ने छ ।

त्यस्तै सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धूमपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साईडले मुटु र फोक्सोको रोग लाग्छ धूमपान गर्न छोडौं’ भन्ने चेतनामूलक सन्देश र तल्लो दश प्रतिशत भागमा उत्पादकको नाम र ठेगाना छाप्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

‘उत्पादक लगायत कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तिजन्य पदार्थको प्रवर्द्धन हुने गरी कुनै सन्देश, सामग्री, रङ्ग, चित्र आदि राखेर प्याकेजिङ वा लेबल गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ ।

यो निर्देशिका पारित भएको मितिले १८० दिनपछि लागू हुने निर्देशिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved