काठमाडौं । शुक्रबार रातिदेखि बदली भएको मौसम आज (आइतबार)देखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आज बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले शनिबार राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जानकारी दिए । उनले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गरे । यस्तै लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको थियो । यसैगरी हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको बताइएको छ ।
महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाइएको छ । ‘हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ,’ महाशाखाले उल्लेख गरेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेश र कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तर मौसम सुधारोन्मुख रहेको जनाइएको छ ।
Facebook Comment
Comment