रविविरुद्ध तीनवटा अभियोगसहित अदालतमा मुद्दा दर्ता

नेपालभ्युज

रविविरुद्ध तीनवटा अभियोगसहित अदालतमा मुद्दा दर्ता
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध आइतबार अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपालभ्युजलाई जानकारी दिए ।

सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत पाँच जनाविरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रालिमा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।

पूरक जाहेरी लिएपछि पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ ।

यसअघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा लामिछाने लगायतलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गरिएको हो ।

लामिछाने ग कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।  त्यसबीचमा उनीसँग कास्कीका अलवा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएकाे थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved