चर्चित आरजे सिमरनले किन गरिन् आत्महत्या ?

नेपालभ्युज

चर्चित आरजे सिमरनले किन गरिन् आत्महत्या ?

काठमाडौं । भारतकी चर्चित इनफ्लुएन्सर तथा रेडियो प्रस्तोता (आरजे) सिमरन सिंहले गुरुग्रामस्थित आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

२६ वर्षीया सिमरन बुधबार राति कोठामा पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सिमरन मूल रूपमा जम्मू जिल्लाको दिग्याना इलाकाकी बासिन्दा थिइन् । दुई वर्षदेखि गुरुग्रामको सेक्टर ४७ मा भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् ।

प्रहरीकाअनुसार बुधबार राति १० बजे सेक्टर ४७ का केही व्यक्तिले कन्ट्रोल रुममा एक युवती झुण्डिएर आत्महत्या गरेको खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा पुगेर शवलाई कोठाबाट निकालेर अनुसन्धान गरिरहेको छ ।

परिवारकाअनुसार सिमरन केही समयदेखि समस्यामा परेकी थिइन्, तर यस विषयमा परिवारले न कसैलाई आरोप लगाएको छ न त कसैविरुद्ध उजुरी नै गरेको छ । प्रहरीले सिमरनको फ्ल्याटबाट कुनै सुसाइड नोट फेला पारेको छैन ।

घटनाबारे सिमरनको साथीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी घटनास्थल पुग्दा फ्ल्याटको ढोका भित्रबाट ताला लगाइएको थियो । सिमरनको शव बिहीबार बिहान पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

सिमरनले रेडियोको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्, तर पछि सामाजिक सञ्जालतिर लागिन् । उनको इन्स्टाग्राम अकाउन्टमा धेरै भिडिओ छन्, जसलाई उनका फ्यानले निकै मन पराएका थिए । प्रहरीले यस विषयमा परिवार र साथीभाइसँग सोधपुछ गरिरहेको छ ।

आरजे सिमरन सिंह इन्स्टाग्राममा निकै सक्रिय थिइन् । जहाँ उनका ७ लाख फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम बायोमा ‘जम्मु की धडकन’ लेखेकी थिइन् । उनले १३ डिसेम्बरमा एउटा भिडियो पोस्ट गरेकी थिइन्, जसमा उनी समुद्र तटमा नाचिरहेको देखिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved