काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेश स्वागत योग्य रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य भएको बताएका हुन् ।
उनीहरूले सो अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिले कोभिड–१९ पछि सङ्कुचित अर्थतन्त्रलाई उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले तिनको कार्यान्वयनमा यथाशक्य उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे ।
उनीहरूले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन योगदान मिल्ने बताए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएको थियो ।
जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन् ।
भने, भूमि व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने क्रममा रहेको बताइएको छ ।
Facebook Comment
Comment