आलेख

सफलताको दिग्भ्रम

राजनीतिमा को कतिपटक प्रधानमन्त्री वा मन्त्री बन्यो, त्यो महत्त्वपूर्ण हुँदैन । कसले मान्छेको जीवनलाई बदल्न योगदान गर्यो त्यो महत्त्वपूर्ण हुन्छ । अन्यथा, व्यक्ति पटक-पटक प्रधानमन्त्री वा मन्त्री बन्ला र हामी उसको चाकरी गरेर सफलताको गीत गाउँला, तर त्यसले के हुन्छ ?

सफलताको दिग्भ्रम

यो केही दिन अगाडिको कुरा हो । टेलिभिजन अन्तर्वार्ताको क्रममा एकजना एमालेका परिचित नेताजीसँग भेट भयो । देश, समाज र सामाजिक सञ्जालको पछिल्लो प्रवृत्तिमाथि कुराकानी चल्दै थियो, अकस्मात् उनले सरकारको सफलता र सय दिनका चमत्कारिक कामबारे कुरा गर्न थाले । त्यसपछि हामीबीचको संवाद खस्रो-मसिनो हुँदै गयो । तर्किँदातर्किँदै हुन पुगेको त्यो कफी संवादको सार यस्तो थियो ।

नेता– भन्नुहोस् त, तपाईंको विचारमा प्रधानमन्त्री ओली सफल कि असफल ?

म– असफल ।

नेता– किन असफल, कारण भन्नुहोस् ?

म– उहाँले उही परम्परागत शासकीय चालढाल, शैली र संस्कृतिलाई निरन्तरता दिइरहनुभएको छ, जो हिजोदेखि आलोचित थिए । उहाँमा कुनै नवीनता छैन । उहाँको सचिवालय हेरौँ, के नयाँ छ ? योजनाहरू हेरौँ, के नयाँ छन् ? उहाँका निर्णय हेरौँ, के नयाँ छन् ? उहाँसँग न त सपना छ, न त रणनीतिक सोच । एउटा प्रधानमन्त्री जसको प्राथमिकता नै सत्ता जोगाउने हुन्छ, त्यो कसरी सफल हुन्छ ?

नेता– तपाईं वास्तवमै नकारात्मक हुनुभयो मित्र । यत्रो बलियो र बहुमत प्राप्त सरकार छ, कांग्रेस र कम्युनिष्ट मिलेका छन् । यस्तो प्रधानमन्त्रीलाई तपाईं कसरी असफल भन्न सक्नुहुन्छ ?

म– के अङ्कगणित नै सफलताको सूचक हो ? कांग्रेस र एमाले मिल्दैमा सरकार सफल हुन्छ ? सरकारले जब नागरिकलाई सुशासन दिन्छ, तब त्यो सफल हुन्छ । सरकारले जब अर्थतन्त्रलाई सबल र चलायमान बनाउँछ, तब त्यो सफल हुन्छ । न पूर्वाधार, न सामाजिक सुरक्षा । न त रोजगारी सृजना, न त मान्छेको अनुहारमा आशाको उज्यालो । सर्वत्र निराशा छ र त्यो चिर्न सरकारसँग कुनै योजना छैन ।

नेता– धेरै पछि सरकारले स्थायित्व पाएको छ, के यो प्रधानमन्त्रीको सफलता हैन ?

म– स्थायित्व त राणा शासनमा योभन्दा अब्बल थियो हैन र ? हामीले शासकहरूको कुर्सीको स्थायित्व खोजेको हैन कमरेड, खोजेको हो विकास र समृद्धिको स्थायित्व । लोकतन्त्रको स्थायित्व । विधिको स्थायित्व ।

नेता– तपाईंहरू भएका असल कामलाई पनि देख्नुहुन्न ?

म– के असल काम भए, केही उदाहरण त दिनुहोस् ?

नेता– अनेक काम भएका छन् । जस्तो: हरेक दिन प्रधानमन्त्रीले गरेका उद्घाटन हेर्नुहोस् । धरहरा हेर्नुहोस् । दमकको टावर हेर्नुहोस् । भैरहवा एयरपोर्टमा प्लेन उडिरहेका छन्, त्यो हेर्नुहोस् । भ्रष्टाचारको विरोधमा भएको प्रगति हेर्नुहोस् । उदाहरण नै चाहिन्छ भने रविमाथि भएका अनुसन्धान हेर्नुहोस् । सत्य निरूपण र बेपत्ता छानबिनमा भएको सफलता हेर्नुहोस् ।

म– प्रधानमन्त्री जो भए पनि यस्ता नियमित काम चलि नै रहन्छन् । यो कुनै सफलता होइन ।

नेता– यो वर्ष धान सधैँभन्दा राम्रो फलेको छ, त्यो हेर्नुहोस् । तीन-तीन महिनामा सरकार परिवर्तन भएको सन्दर्भमा यो सरकार पूरा कार्यकाल काम गर्ने अवस्थामा छ, यो प्रधानमन्त्रीको सफलता हैन ?

म– धारामा पानी आयो, घान समयमै काटियो, तोरी छरियो र भैंसी ब्यायो भनेर प्रधानमन्त्रीको सफलता पुष्टि हुन्छ ? प्रधानमन्त्री त देशको सर्वोच्च कार्यकारी हो, उसले गर्ने काम र परिणामलाई हामीले त्यही तहमा हेर्नु पर्दैन ?

नेता– तपाईंहरू सधैँ नकारात्मक मात्र देख्नुहुन्छ ?

म– तपाईंलाई थाहा छ, वनमा झरेको बिउ पनि वसन्तमा उम्रन्छ र हुर्कन्छ । तर, त्यसरी बगैँचा बन्दैन । सफल नेताले समाज, राज्य र राष्ट्रलाई आकार दिन्छ, गति दिन्छ र अगाडि बढाउँछ । नागरिकमा आशा जगाउँछ । निष्ठा र नैतिकताले राज्य, राजनीति र सत्ताको सान बढाउँछ । सफल प्रधानमन्त्री क्रियाकलापमा रमाउँदैन, रणनीतिमा काम गर्छ । सफलताको कुरा छोड्नुहोस्, प्रधानमन्त्रीले यतातिर सोचेका पनि छैनन् ।

नेता– तपाईं फगत विरोधका लागि विरोध गर्दै हुनुहुन्छ ।

म– आलोचनालाई नकारात्मक रङ्ग दिएर प्रश्नहरूलाई इन्कार नगरौँ नेताज्यू ।

***

त्यो दिन मलाई लाग्यो, नेपाली राजनीतिले सफलता र असफलता छुट्याउने क्षमता पनि गुमाउँदै गएको छ । त्यसपछि मैले थपेँ, ‘नेताज्यू, राजनीतिको सफलता के हो र असफलता के हो भन्ने विषयमै जब हामी दुविधामा छौँ त यो विषयमा थप चर्चा गर्नुको के अर्थ ?’

हामी बीचमा भएको बाँकी बहस यहाँ उल्लेख गरेर म पाठकलाई ‘बोर’ गर्न चाहन्नँ । बरु म यो लेखमार्फत सफलता र असफलताका भाष्यहरूमा केही विमर्श गर्न चाहन्छु ।

आउनुहोस्, यो लेखमा तपाईंहरूलाई स्वागत छ ।

तीन दृष्टिकोण 

राजनीतिमा सफलता र असफलता हेर्ने मोटामोटी तीनवटा दृष्टिकोण छन् । पहिलो, सत्तामुखी दृष्टिकोण, दोश्रो, परिवर्तनमुखी दृष्टिकोण र तेश्रो, निरन्तर गतिशीलताको दृष्टिकोण ।

