एनपीएलमा विज्ञापन गरिरहेका साइटहरू बाजी लगाउन प्रयोग हुने साइटहरूसँग सम्बन्धित रहेको प्रहरीको निष्कर्ष छ । सीआईबीले अनुसन्धान गरिरहँदा विज्ञापन बोर्डले पनि क्यान र केही फ्रेन्चाइजी टोलीमाथि कारबाही प्रक्रिया थालेको हो ।
नेपालभ्युज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा अनलाइन सट्टेबाजीलाई प्रोत्साहन गर्दै आएको नेपाल क्रिकेट संघ (क्यान) कारबाहीको दायरामा परेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी प्रतियोगितामा सट्टेबाजीसम्बन्धी विज्ञापन भएको भन्दै विज्ञापन बोर्डले क्यानसँग स्पष्टीकरण मागेको छ । उता नेपाल प्रहरीको सीआईबी टोलीले पनि अनुसन्धान तीव्र बनाएको छ ।
सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता एनपीएलमा सट्टेबाजीको विभिन्न अनलाइन साइटको विज्ञापन गरेको भन्दै लिग आयोजकलाई विज्ञापन बोर्डले स्पष्टीकरण सोधेको हो ।
त्रिवि क्रिकेट मैदानमा १५ मंसिरदेखि चलिरहेको यो लिगका आयोजक क्यानलाई विज्ञापन नियमन गर्ने संस्था विज्ञापन बोर्डले जवाफ माग गरे पनि जवाफ आएको छैन ।
नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२५ मा हार वा जित हुने गरी बाजी थाप्न रोक लगाएको छ । तर, कानूनले बन्देज गराएको विषयलाई क्यानले खुलेआम प्रवर्द्धन गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कारबाहीको निर्देशन दिएको हो ।
दोषी ठहर भए कम्तीमा एक वर्षभन्दा बढी जेल सजाय र कारोबार रकमको आधारमा जरिवाना हुने कानून छ ।
गैरकानूनी काम गर्न नहुने भन्दै त्यस्ता प्रचारलाई निरुत्साहित गर्न क्यानलाई कारबाही प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।
‘सट्टेबाजी कम्पनीको अर्को सह-उत्पादनको ‘सरगेट विज्ञापन’को विज्ञापन गरेको भन्दै विज्ञापन विज्ञापन बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको छ । अब जवाफ के आउँछ, त्यो आधारमा कारबाही प्रक्रिया अघि बढ्छ’ मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नेपालभ्युजसँग भने ।
अनलाइन बेटिङकै विज्ञान नगरे पनि त्यसलाई प्रचार गर्ने नियतबाट सरगेट विज्ञापन गराएको भन्दै कारबाही प्रक्रिया अघि बढाएको विज्ञापन बोर्डले जनाएको छ ।
सट्टेबाजीसँग सम्बन्धित कम्पनीको विज्ञापन राखिएको उजुरीपछि बोर्डले क्यानलाई दुई पटक पत्राचार गरिसकेको अध्यक्ष लक्ष्मण हुमागाईँ बताउँछन् ।
‘खेल सुरु हुनुभन्दा अघि र सुरु भएपछि पनि गरेर दुईपटक क्यानलाई पत्र लेखिसकेका छौँ । तर, हाम्रो पत्राचारको क्यानले कुनै जवाफ दिएको छैन,’ हुमागाईँ भन्छन् ।
तर, गैरकानूनी विज्ञापन गरेको आधारमा सामान्यबाहेक अरू कारबाही गर्ने अधिकार बोर्डलाई छैन । यसैले क्यानबाट आएको जवाफको आधारमा सीआईबीलाई कारबाहीको लागि पत्राचार गर्ने विज्ञापन बोर्डले जनाएको छ ।
सीआईबीको निष्कर्ष- अनलाइन बेटिङकै प्रचार
क्यानले भने विज्ञापन ‘बेटिङ’ भनिने सट्टेबाजी गर्ने वेबसाइटको नभई अरू नै भएको दाबी गर्दै आएको छ । तर, ‘बेटिङ’ साइटकै प्रचार गर्ने नियतले सोही कम्पनीको सरोगेट कम्पनीको प्रचार गरिएको प्रस्ट देखिन्छ ।
क्रिकेट चलिरहेको ग्राउन्डमा प्रायोजन गरिएका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूका विज्ञापन राखिएका छन् ।
त्यस्तै, विज्ञापनहरूको लहरमा एउटा सट्टेबाजी साइटको नाममा ‘न्यूज’ शब्द जोडिएको वेबसाइट पनि छ । त्यो नाम रहेको साइट हेर्दा अपडेट र दर्ता नभएकोले बेटिङ साइटकै अर्को उत्पादनको ‘सरगेट विज्ञापन’ हो भन्ने पहिचान भएको हो ।
एनपीएलमा विज्ञापन गरिरहेका साइटहरू बाजी लगाउन प्रयोग हुने साइटहरूसँग सम्बन्धित रहेको प्रहरीको निष्कर्ष छ ।
यता विज्ञापन अधिकांश अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा हुने गरेकोले आफूले पनि गरेको क्यानको दाबी छ ।
विज्ञापन बोर्डले क्यानसँग मात्र नभएर प्रतियोगितामा सहभागी फ्रेन्चाइजी टिमहरू विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पनि जवाफ माग गरेको छ । उनीहरूले खेलाडीको जर्सीमा पनि त्यस्तै खालका विज्ञापन छन् ।
बेटिङ साइटसँग सम्बन्धित प्रचार राखिएको जर्सीमा टेप लगाएर सुदूरपश्चिमका ब्रिटिश खेलाडी सैफ अलि जैबले खेल्दैआएका छन् ।
ती साइटहरू समाचारको नाममा मात्रै खोलिएका सट्टेबाजी कम्पनीसँगै सम्बन्धित रहेको विज्ञापन बोर्डको ठहर छ ।
विज्ञापनबारे सीआईबीले क्यानलाई तत्काल सचेत मात्र गराए पनि अनुसन्धान जारी राखेको अधिकारीहरू बताउँछन् ।
‘त्यो विज्ञापन को मार्फत आयो ? भुक्तानी कसरी कसले दियो ? भन्नेलगायतका विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको छ । हामीले सञ्चार मन्त्रालयलाई पनि गैर कानूनी बेटिङ साइट कसरी विज्ञापनमा प्रयोग भए भन्नेबारे सोधेका छौँ । कारबाहीको लागि सहयोग मागेका छौँ’ सीआईबीका प्रवक्ता होविन्द्र बोगटी बताउँछन् ।
सट्टेबाजीका सातजना एजेन्ट पक्राउ
सीआईबीले यस्ता साइटमार्फत सट्टेबाजीसम्बन्धी काम कारोबार गर्न नेपाल आएका सातजना पक्राउ परेका छन् । उनीहरु सबै भारतीय नागरिक हुन् । उनीहरूलाई क्रिकेट ग्राउन्डबाटै पक्राउ गरिएको हो ।
उनीहरूले पूरा खेल अवधिमा मात्र नभई हरेक बलमा बाजी थाप्ने गरेका थिए ।
‘पूरा खेल अवधिमा मात्र होइन, ब्याटरले कुन बलमा चौका–छक्का लगाउँछ वा कति रन बनाउँछ यावत् किसिमका कुराहरूमा फिल्डबाट नै बेटिङ भइरहेको अवस्थामा पक्राउ गरेका हौँ’ सीआईबीका अधिकारी बताउँछन् ।
ग्राउन्डबाटै पक्राउ परेकाहरूको क्यान र प्रतियोगितामा सहभागी टोलीहरूले राखेको विज्ञापनसँग सम्बन्ध खुल्न बाँकी छ ।
प्रहरीका अनुसार सट्टेबाजीमा संलग्नहरू अदालतबाट दोषी ठहर भए कम्तीमा एक वर्ष जेल सजाय र कारोबार रकमको आधारमा जरिवाना हुन सक्छ ।
Facebook Comment
Comment