‘इतिहास जित्नेले लेख्छ ।’ वा, ‘इतिहास जित्नेको लेखिन्छ ।’
क्लिसेजस्तो सुनिन्छ, यो वाक्य । विशेषगरी इतिहासको लेखनीमा छुटेका र छुट्याइएका पात्रमाथि मन्थन चल्दा नबिराई प्रयोग हुने यो भनाइको उपादेयताबारे इतिहासका व्याख्याताबीच बहस जारी छ । इतिहासकार रोमिला थापरदेखि प्रोफेसर गायत्री चक्रवर्ती स्पिभाक हुँदै अभि सुवेदी र तारालाल श्रेष्ठलगायत यो विमर्शमा निरन्तर छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिलेकाहीँ योभन्दा पनि फरक ढङ्गले इतिहासलाई प्रस्तुत गरेर चर्चामा आइरहन्छन् । ओलीको बोली प्राय:जसो चर्चामा नै रहन्छ, र बेलाबखत विवादमा पनि परिरहन्छ । उनको त्यस्तै बोलीमध्येको एउटा हो, ‘नेपालको पहिलो शहीद को ?’ भन्ने सन्दर्भमा दिएको अभिव्यक्ति ।
ओलीले केही वर्षयता नेपालको प्रथम शहीदका विषयमा फरक दाबी गरिरहेका छन् । सुदूरपश्चिमको पहाडी क्षेत्रमा प्रचलित किम्वदन्तीमा बाँचिरहेका बाँकावीर नेपालका प्रथम शहीद भएको ओलीको दाबी छ ।
ओलीले पहिलोपटक २०७८ सालको चैत्रमा पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रममा नेपालको प्रथम शहीद गोरखाका लखन थापा नभएर अछामका बाँकावीर (बलदेव शाही) भएको दाबी गरेका थिए । त्यसले नेपालको प्रथम शहीद को भन्नेमा एक प्रकारको बहस नै सृजना गरेको थियो । त्यसयता पटकपटक बोल्दै आएका उनले यो दाबीलाई बुधबार शहीद दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पनि दोहोर्याएका छन् ।
सिंहदरबारमा आयोजित कार्यक्रममा उनले राणा शासनको विरोध गर्दा बाँकावीरलाई टाउकाको मूल्य तोकेर षड्यन्त्रपूर्ण ढङ्गले मारिएको प्रसङ्ग कोट्याउँदै त्यसपछि मात्रै गोरखाका लखन थापा र चार शहीद भएको बताए ।
यस्तो छ, प्रधानमन्त्री ओलीले राखेको धारणा:
जहानिया राणा शासन विसं १९०३ मा सुरु भएको थियो । २००६ मा अछामका बाँकावीरले राणा शासनविरुद्ध आवाज उठाएका थिए । यसपछि राणाहरूले बाँकावीरको हत्या गरेर आफ्नो क्रुरताको सुरुवात गरेका थिए । उहाँको टाउको ल्याउनेलाई इनाम दिने भनेर इस्तियार जारी गरिएको थियो । केही तत्त्वले बाँकावीरलाई छलपूर्ण र धोकापूर्ण ढङ्गले गिरफ्तार गरेर राणालाई बुझाएका थिए । त्यसपछि उहाँको क्रूर तरिकाले हत्या गरिएको थियो । त्यहाँबाट सुरु भएको बलिदानको सिलसिला १९३३ मा लखन थापाको हत्या भयो । त्यसपछि अनेक प्रकारका शान्तिपूर्ण विरोध भए । लेखकदेखि कविसम्म राणाविरोधी आन्दोलनमा सहभागी भए । सन् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको हत्या गरियो ।
२०७८ सालमा अनेरास्ववियुको कार्यक्रममा त ओलीले प्रथम शहीदको विषयमा कन्फ्यूजन रहेको भन्दै बाँकीवीर नै पहिलो शहीद भएको दाबी गरेका थिए । ओलीको दाबी थियो, ‘बैतडी, बझाङ कतातिर हो, बाँकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै सङ्गठित गरेका थिए । उनलाई राणा शासनले गिरफ्तारपछि हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन्,’ ओलीले भनेका थिए, ‘पहिलो शहीदको सम्बन्धमा कन्फ्यूजन पनि छ । चर्चा नभएर पनि हो । बाँकावीर नेपालको राजनीतिक जागरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् ।’
जबकि, नेपालमा अहिलेसम्म आधिकारिक रूपमा घोषित प्रथम शहीद गोरखाका लखन थापा हुन् । थापालाई सरकारले २ असोज ०७२ मा प्रथम शहीद घोषणा गरेको थियो । त्यसअगाडि नै ११ फागुन ०५६ मा सरकारले थापालाई शहीद घोषणा गरिसकेको थियो ।
ओलीको अभिव्यक्तिमाथि केही इतिहासकारको चर्को आपत्ति छ । धेरैले विभिन्न पत्रपत्रिकामा लेख लेखेरै विमति जनाएका छन् । पक्ष र विपक्षमा बहस जारी छ । तर, ओलीले निरन्तर यही भनाइ दोहोर्याउँदै आइरहेका छन् । सम्भवत: उनको ताजा अभिव्यक्तिपछि यसमाथि थप धारणा सार्वजनिक हुनसक्छन् ।
को हुन् बाँकावीर ?
अहिलेको अछाम जिल्ला गोर्खाली राज्यले विजय गर्नुअघि स्वतन्त्र राज्य थियो । अमरसिंह थापा नेतृत्वको फौजले विसं १८४६ र १८४७ को बीचमा डोटी राज्यमाथि आक्रमण गरेपछि डोटीसहित हालको सुदूरपश्चिमका सबै राजा–रजौटा गोर्खा राज्यको अधीनस्थ हुन पुगे ।
विसं १९०३ मा जङ्गबहादुर राणा (कुँवर) ले कोतपर्वबाट शासनसत्ता आफ्नो हातमा लिने बेलासम्म तत्कालीन नेपाल (काठमाडौं) बाहिर प्रशस्तै राजा–रजौटा थिए । जसले राजासँग मिलेर राणाविरुद्ध जनता उठाएर विद्रोह गर्न सक्थे । यही खतरा महसुस गरेर जङ्गबहादुरले देशभर सैनिक खटाएका थिए । जङ्गबहादुर आफ्ना बुबासँगै विसं १८९० देखि १८९२ सम्म सेनाको सुवेदारका रूपमा डडेल्धुरा र १८९२ देखि १८९४ सम्म हुम्लामा कार्यरत थिए । सोही क्रममा उनले सुदूरपश्चिमका राजा–रजौटालाई राम्रोसँग बुझेका थिए ।
इतिहासकारका अनुसार राज्य विस्तारको क्रममा विजय हासिल गरेपछि गोर्खाली सैनिकले गरेको अत्याचारको विरोधमा डोटीका राजा दीप शाही र कुमाउका हर्षदेव जोशीको संयुक्त सेनाले अङ्ग्रेजसँग मिलेर गोर्खालीविरुद्ध लडेका थिए । नेपाल–अङ्ग्रेज युद्ध (सन् १८१४–१६) र पश्चिम क्षेत्रमा भएका युद्धमा शाही र जोशीले अङ्ग्रेजलाई सघाएका थिए । त्यसैले आफ्नो शासनकालमा जङ्गबहादुरले सुदूरपश्चिमलाई संवेदनशील क्षेत्रका रूपमा लिएका थिए ।
राजकुमार बहादुर शाहको समयमा पनि गढवालको ‘पनियाँखेत’ मा एउटा युद्ध भयो । सोही युद्धमा गोर्खाली सेनाले हार बेहोरेपछि अछामका राजाले गोर्खाली सैनिकका दुई कम्पनी सैनिक मारेका थिए । यस घटनापछि अछामदेखि पश्चिमका क्षेत्रमा नेपाल सरकारको सम्बन्धबिच्छेदजस्तै हुन पुग्यो ।
विसं १८४७ मा अछामका तत्कालीन राजा देवचन्द्र शाहलाई हराएर गोर्खाली फौजले जित हात पार्यो । तर, पछि डोटी, कुमाउ, गढवाल र जुम्लाका राजासँग मिलेर देवचन्द्रले १८४९ मा गोर्खाली फौजमाथि हमला गरेर केही दिन जित हात पारे पनि लामो समय टिक्न सकेन ।
त्यसैले सुदूरपश्चिमका राजा–रजौटाले आफूविरुद्ध कुनै प्रकारको विप्लव नगरून् भनेर उनीहरूमाथि निगरानी राख्न जङ्गबहादुरले अछामको चाल्सा, जुपु, नवाठाना कोटघरका ठानाबाहेक बान्नीगढीमा विशेष पल्टन राख्ने व्यवस्था गरे ।
जङ्गबहादुरका सैनिक बान्नीगढी पुगेसँगै उनीहरूको अत्याचार सुरु भयो । इतिहास अध्येताहरूले किताब तथा लेखहरूमा जङ्गबहादुरका सैनिकले गरेको अत्याचारका अनगिन्ती विवरण दिएका छन् ।
मोतीलाल बोहोरा, आत्माराम ओझा र सुरतबहादुर शाह तीनै जनाले उल्लेख गरेका विवरणमा अधिकांश कुरा समान छन् । जङ्गबहादुरका सैनिकले आफ्ना लागि खाद्यान्न जोहो गर्न अछामका गाउँमा लुटपाट सुरु गरेको, अन्नपात दिन नमान्ने गाउँलेलाई कुट्न थालेको, हट्टाकट्टा मान्छेलाई घोडा बनाउन थालेको र महिला, युवतीको बलात्कार गर्न थालेको विवरण समेत उनीहरूले पुस्तकमा उल्लेख गरेका छन् ।
जङ्गबहादुरले तत्कालीन नेपाल (काठमाडौं) का राजालाई कमजोर बनाएर शासन हत्याएको तथ्य अछामी राजालाई जानकारी थियो । त्यसैले जङ्गबहादुरका सैनिकको अत्याचारको मुकाबिला गर्ने आँट कसैले गरेका थिएनन् । अत्याचार बढ्दै गएपछि मैत्री सम्बन्ध स्थापना गर्ने उद्देश्यसहित तत्कालीन अछामी राजा रणभीमले आफ्ना भाइ बलदेव शाहीलाई जङ्गबहादुरका सैनिक बसेको स्थान बान्नीगढी पठाए ।
बलदेवले जङ्गबहादुरका सैनिकसँग लुटपाट बन्द गर्न आग्रह गर्दै उनीहरूलाई आवश्यक खाद्यान्नको जिम्मा आफूले लिने बताए । तर, जङ्गबहादुरका सैनिकले बलदेवको खिल्ली उडाए, ‘यस्ता पाजीले श्री ३ का सैनिक पाल्ने !’
सैनिकको बोली र व्यवहारबाट अपमानित महसुस गरेका बलदेवले जङ्गबहादुरका सैनिकसँग बदला लिने अठोट गरे ।
सुरुमा त बलदेवले सैनिकको अत्याचार रोक्न जङ्गबहादुरलाई पत्र पठाए । उक्त पत्रको जवाफबारे इतिहासकारहरूले कतै उल्लेख गरेको भेटिँदैन । उता बलदेवको आग्रहका बावजुद पनि जङ्गबहादुरका सैनिकको अत्याचार रोकिएन ।
गोर्खाली सैनिकको ज्यादती कम हुने छाँट नदेखेका बलदेव लड्न तयार भए । त्यसपछि उनी गुरिल्ला युद्ध चलाउने मनस्थितिमा पुगे । जङ्गबहादुरका सैनिकविरुद्ध लड्न बलदेवले गुप्त रूपमा सैन्य सङ्गठन बनाउन थाले ।
आफूविरुद्ध सैन्य सङ्गठन नै बनाएर विप्लव गर्न लागेको खबर आफ्ना सैनिकमार्फत जङ्गबहादुरले प्राप्त गरे । जङ्गबहादुरविरुद्ध विद्रोह गर्नु राजद्रोह गर्नु मानिन्थ्यो । राजद्रोहको अपराध गरेको भन्दै बाँकावीरलाई अपराधीको सूचीमा राखियो । त्यसपछि जङ्गबहादुरले विसं १९०५ वैशाखमा बलदेव शाही ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्ने आदेश दिए । उनीसँगै बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहलाई समेत काट्ने जङ्गबहादुरले आदेश दिएका थिए ।
काट्ने आदेशसँगै अछामको बान्नीगढीमा बसेका जङ्गबहादुरका सैनिक सादा पोसाकमा बलदेवको सुराकी गर्न गाउँ डुल्न थाले । सुराकी गर्न हिँडेका सैनिकलाई उल्टै बलदेव र उनका सहयोगीले पक्राउ गर्न थाले । जङ्गबहादुरका सैनिकमाथि नै धावा बोल्ने योजना बनाएपछि बदलेवको समूहमा अछाम, बझाङ, दैलेख, डोटी र कैलालीसम्मका युवा सामेल हुन थाले । इतिहासकार सुरतबहादुर शाहका अनुसार उक्त विद्रोह दबाउन जङ्गबहादुरले जुम्ला र दैलेखबाट समेत सैनिक पठाएका थिए ।
जङ्गबहादुरका सैनिकले बलदेवलाई कमजोर बनाउन गाँस बास दिनेलाई झुण्ड्याएर मारिने उर्दी जारी गरे । आफूलाई गाँस बास दिने व्यक्तिलाई राणा सैनिकले मार्ने भएपछि बलदेव भूमिगत भए । दिनभर जङ्गल र ओढारमा लुकेर राति गाउँ डुल्न थाले ।
जङ्गलमा लुकेको समयमा ‘बाँको’ जस्तो विषालु वनस्पति खाएर पनि जीवितै रहन सकेकोमा बलदेव शाहीलाई बाँको खाने वीर अर्थात् ‘बाँकावीर’ भन्न थालिएको किम्वदन्ती सुदूरपश्चिममा सुनिन्छ । अछामका गाउँमा अहिले पनि हिम्मतदार, अरू कसैले सहजै गर्न नसक्ने काम सहजै गर्नेलाई बाँकावीर भन्ने चलन छ ।
सहजै पक्राउ गर्न नसकेपछि जङ्गबहादुरले बाँकावीरलाई मार्ने जिम्मा अछामकै स्वाँरलाई दिए । आफ्नो पल्टनमा रहेका अछामका भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरलाई राणाविरोधी भएको र पल्टनबाट बर्खास्त गरेको नक्कली कथासहित बलदेव (बाँकावीर) लाई मार्न अछाम पठाए । राज्य विस्तारमा सघाएका कारण स्वाँरबन्धुलाई गोर्खालीले आफ्नो सैनिकमा भर्ती गराएका थिए ।
राणाले निकाला गरेको कारण देखाउँदै आफू पनि राणाविरुद्धको विद्रोहमा सामेल हुने भन्दै भवानीसिंह र कालुसिंह स्वाँर अछाम पुगेर बाँकावीरको टोलीमा सामेल भए । अछामबाट राणा सैनिक हटाइने भन्दै उनीहरूले बाँकावीरलाई विश्वासमा लिए । शक्तिशाली राणाका सैनिक स्वाँरबन्धु नै आफ्नो समर्थक बनेपछि बाँकावीर पनि हौसिए । र, राणाविरुद्धको सङ्घर्ष तीव्र बनाउने तयारीमा लागे । अनि हौसिएका बाँकावीरले बान्नीगढीको सैनिक क्याम्प आक्रमण गर्ने योजना बनाए ।
विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए । रेकीबाट फर्किंदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्नीगढी गाउँपालिका) धारामा नुहाउन थाले । नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालुसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए ।
यो इतिहासका लेखकहरू राणाविरुद्ध यो पहिलो विद्रोह भएको र यही विद्रोहबाट नै नेपालमा छापामार शैलीको युद्ध सुरुआत भएको मान्छन् ।
(यो सामग्रीमा भएका विवरणहरू इतिहासकार बाबुराम आचार्यको पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’, आत्माराम ओझाको पुस्तक ‘नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको सङ्कलन’, पुरुषोत्तमशमशेर जबराको पुस्तक ‘श्री ३ हरूको तथ्य वृतान्त (भाग–एक)’, मोतीलाल बोहोराको आलेख ‘नेपालका प्रथम अमर शहीद ‘बाँकावीर’ बदलेव’, विश्वनाथ भट्टराईको पुस्तक ‘प्राचीन डोटी राज्यको राजनैतिक तथा सांस्कृतिक इतिहास’ र सुरतबहादुर शाहको पुस्तक ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’ बाट साभार गरिएका हुन् ।)
Facebook Comment
Comment