पहिलो दृष्टिकोणले सत्ता, शक्ति र सम्पत्तिलाई राजनीतिको मुख्य सफलता मान्दछ । जसले चुनाव जित्यो, त्यही सफल । जसले मन्त्री पड्कायो, उही सफल । यो यस्तो भाष्य हो, जसले राजनीति गर्नेहरू सत्तामा पुग्नु, मन्त्री बन्नु, महल बनाउनु र शक्तिको बेहिसाब अभ्यास गर्नुलाई सफलता ठान्दछ ।

दोश्रो, दृष्टिकोणले राजनीतिलाई सत्ताभन्दा माथिबाट हेर्छ । र, राजनीतिलाई परिवर्तनको साधन मान्दछ । यो दृष्टिकोणका लागि राजनीति जीवन र जगत् बुझ्ने र बदल्ने अभियान हो । जसले भन्छ– ‘राजकीय सत्तामा को कतिपटक पुग्यो, त्यो महत्त्वपूर्ण हुँदैन । महत्त्वपूर्ण त त्यो हुन्छ, उसले समाजमा परिवर्तन, न्याय र सत्यको स्थापनाका लागि गरेको योगदान ।

तेश्रो, दृष्टिकोणचाहिँ राजनीतिमा प्राप्त हुने सफलता वा असफलतालाई निरन्तरतामा हेर्ने दृष्टिकोण हो । यसले भन्छ, आज देखिने सफलता मात्र आजका कारण सृजना भएको होइन, त्यो विगतका अनेक प्रयत्नहरूले आर्जन गरेको पछिल्लो परिणाम हो ।

यो सिद्धान्तले असफलतालाई पनि त्यसरी नै निरन्तरतामा हेर्छ, जस्तो आज हामी जे सङ्कट भोगिरहेका छौँ, त्यो हिजोदेखि जरा गाडेर बसेका अनेक सङ्कटहरूको निरन्तरता हो । त्यसैले यो एक झट्कामा समाधान हुँदैन ।

यो दृष्टिकोणलाई केन्द्रमा राखेर हेर्दा स्पष्ट हुन्छ, (अ)सफलता सामूहिकता र निरन्तरताको योगफल हो । अतः कोही सफल हुन चाहन्छ भने पनि त्यो निरन्तरको सामूहिक प्रयत्नबाट मात्र सम्भव छ । एकजना पालनहार आउँदैमा समस्या समाधान हुँदैनन् ।

पहिलो दृष्टिकोण मूलतः मध्यमवर्गीय लालसाबाट सिर्जित छ । जसले राजनीतिलाई फगत जुवाको खाल ठान्दछ । दाउ हान, जित । सत्ता भोग गर । जो दौडेर सिंहासनमा पहिले पुग्यो, उही सफल । अर्थात्, कोही कसरी दौडियो, त्यो महत्त्वपूर्ण होइन, दौडिएर के हासिल भयो, त्यो महत्त्वपूर्ण हो । यो यस्तो धारणा हो, जसले राजनीति भित्र निहीत परिवर्तनको लक्ष्यलाई अस्वीकार गर्छ ।

यसविपरीत परिवर्तनमुखी सोचले राजनीतिलाई सत्ता मात्र ठान्दैन । बरु ठान्दछ, बदलावको साधना । मानव सभ्यताको उन्नयन । निष्ठा, नैतिकता र आत्मगौरवको निर्माण । सामाजिक न्याय र जगतको कल्याण । राजनीतिको विशाल संसारमा सरकार र सत्ता त फगत सानो अंश मात्र हो । अतः अंशलाई नै सम्पूर्ण ठान्नु आफैँमा विरोधाभास हो ।

यो दृष्टिकोणले भन्छ– ‘राजनीतिमा सत्ताको एकथान कुर्सीभन्दा ठूलो हुन्छ परिवर्तनको साधना । राजनीतिको मुख्य काम हो, समाजलाई अगाडि बढाउनु, नागरिकलाई अधिकार र स्वतन्त्रताले सम्मानित गर्नु । थिति बसाउनु । न्याय स्थापित गर्नु । सभ्यतालाई उज्यालो देखाउनु । र, सत्यलाई स्थापित गर्नु ।’

यसको अर्थ के भने कुनै पनि नेता सफल छ कि असफल भन्ने कुरा तीन चिजले निर्धारण गर्छ । पहिलो, जसले सत्ताभन्दा माथिबाट राजनीतिलाई हेर्छ र यसलाई बृहत्तर परिवर्तनको साधन ठानेर काम गर्छ, ऊ सफल हो । दोश्रो, जसले निरन्तर असफलताका दुश्चक्र तोड्ने प्रयत्न गर्छ, ऊ सफल । तेश्रो, जो सामूहिकतामा विश्वास गर्छ र समाजलाई सत्य, न्याय र परिवर्तनका लागि एकाकार गर्छ, ऊ सफल हो ।

केही सन्दर्भहरू 

माथिका अवधारणालाई केही राजनीतिक सन्दर्भसँग जोडौँ । जस्तो: महात्मा गान्धी र कार्ल मार्क्स । कार्ल मार्क्स र गान्धी जो कहिल्यै प्रधानमन्त्री भएनन्, कहिल्यै सत्तामा पुगेनन् तर, राजनीतिमा अमर भए । कसरी यस्तो भयो ?

विचार गरौँ त, के गान्धी र मार्क्स असफल थिए ? थिएनन् । उनीहरू शताब्दीकै सबैभन्दा सफल महानायक थिए । अवश्य नै, उनीहरू सत्तामा पुगेनन्, तर राजनीति, सत्ता र समाजलई आकार दिन महत्त्वपूर्ण योगदान गरे । त्यसैले उनीहरू सफल भए ।

यसै सन्दर्भमा अर्को उदाहरण हुनसक्छ पुष्पलालको । जस्तो उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव भए । तर, उनले न त कम्युनिष्ट पार्टीलाई एकीकृत राख्न सके, न त कहिल्यै मन्त्री भए । के उनी क्षमताहीन र असफल थिए ? थिएनन् । उनले रानीतिमा जे गरे, त्यो नेपालको सन्दर्भमा सर्वाधिक महत्त्वपूर्ण थियो । त्यसैले उनी सफल थिए ।

बीपी त बीपी भै हाले, उनी पछाडीकै क्रांग्रेस नेताहरूलाई हेरौँ । जस्तो: कृष्णप्रसाद भट्टराईलाई के भन्ने, जसले मर्ने बेलामा स्वयम् आफैँले बनाएको पार्टी परित्याग गरे । जो पटक-पटक चुनाव हारे । उनको घर थिएन, परिवार थिएन । उनी आश्रममा बस्थे । त्यसैगरी अर्को नाम छ, गणेशमान सिंहको । उनलाई के भन्ने, जो न त प्रधानमन्त्री भए, न त पार्टी प्रमुख ।

प्रश्न आउँछ, कृष्णप्रसाद र गणेशमान सफल कि असफल ? उनीहरू सफल । किनभने उनीहरूले नेपाली समाज र सभ्यतालाई लोकतन्त्रका गहन मान्यताहरूले आलोकिक गरे ।

यहीँनेर विचार गरौँ, एमाले अध्यक्ष मनमोहन अधिकारी सफल कि वर्तमान अध्यक्ष केपी शर्मा ओली सफल ? मनमोहन अधिकारीले फगत नौ महिना अल्पमत सरकारको नेतृत्व गरे । र, ओली पटक-पटक शक्तिशाली सरकारको नेतृत्व गरिरहेका छन् । तर, इतिहासले मनमोहनलाई सफल प्रधानमन्त्रीको जुन सम्मान दिएको छ, सायद ओली महोदयका लागी हजारपटक प्रधानमन्त्री भए पनि त्यो प्राप्त हुने छैन ।

