ट्रम्पको दोस्रो कार्यकालको टिममा भारतीय ‘साइनो’

नेपालभ्युज

ट्रम्पको दोस्रो कार्यकालको टिममा भारतीय ‘साइनो’

काठमाडौं । अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल आगामी हप्तादेखि सुरु हुनेछ ।

ट्रम्पको यो कार्यकालमा ह्वाइट हाउसमा ‘भारतीय मूल’का वा ‘भारतीय साइनो’ भएका सहकर्मीहरुको एक घेरा बन्ने देखिएको छ ।

ट्रम्पका उपराष्ट्रपति जेडी भान्सकी पत्नी उषावाला चिलुकुरी भारतीय मूलकी हुन् । ३९ वर्षिया चिलुकुरी तेलेगुभाषी भारतीय आप्रवासी मातापिताकी  सन्तान हुन् । उनका मातापिता सन् १९८० मा मद्रासबाट अमेरिका बसाइँ सरेका थिए । चिलुकुरी सन् १९८६ मा अमेरिकामै जन्मिएकी थिइन् ।

अमेरिकामा उपराष्ट्रपतिको दम्पत्तिलाई ‘सेकेन्ड लेडी’ वा ‘सेकेन्ड जेन्टलम्यान’ भन्ने गरिन्छ । कमला ह्यारिसका पति डफ इमहोफ पहिलो ‘सेकेन्ड जेन्टलम्यान’ हुन् । चिलुकुरी अमेरिकी इतिहासमा पहिलो भारतीय मूलकी ‘सेकेन्ड लेडी’ बन्न पुगेकी छन् ।

यद्यपि ‘सेकेन्ड लेडी’ औपचारिक सरकारी पद हुने छैन । तर, ह्वाइट हाउसको आन्तरिक शक्ति संरचनामा चुलकुरीको कुनै न कुनै प्रकारको भूमिका हुन सक्ने छ ।

ट्रम्पको दोस्रो कार्यकाल समूहमा अर्को महत्वपूर्ण भारतीय मूलका अधिकारी विवेक रामास्वामी हुन् । रामास्वामी केरलाबाट बसाइँ सरेका तमिल भाषी भारतीय मातापिताका सन्तान हुन् । रामास्वामीले ट्रम्पसँग राष्ट्रपति उम्मेदवारका लागि रिपब्लिकन पार्टीको प्राइमरीसमेत लडेका थिए । तर, केही राज्यको नजितापछि ट्रम्पलाई समर्थन गरेका थिए ।

विश्वका प्रथम धनाढ्य इलोन मस्क र रामास्वामीले संयुक्त रुपमा जिम्मेवारी सम्हाल्ने गरी ट्रम्पले एक भिन्नै परामर्श परिषद्‌को घोषणा गरेका छन् । सरकारी खर्च कटौती र कार्यसम्पादन क्षमता तथा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तावित यस परिषद्‌लाई ‘डिमार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ नाम दिइएको छ । रामास्वामीले राष्ट्रपति ट्रम्पको नजिकको सम्बन्धमा रहेर काम गर्ने छन् ।

ट्रम्पले पूर्व डेमोक्र्याटिक सांसद् तुलसी गब्बार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशक बनाउने घोषणा गरेका छन् । ४३ वर्षिया गब्बार्ड निर्वाचन अभियानका क्रममा डेमोक्रेटिक पार्टी परित्याग गरी रिपब्लिकन पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ट्रम्पलाई चुनावी अभियानमा खुलेर सहयोग गरेकी थिइन् ।

गब्बार्ड भारतीय मूलकी हैनन्, हिन्दुकृत परिवारकी हुन् । तसर्थ भारतसँग उनको भावनात्मक सम्बन्ध भने रहेको छ । उनले हिन्दु नाम ‘तुलसी’ बोकेकी छन् । हिन्दू धर्मको नियमित अभ्यास गर्छिन् । गीताको नियमित पाठ गर्छिन् । उनका मातापिता समायोली आप्रवासी थिए ।

ट्रम्पले जय भट्टाचार्यलाई राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानको निर्देशक पदका लागि घोषणा गरेका छन् । सन् १९६८ मा कोलकातामा जन्मिएका भट्टाचार्य बङ्गाली भाषी हुन् । उनी विद्यार्थी हुँदा अध्ययनका लागि स्टानफोर्ड विश्वविद्यालय गएका थिए । उनले अमेरिकाको अङ्गीकृत नागरिकता लिएका छन् । औषधि विज्ञानमा मास्टर्स गरेका भट्टाचार्यले ‘स्वास्थ्य सेवा अर्थशास्त्र’मा पीएचडी गरेका छन् ।

ट्रम्पले कास पटेललाई फेडेरल ब्यूरो अफ इन्भेस्टीकेसन (एफबीआई ) को निर्देशकका लागि घोषणा गरेका छन् । उनको पूरा नाम कश्याप प्रमोदविनोद पटेल हो । उनी गुजराती भाषी आप्रवासी मातापिताका सन्तान हुन् । उनी सन् १९८० का न्यूओर्कमा जन्मिएका थिए । उनी ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर विभागका निर्देशकको सल्लाहकार थिए ।

अमेरिकामा ५५ लाखभन्दा बढी भारतीय मूलका नागरिक रहेको अनुमान छ । अमेरिकामा भारतीय मूलका नागरिक उच्च आयवर्गमा पर्दछन् । ७० प्रतिशतभन्दा बढी भारतीय मूलका अमेरिकीको पेशा र आयस्तर रैथाने अमेरिकीको औसत आयभन्दा धेरै छ । अमेरिकामा हुने २५ प्रतिशत व्यावसायिक स्टार्टअप भारतीय मूलका नागरिकले गर्छन् ।

केही महत्वपूर्ण अमेरिकी कम्पनीका सीईओसमेत भारतीय मूलका छन् । जस्तो माइक्रोसफ्टमा सत्य नडेला, गुगलका सुन्दर पिचाई, अल्टो नेटवर्कका निकेश अरोरा, एडोबीका शन्तनु नारायण, आईबीएकमा अरबिन्द कृष्णा, नोभार्टिसका वसन्त नरसिंहन, भर्टेक्सका रेशम केवलमणी भारतीय मूलका हुन् ।

जनसङ्ख्या र आर्थिक हैसियतसँगै भारतीय मूलका अमेरिकी नागरिकको राजनीतिक तथा प्रशासनिक पहुँच पनि बढ्दै गएको छ । दोस्रो ट्रम्प प्रशासनमा भारतीय मूलका नागरिकले ह्वाइट हाउसमा उल्लेखनीय प्रभाव पार्ने सम्भावना देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved