काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको समस्या मिलाउन समिति गठन

नेपालभ्युज

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको समस्या मिलाउन समिति गठन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको ९८औं सभाको मङ्गलबारको बैठकले धुलिखेल अस्पतालसँग आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न सहजीकरण समिति गठन गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत: प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको हो ।

समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा. मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा.डा. राजीव श्रेष्ठ छन् ।

विसं. २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७औं सभामा कुलपतिका एवं प्रधानमन्त्री ओलीले आपसी संवादबाट समाधान खोज्न गरेको प्रस्ताव पारित भएको थियो ।

आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी विश्वविद्यालयले एकपक्षीयरुपमा निर्णयहरु गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved