काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि आक्रमण गर्ने व्यक्ति बङ्गलादेशी नागरिक हुनसक्ने मुम्बई प्रहरीले जनाएको छ ।
आरोपितलाई आइतबार बिहान स्थानीय समयानुसार ३ः३० बजे पक्राउ गरिएको हो ।
त्यसको केही घण्टापछि जोन–९ का प्रहरी नायब आयुक्त दीक्षित गेडामले पत्रकार सम्मेलनमा आक्रमणकारी करिब ३० वर्षका रहेको बताए । पक्राउ पर्नेको नाम मोहम्मद सरिफुल इस्लाम शहजाद रहेको गेडामले जानकारी दिए ।
आरोपित शहजादसँग भारतीय कागजात छैन । उनी चोरी गर्ने उद्देश्यले घरभित्र पसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीकाअनुसार आक्रमणकारी केही दिन मुम्बईबाट भागेका थिए । उनी पछि पुनः मुम्बई फर्किएपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।
यी आरोपितलाई ठाणेको हिरामन्डी श्रम शिविरबाट पक्राउ गरिएको हो । प्रहरीले यसअघि आरोपित पश्चिम बङ्गालका बासिन्दा भएको जनाएको थियो ।
अभिनेता शेफमाथि बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार भएको थियो । शेफमाथि गएको बुधबार राति (बिहीबार बिहान) करिब २ः३० बजे आक्रमण भएको थियो ।
“अभियुक्त बङ्गलादेशी मूलका भएको आशङ्का गरिएको छ । यो मुद्दामा राहदानी ऐनसँग सम्बन्धित उपयुक्त धाराहरू आकर्षित भएका छन् । घटनाको समयमा अभियुक्त चोरी गर्ने मनसायले घरभित्र पसेका थिए,” दीक्षित गेडामले भने ।
आरोपितलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्ने र मुद्दाको अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।
गेडाम भन्छन्, “अभियुक्त पक्राउ परेपछि थप अनुसन्धान भइरहेको छ । यसअघि उनले आफूलाई विजय दास भनेर चिनाएका थिए ।”
उनी पाँच/छ महिनाअघि मुम्बई आएको बुझिएको छ । उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको खुलेको छ ।
आक्रमणमा शेफको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो । उनको शरीरमा ६ चोट लागेको थियो । मेरुदण्डबाट साढे दुई इन्च लामो छुरा निकालिएको थियो । सैफ मुम्बईस्थित लीलावती अस्पतालमा उपचाररत छन् ।
सैफमाथि आक्रमणपछि बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो । आक्रमणकारीलाई समात्न मुम्बई प्रहरीले २० टोली गठन गरेको थियो ।
आरोपित शेफको घरमा कसरी पुगे ?
प्रहरीकाअनुसार आरोपितले शेफको घरमा प्रवेश गर्न भवनका ती सिँढी प्रयोग गरेका थिए, जुन आगलागीको समयमा बच्न र बचाउन प्रयोग गरिन्छ ।
प्रहरीले अनुसन्धानका क्रममा भवनको सीसीटीभी फुटेज हेरेको थियो । आक्रमणपछि सोसल मिडियामा एउटा फुटेज ‘भाइरल’ भएको थियो, त्यो शेफको भवनको भएको बताइएको थियो ।
उक्त फुटेजमा एक पुरुषले खैरो कलरको टिसर्ट लगाएका देखिएको थियो । भिडिओमा ती व्यक्ति स्कार्फ लगाएको र सिँढीबाट तल आर्लिरहेको देखिन्छ ।
समाचार एजेन्सी पीटीआईकाअनुसार स्टाफ नर्स इलियामा फिलिप्सले प्रहरीलाई दिएको उजुरीमा आक्रमणकारीले एक करोड भारु मागेको बताएकी छन् ।
उजुरीमा उल्लेख भएअनुसार ती व्यक्ति सुरुमा शेफ र करिनाका कान्छा छोरा जेहको कोठामा पसेका थिए ।
ती नर्सले प्रहरीलाई बताएअनुसार राति २ बजे उनले जेहको कोठाबाट कुनै आवाज सुनेको र बाथरुमको बत्ती पनि बलेको देखेकी थिइन् ।
ती नर्सले भनेकी छन्, “म बाथरुममा को छ भनेर हेर्न उठेँ, त्यसपछि मैले एक दुब्लो मानिसलाई जेहको ओछ्यानतिर हिँडिरहेको देखेँ । त्यो व्यक्तिको देब्रे हातमा लट्ठी र दाहिने हातमा धारिलो ब्लेड थियो ।”
उनले आफूलाई ब्लेडले नाडीमा प्रहार गरेको बताएकी छन् । उनले भनेकी छन्, “मैले उनलाई के चाहनुहुन्छ भनेर सोधेँ । उनले एक करोड रुपैयाँ भने ।”
त्यसपछि शेफ र करिना पनि त्यहाँ पुगेका थिए । अनि ती व्यक्तिले शेफमाथि आक्रमण गरे । शेफमाथि आक्रमण गरेपछि घरका बाँकी कर्मचारी पनि दौडिएर आइपुगेका थिए ।
बयानकाअनुसार ती व्यक्तिले शेफसँग झगडा गर्न थाले । तर, केही समयपछि मुख्य ढोका खुला थियो र आक्रमणकारी भागेका थिए ।
चिकित्सक र शेफको टोलीकाअनुसार उनको अवस्था अहिले निकै राम्रो छ । चिकित्सकले उनलाई खतरामुक्त घोषणा गरिसकेका छन् ।
सम्बन्धित सामग्री –
सेफअलीलाई छुरा प्रहार गर्ने व्यक्ति पक्राउ
५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म
Facebook Comment
Comment