रविमाथि अनुसन्धान कि प्रतिशोध ? विपक्षीदेखि सत्तारुढ नेताहरूले नै गर्न थाले आलोचना
रवि सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम ल्याइएको थियो । जसका आधारमा पैसा ल्याइएको सहकारी रहेको विभिन्न जिल्लामा अनुसन्धानका लागि लगिएको छ । तर, विपक्षी नेताहरूले यसलाई प्रतिशोधको रूपमा व्याख्या गर्दै सरकारमाथि प्रहार गरिरहेका छन् ।
नेपालभ्युज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले हिरासतमा राखेर गरेको व्यवहारप्रति विपक्षी मात्र होइन, सत्तारुढ दलकै नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् ।
सरकारी पक्षले अनुसन्धानलाई प्रभावित पार्ने गरी गतिविधि नगर्न आग्रह गरिरहँदा अनुसन्धानका नाममा सरकारले हिरासतको बसाई लम्ब्याएको भन्दै आलोचना बढेको हो ।
रवि सहकारीको रकम दुरुपयोग र ठगीको आरोपमा पक्राउ परेका हुन् । उनी सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम ल्याइएको थियो ।
जसका आधारमा पैसा ल्याइएको सहकारी रहेको विभिन्न जिल्लामा अनुसन्धानका लागि लगिएको छ । तर, अनुसन्धानको नाममा हिरासतको बसाइ लम्ब्याइएको भन्दै यो विषयलाई राजनीतिकरण गर्ने प्रयास भइरहेको छ । विपक्षी नेताहरूले यसलाई प्रतिशोधको रूपमा व्याख्या गर्दै सरकारमाथि प्रहार गरिरहेका छन् ।
रविलाई पोखरा, भैरहवा, काठमाडौँ, चितवन र वीरगन्ज पुर्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैक्रममा उनलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले गरेको व्यवहार तथा अनुसन्धानका नाममा सरकारले हिरासतको बसाई लम्ब्याएको भन्दै दलका नेताहरूले आपत्ति जनाउन थालेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा नयाँ शक्तिका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राप्रपाका नेता ज्ञानेन्द्र शाहीले रविको पक्षमा बोलेका छन् ।
उनीहरु मात्र होइन सत्तारुढ दलकै नेता समेत रविको पक्षमा खुल्न थालेका छन् । कांगेस वरिष्ठ नेता शेखर कोइराला, कांग्रेस सांसद सुनिल शर्मा समेत रविलाई अन्याय भएको भन्दै सार्वजनिक रुपमा खुलेका छन् ।
प्रहरीले रविलाई मंसिर १९ गते राति चितवनमा अनुसन्धान सकेर पोखरा लगेको थियो । त्यसक्रममा प्रहरीको राति लगेको भन्दै व्यवहार अशोभनीय रहेको भन्दै रास्वपाले आपत्ति जनाउँदै विरोध गरिरहेको छ । त्यही भनाइलाई विपक्षी दलहरू तथा सत्तारुढ दलकै केही नेताहरूले साथ दिएका हुन् ।
प्रचण्ड भन्छन्- सरकार तर्सियो
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार चितवनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रविबाट सरकार र सत्तारुढ दलहरू तर्सिएको टिप्पणी गरे ।
‘देशको चौथो दलको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरूलाई भनेको छु, किन हिरासतमा राख्नुपर्यो ? छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि !’, पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्यो ?’
उनले सरकारले ज्यादतीविरुद्ध संसदको विशेष अधिवेशन बोलाएर त्यहाँबाट पनि विरोध जनाउन सकिने बताए ।
यसअघि सोमबार प्रचण्डले सामाजिक सञ्जालमा रविमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए ।
बाबुरामको ऐक्यबद्धता
यसअघि नेसपा नयाँ शक्तिका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त गत शुक्रबार रविलाई भेट्न पोखरा गएका थिए ।
रविसँगको भेटपछि भट्टराईले लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । ‘रवि लामिछानेलाई विभिन्न ढङ्गले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक र अन्यायपूर्ण भो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो’, भट्टराईले भनेका थिए ।
ज्ञानेन्द्र शाही र अन्य नेताको समर्थन
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले पनि पोखरा प्रहरी हिरासतमै गएर रविलाई भेटेका थिए । भट्टराईपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाही शनिबार रविलाई भेट्न गएका थिए ।
राज्यका तर्फबाट चितवन प्रहरीले रविलाई अमानवीय व्यवहार गर्नुका साथै प्रतिशोध साँधेको बताएका थिए ।
‘प्रतिशोध नभए अरू मान्छेलाई पनि थुन्नुपर्थ्यो । अरू पनि छन् सहकारीमा जोडिएका’, शाहीले कास्की जिल्ला प्रहरी कार्यालय अगाडि उभिएर भनेका थिए, ‘कानुनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ । यो चाहिँ खेद प्रकट गर्छु ।’
सत्तारुढ नेताहरूकै आपत्ति
विपक्षी दलका नेताहरूले मात्र होइन सत्तारुढ कांग्रेस नेता डा. शेखर कोइराला र सांसद सुनिल शर्माले रविको विषयमा सरकारप्रतिको असन्तोष व्यक्त गरेका छन् ।
शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दे डा. कोइरालाले मुख खोलेका थिए ।
‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो’ उनले भनेका थिए ।
सांसद डा सुनिल शर्माले त आइतबार पत्रकार सम्मेलन गरी रविमाथि भएको व्यवहार लोकतन्त्रको मर्मविपरीत रहेको बताएका छन् ।
उनले भने, ‘सरकारको यो रवैया न त कानुनी मान्यतासँग मेल खान्छ, न त मानवीय व्यवहारसँग । लोकतन्त्रमा प्रत्येक नागरिकलाई सम्मानपूर्वक व्यवहार गरिनुपर्छ । तर, रविजीमाथि हिरासतमा अमानवीय व्यवहार भएको छ ।’
रविमाथि हाल भइरहेको कानुनी प्रक्रियालाई लिएर समर्थकहरूले सरकारमाथि राजनीति प्रेरित हुने आरोप लगाइरहेको बेलामा सत्तारुढ दलकै नेता पहिलो पटक सरकारकै विपक्षमा उत्रिएका हुन् ।
उता सरकारले भने अनुसन्धानलाई प्रभावित पार्ने गरी गतिविधि नगर्न आग्रह गरिरहेको छ ।
गृहमन्त्री रमेश लेखकले भने रविविरुद्ध भइरहेको अनुसन्धानलाई न्यायपूर्ण ढङ्गले अगाडि बढाइएको जिकिर गर्दै प्रहरीबाट अमानवीय व्यवहार भएको आरोप अस्वीकार गरेका छन् । उनी भन्छन् ‘अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह छ ।’
Facebook Comment
Comment