११ वर्षको कठिन मेहनतले नेपाललाई पहिलो ओलम्पिक पदक जिताउने गुरु–चेली
११ वर्षसम्म ट्रेनिङ गरेर एउटा ओलम्पिक हारेर, फेरि उठ्ने साहस गरेँ । त्यही भएर हार नमान्नुस् । हारे पनि जिते पनि बिहान फेरि उठेर ट्रेनिङ नै गर्ने हो । निरन्तरता दिए मात्र लक्ष्य पूरा गर्न सकिन्छ ।
काठमाडौं । सन् २०२४ मा भएको पेरिस पारालिम्पिक्समा नेपालले पहिलो पदक जित्न सफल भयो । पारा तेक्वान्दोमा महिलातर्फ के-४४क्याटेगोरीअन्तर्गत ५७ केजीमुनि पलेशा गोवर्धनले कास्यपदक जितेर इतिहास रचिन् ।
फाइनलमा सर्बियाकी मारिया मिसेभलाई१५–८ ले पराजित गरेर पलेशाले ओलम्पिकमा पदक जितेकी थिइन ।
सन् २०२४ मा एसिया छनोटमा स्वर्ण जितेर पेरिस प्यारालिम्पिक्समापलेशाले स्थान सुनिश्चित गरेकी थिइन् । तर, पलेशा यो यात्रामा एक्लै थिइनन् । उनलाई हरेक पाइलामा साथ दिए, पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ।
सन् २०१६ देखिको पलेशा र प्रशिक्षक लामाको गुरुचेलीको सफल जोडीले नै नेपाललाई पहिलो ओलम्पिक पदक ल्याउन सफल भयो ।
ऐतिहासिक पदक भित्र्याउन गरेको सङ्घर्ष, त्याग र मेहनतबारे पलेशा र प्रशिक्षक लामाले नेपालभ्युजको कार्यक्रम भ्युजटकमा अनुभव साटेका छन् ।
कास्यपदक जितेपश्चात नेपाल आउँदा विमानस्थलमा गरिएको भव्य स्वागत अहिले पनि उनीहरूका लागि सपनाजस्तै लाग्छ ।
“सुरुमा विमानस्थलबाट नै एउटा महोत्सव जस्तो अनुभूति भएको थियो । हामीलाई लिन बधाई दिन निकै ठूलो भीड थियो । त्यसपछि प्रधानमन्त्री राष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तित्वसँग भेट्ने कार्यक्रम, सम्मान कार्यक्रम निरन्तर अघि बढे,” पलेशाले भनिन् ।
प्रशिक्षक लामाले थपे, “अहिले सम्झिँदा सपना हो की विपना हो जस्तो लाग्छ । रमाइलो लाग्छ । गर्व लाग्ने क्षण हो । समस्त नेपालीहरूमा खुशी ल्याएको थियो । रमाइलो भएको थियो ।”
सुरुवातमा कल्याणकुमार गुरुसँग प्रशिक्षण हासिल गरेकी पलेशाको पहिलो अन्तर्राष्ट्रिय खेलमा भने कविराज नेगी लामा प्रशिक्षकको रुपमा जोडिए ।
त्यो भेट सम्झिँदै पलेशा भन्छिन्, “पहिलो चोटी नयाँ प्रशिक्षक भएकोले गुरुसँग घुलमिल भई सकेको थिइन् । तर, एक महिनासँगै समय बिताएपछि गुरुको सबै बानी विस्तारै थाहा भयो । त्यो सम्बन्ध बलियो हुँदै गयो ।”
प्रशिक्षक लामालाई भेट्दा पलेशा १२ वर्षकी थिइन् । तेक्वान्दो सङ्घमा उनलाई भेट्दा आफ्नो छोरी जस्तै लागेको प्रशिक्षक लामा सुनाउँछन् । भेटपछिको एक महिना तालिमपछि दक्षिण कोरियामा भएको तेस्रो पारा तेक्वान्दो प्रतियोगितामा १३ वर्षकी पलेशाले राष्ट्रिय पारा तेक्वान्दो खेलाडीको रुपमा डेब्यु गरिन् ।
डेब्यु खेल सम्झिँदै पलेशा सुनाउँछिन्, “त्यो एक महिना लामो तालिमपछिको खेल थियो । मेरो लागि चुनौतीपूर्ण नै थियो । मेरो त उमेर पनि सानो थियो । अनुभवी तथा बढी उमेर भएका खेलाडीसँग खेल्नुपर्ने थियो । तर, म्याटमा जाने बित्तिकै डर चाँहि लागेन । गुरुले जस्तो भएपनि हान्देऊ पलेशा भन्नुभएको थियो । सोहीअनुरुप प्रदर्शन गरेँ ।”
न्यसबेला उनलाई अनुभवको कमी खड्कियो । “त्यस्तो नराम्रोसँग हारेको पनि होइन । चुनौती थियो । धेरै किकको बारेमा पनि थाहा थिएन । त्यो बेला स्लाप किकमात्र थाहा थियो । जति आउँछ त्यति हानेर आएँ । गुरु र अन्य प्रशिक्षकले प्रदर्शन हेरेर भने राम्रो खेलाडी हो अझै राम्रो खेल्नु हौसला प्रदान गरेका थिए,” पलेशाले हाँस्दै सुनाइन् ।
त्यस प्रदर्शनपछि टोकियो ओलम्पिक्समा पदक जित्ने पलेशा नै हुन्छिन् भन्ने सबैले आशा गरिरहेका थिए ।
पलेशाबारे प्रशिक्षक लामा भन्छन्, “अनुशासित, मेहनती, जोशिलो, किक हान्दा पनि पावर प्रयोग गर्ने, एक्टिभ, दिमाग बढी लगाउने, सिक्न र सिकाउन इच्छुक, आफैँले आफैँमा विश्वास गर्ने, अरुको लागि उदाहरण बन्नुपर्छ भन्ने पहिलेदेखि नै मलाई लागिरहेको थियो । ग्रासरुट देखिनै सिकाउन पाएँ । आफूलाई नै भाग्यमानी ठान्छु ।”
प्रशिक्षक लामालाई अभिभावक र साथीको रुपमा लिने गरेको पलेशा बताउँछिन् ।
“प्रशिक्षक भन्ने बित्तिकै एउटा त्रास अनुभूति हुने गर्छ । त्यो आवश्यक पनि हुन्छ । तर, निकै बुझ्ने हुनुहुन्छ । म त्यो समय स्कूल पनि जानुपर्थ्यो । ट्रेनिङ पनि गर्नुपर्थ्यो । तर, गुरुले मेरो लागि बिहान ६ बजे तालिम राखिदिनुहुन्थ्यो । कति टाढादेखि आउनुहुन्थ्यो । हामी मात्र हुन्थ्यौँ । तालिम सकाएर अनि स्कूल जाने गर्थेँ,” लिमबारे पलेशाले बताइन् ।
१० वर्षको उमेरमा अतिरिक्त क्रियाकलापको रुपमा तेक्वान्दोमा जोडिएकी पलेशाले पाराओलम्पिक्ससम्मको यात्रा भने अविश्वसनीय रहेको बताइन् ।
“कहिले पनि यात्रा यहाँसम्म हुने सोचेको थिइन् । किनकि बच्चैदेखि कुट्ने पिट्ने खालको बच्चा भएकोले धेरै दु:ख गर्नुपर्दैन भनेर यस खेललाई रोजेको थिएँ । केटाहरूसँग झगडा गर्न रुची भएकोले पनि तेक्वान्दो लिएँ । तर, विद्यालयदेखि यहाँसम्म पुग्छु भन्ने कहिले सोचेको थिइनँ,” उनी भन्छिन् ।
पारालिम्पिक्सअघि नेपाली टोलीले २ महिना स्वदेशमै र १ महिना म्यानचेस्टरमा गएर टोलीले तालिम गरेको थियो । पारालिम्पिक्सका लागि प्रशिक्षण पनि निकै चुनौतीपूर्ण रहेको प्रशिक्षक लामाले बताए ।
“ठूला म्याचको लागि ठूलो तयारी र ठूलो सेवा सुविधा दिनुपर्यो । वर्ल्ड तेक्वान्दोमा २१२ वटा राष्ट्रमध्ये प्रतिस्पर्धा गर्ने मौका एउटा क्याटेगोरीमा केवल ११ राष्ट्रले पाएको थियो । जसमा पलेशा क्वालिफाइ हुन सफल भएकी थिइन् । त्यो आफैँमा एउटा उपलब्धि थियो । त्यसपछि सोहीअनुरुपको तालिम दिन पनि आवश्यक थियो,” प्रशिक्षक लामाले बताए ।
पलेशाले म्यान्चेस्टरको तालिमले निकै सहयोग पुगेको पनि बताइन् । उनी भन्छिन्, “खेल युरोपियन खेलाडीसँगै खेल्नुपर्ने भएकोले तालिमले निकै मद्दत पुग्यो । हरेक दिन युरोपियन पारा तथा ननपारा खेलाडीसँग रिङ्ग म्याच हुन्थ्यो । यसले पनि आत्मविश्वास थप बढाएको थियो । यहाँ हराउन सकिन्छ भने वास्तविक खेलमा पनि हराउन सकिन्छ भन्ने महसुस भएको थियो ।”
पेरिस पारालिम्पिक्समा म्याच हुने स्थानमा पुग्दाको अनुभवबारे पलेशाले भनिन्, “खेलको अघिल्लो दिन जब एरेना हेर्न गयौँ । दामी लागेको थियो । सबैभन्दा राम्रो सुन्दर कोर्ट नै पेरिसमा थियो । लाइटिङ, साउन्ड, सबै राम्रो । अब भोलि यही म्याटमा खेल्नुपर्छ भन्ने भावना थियो । हेर्दा पनि जिउ सिरिङ्ग भएको थियो ।”
खेलाडी ठूला प्रतियोगितामा भाग लिँदा आत्तिएर शतप्रतिशत दिननसक्ने अवस्था पनि हुने गर्छ । यस्तै, समयमा खेलाडीलाई हौसला प्रदान गर्न प्रशिक्षक तथा अन्य अफिसियलको आवश्यकता पर्ने गर्छ ।
यद्यपि, पेरिस पारालिम्पिक्सको बेला भने आफू पलेशालाई लिएर ढुक्क भएको प्रशिक्षक लामा बताउँछन् ।
“टोकियो पारालिम्पिक्समा भाग लिइसकेको, जी वान, जी २० आदि खेल सबै खेलिसकेको उसलाई फ्री भएर खेल्न दिनुपर्छ भन्ने थाहा थियो । तालिममा जस्तै दिमागलाई खुला रुपमा प्रयोग गर्न दिनुपर्छ भन्ने थियो । जित हार आफ्नो ठाउँमा छ, तर शान्त भएर अर्को खेलाडीलाई बुझेर खेल्न दिनुपर्छ भन्ने थियो, उनले भने ।”
पेरिस पारालिम्पिक्सको पहिलो म्याचबारे पलेशा भन्छिन्, “सबैभन्दा महत्वपूर्ण खेल नै पहिलो म्याच थियो । किनभने त्यो म्याचले नै कास्यपदकको लागि खेल्ने कि नखेल्ने भनेर निर्णय गर्थ्यो । जसरी पनि जित्नु नै पर्ने थियो । त्यही भएर पनि म पूरै बिस्ट मोडमा पुगिसकेको थिएँ ।”
“अनि खेलाडी हेरेर कसले कति हान्नसक्छ भनेर आकलन गर्न सकिन्छ । सुरुमै मैले भेनेजुयलाको खेलाडीबाट कसरी प्वाइन्ट लिन सकिन्छ भनेर थाहा पाइसकेको थिएँ । अनि किकलाई प्राथमिकतामा राखेँ अनि २ मिनेटमा खेल सकियो पनि,” आफ्नो जितबारे पलेशाले मुस्कुराउँदै बताइन् ।
सर्बियाविरुद्धको खेलमा भने निकै दबाब महसुस गरेकी थिइन्, पलेशाले । “सर्बियासँग पहिले टोकियोमा पनि खेलको थिएँ । तैपनि मान्छे उही भएपनि सबै खेल फरक हुन्छ । अन्तिम खेल थियो, खेलअगाडि कल रुममा नै सँगै हुँदा अलिक टेन्सन भने थियो । तर, मष्तिष्कलाई भने शान्त नै राखेको थिएँ । विस्तारै खेलेको थिएँ, त्यो खेल । अलिकति गल्ती भएको भए सबै सकिन्थ्यो, ” कास्यपदक ल्याउन जित्नैपर्ने खेलबारे पलेशा भन्छिन् ।
खेललाई आफ्नो पक्षमा पार्न गरेको लगातार आक्रमणबारे उनले थपिन, “सुरुवातमा अन्तिम ३० सेकेन्डसम्म पनि हारिरहेको थिएँ । टोकियोको नै दिमागमा फ्लासब्याक आइरहेको थियो । त्यो परिणामलाई उल्टाउनपर्छ भन्ने थियो । एकैछिन सोचेँ । एउटा किक हाने प्वाइन्ट आयो अनि हानेको हान्यै गरेँ । अन्तिम २ सेकन्डमा उसले छोडदियो अनि जितेँ ।”
कास्यपदक जितिसकेपछि पारा तेक्वान्दोलगायत अन्य पारा खेललाई धेरैले चिन्न र बुझ्न थालेको पलेशाको भनाइ छ ।
प्रशिक्षक लामाले पलेशाको सफलता अन्य खेलाडीका लागि प्रेरणा भएको बताए । उनले भने, “पहिला खेलाडी ल्याउन, बुझाउन नै कति गाह्रो हुन्थ्यो । त्यहीमाथि खेलाडीको पनि जोखिमबारे बुझाउन पर्ने, तर पलेशाको उपलब्धिले धेरैजना आफैँ बुझेर आकर्षित भएका छन् । धेरै परिवर्तन आएको छ ।”
पलेशाको गुरु भनेर चिनिन पाउँदाको खुशीबारे प्रशिक्षक लामा भन्छन्, “पहिला पत्रकारलाई पलेशा गोवर्धन मेरो चेली भनेर चिनाउन पर्थ्यो । अहिले म पलेशाको गुरु भनेर चिनिन पाएको छु । त्यही खुशी लाग्छ । पहिले पारा भनेको गुमनाम नै थियो । तर, पारालिम्पिक्सपछि पारा खेलकुद भन्ने बित्तिकै पलेशा गोवर्धन भन्ने बुझिन्छ ।”
पारा एथलिटको अवस्थामा पनि क्रमिक सुधार आइरहेको पलेशाको भनाइ छ ।
“पहिले लगानी नै हुँदैनथ्यो । अहिले जितेर आएपछि सम्मान गर्न थालेका छन्, ” उनी भन्छिन्, “यसले पारा एथलिटलाई प्रेरणा दिएको छ । यसमा पनि केही गर्न सकिन्छ है भन्ने अनुभूति भएको छ । परिवर्तन हुँदैछ । छिटो नभए पनि विस्तारै हुँदैछ ।”
यद्यपि, पारा खेलाडीका छुट्टै समस्या छन् । “पारा खेलाडीको पहिलो लडाइँ आफूसँगै नै छ । सामाजिक दृष्टिकोणको कुरा आउँछ । अरुले आफ्नो क्षमतामाथि नै प्रश्न उठाएपछि आत्मविश्वास घटाएर हामीले गर्न सक्दैनौँ भनेर बस्छन् । प्रयास नै गर्दैनन् । आफूसँगको चुनौती पार गरेपछि आफ्नो बलियो पक्ष खोज्नुपर्छ ।”
कतिलाई त पारामा कुन-कुन खेल छ भनेर नै थाहा छैन । ओलम्पिक्समा जति खेल छ पाराओलम्पिक्समा पनि त्यही छ । तर, सबै खेलको सिकाउने त सङ्घ र प्रशिक्षक पनि छैनन् । त्यो आफैँमा एउटा चुनौती भएको पलेशा बताउँछिन् ।
पारा खेलाडीको अवस्थाबारे प्रशिक्षक लामा भन्छन्, “इच्छा भए त विकल्प हुन्छ । इच्छा नभए बाहना हुन्छ । इच्छा होला पदक ल्याउने । त्यहाँसम्म पुग्न सम्भव नहोला, तर कोसिस त गर्न सकिन्छ । अब हाम्रो परिवेशमा पार तेक्वान्दोको कुरा गर्ने भए प्रशिक्षणको लागि व्यवस्था त छ । तर, अन्य पारा खेलको त भौतिक पूर्वाधार पनि छैन । प्रशिक्षक पनि छैनन् । कति पारा खेलाडीले खेल्छु भन्दा पनि खेल्ने अवस्था छैन ।”
सरकारसँग प्रशिक्षक लामाका केही व्यक्तिगत गुनासा पनि छन्, “विमानस्थलबाट रङ्गशालामा पुगेपछि मन्त्रीज्युहरूले, विभिन्न पदाधिकारीले तृतीय अधिकृत स्तरको प्रशिक्षका रुपमा नियुक्ति गर्ने पनि बताए । राखेपले पनि निर्णय गरेर सिफारिस गरेको हो । तर, ४ महिना भयो । त्यसको प्रक्रियाबारे अत्तोपत्तो छैन ।”
तैपनि केही पाउनको निम्तिभन्दा पनि राष्ट्रको निम्ति नै योगदान पुर्याउन आफू लागिरहने उनी बताउँछन् ।
खेलाडीलाई नेपालमा चुनौती त छ नै तर पारा खेलाडीले थप चुनौतीको सामना गर्नुपर्ने प्रशिक्षक लामाले बताए ।
“प्राय: राष्ट्रिय खेलाडी विभागीय टोलीमा आबद्ध हुन्छन् । जीवन सुनिश्चित गर्ने बाटो हुन्छ,” लामा भन्छन्, “तर, पारा खेलकुद अझै पनि अन्योलमा छ । पारामा बिहान खाए बेलुकी के खाने भन्ने किसिमको खेलाडी पनि छन् । त्यसमाथि काठमाडौं बसेर खर्च धान्न थप चुनौतीपूर्ण हुन्छ । यसकारण सक्दो मेहनत गर्दा पनि बीचमै छाड्ने खेलाडी धेरै छन् ।”
आगामी पारालिम्पिक्समा स्वर्ण पदक जित्नको लागि सरकारी निकायबाट नै पहल हुन आवश्यक रहेको प्रशिक्षक लामाले बताए ।
“लस एन्जलसमा हुने पारालिम्पिक्समा स्वर्ण ल्याउनको लागि त्यहीअनुरुपको तयारीको आवश्यकता छ । विश्वका धेरै देशका खेलाडीको बन्द प्रशिक्षण सुरु भइसक्यो । वरीयताअनुरुप क्वालिफाइ हुनका लागि अन्य खेलाडी र देश दौड्न थालिसके, पलेशाले कास्य ल्याएपछि सबैले स्वर्णको आशा गरिरहेका छन्, तैयारीमा लाग्नुपर्ने बेला भइसक्यो,” उनले थपे ।
पलेशाले आगामी पुस्ताका खेलाडीलाई सन्देश दिँदैन भनिन्, “पारा खेलाडीले छोटो समयमा नै नतिजा खोज्दा नपाउन सकिन्छ । ११ वर्षसम्म ट्रेनिङ गरेर एउटा ओलम्पिक हारेर, फेरि उठ्ने साहस गरेँ । त्यही भएर हार नमान्नुस् । हारे पनि जिते पनि बिहान फेरि उठेर ट्रेनिङ नै गर्ने हो । निरन्तरता दिए मात्र लक्ष्य पूरा गर्न सकिन्छ ।”
Facebook Comment
Comment