विरोधाभास

तर, हामीकहाँ सफलता र असफलतालाई हेर्ने निकै ठूलो विरोधाभास छ । जस्तो: विचार गरौँ त, यदि कोही नेता देशमा पाँचपटक प्रधानमन्त्री भएर पनि, समस्या डेग चल्दैनन् भने ऊ सफल हो कि असफल ? ऊ सफल हैन भनौँ, पटक पटक चुनाव जितेर प्रधामन्त्री भएको छ । पटक पटक पार्टीको प्रमुख चुनिएको छ । सफल हो भनौँ भने देशको सङ्कट उस्तै छ । गरिबी उस्तै छ । बेरोजगारी उस्तै छ । अविकास उस्तै छ । र, हामी नागरिक निराशाको डिलमा उभिएर विगत आधा शताब्दीदेखि सुस्केरा हालिरहेका छौँ ।

विचार गरौँ त, विगतमा जो-जो पटक-पटक प्रधानमन्त्री भए उनीहरू सफल हुन् भने देश किन असफल भइरहेको छ ? उनीहरू असफल हुन् भने पटक-पटक प्रधानमन्त्री कसरी भइरहेका छन् ? आजको हाम्रो राजनीतिको खास उल्झन यही हो । हामी सफलता र असफलताको यस्तो विरोधाभासमा छौँ, जसको सही उत्तर नआई हाम्रो राजनीति र राजकाज अगाडि बढ्नै सक्दैन ।

भाष्य फेरौँ

मलाई लाग्छ, हाम्रा नेताहरूको सफलता र असफलताको कथा बुझ्न टाइपराईटर एक गतिलो उदाहरण हुन सक्छ । जस्तो: कुनै जमानामा टाइपराईटर आफैँमा एक भव्य र सफल मेसिन थियो । जसले लेखनमा आमूल परिवर्तन ल्यायो । कलम र मसी थन्किए । कार्यालयमा टाइपराईटर सङ्गितझैँ खट्खट् गुन्जन थाल्यो । तर, आज के टाइपराईटरले काम चल्छ ?

यसको अर्थ के भने अब टाइपराईटरले आफ्नो सत्ता (स्थान) कम्प्युटरलाई छोड्नुपर्छ । अन्यथा टाइपराईटरले आफ्नो सफलताको पुरानो कथा मात्र सुनाएर के हुन्छ ? किनभने सफलता स्वयम् समयको गीत हो । तपाईं समयको गीत कहाँ र कहिले सुन्नुहुन्छ ? त्यसको मिठास त्यसैमा निहित हुन्छ ।

यो सन्दर्भ यसकारण महत्त्वपूर्ण छ कि सफलता सधैँ प्राप्त हुँदैन । हरेक नेताको खास प्रयोजन हुन्छ । जसले प्रयोजन बुझेर राजनीतिमा योगदान गर्छ, ऊ सफल । जसले आफ्नो प्रयोजनलाई सर्वकालिक ठान्छ र सत्तामा बसिरहने धृष्टता गर्छ, ऊ असफल ।

आज हाम्रा नेताहरू प्रयोजनविहीन भई सक्दा पनि जसरी सत्ता नै राजनीतिको सफलता हो भनेर ढिपी कसिरहेका छन्, त्यसकारण उनीहरू असफल छन् । अब उनीहरूको नेतृत्वबाट नेपाली राजनीति, सत्ता र सरकार कसैगरी सफल हुन सक्दैन, आजको सत्य यही हो ।

यसरी हेर्दा, राजनीतिमा को कतिपटक प्रधानमन्त्री वा मन्त्री बन्यो, त्यो महत्त्वपूर्ण हुँदैन । कसले मान्छेको जीवनलाई बदल्न योगदान गर्‍यो, त्यो महत्त्वपूर्ण हुन्छ । अन्यथा, व्यक्ति पटक-पटक प्रधानमन्त्री वा मन्त्री बन्ला र हामी उसको चाकरी गरेर सफलताको गीत गाउँला तर, त्यसले के हुन्छ ? त्यसले हाम्रो सपनामाथि मडारिएको चक्रवात हट्ने छैन । यसरी न त राजनीति सफल हुन्छ, न त नेता ।

अँध्यारो बालेर उज्यालो आउँदैन । अतः दिग्भ्रम फालौँ र सफलताको खोजी गरौँ ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved