नरेशले जुलाई २९ मै ममताको हत्या गरेको प्रहरीको खुलासा, कोठामा भेटिएको रगतसँग डीएनए मिल्यो

नेपालभ्युज

नरेशले जुलाई २९ मै ममताको हत्या गरेको प्रहरीको खुलासा, कोठामा भेटिएको रगतसँग डीएनए मिल्यो

काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएकी ममता काफ्लेको हत्या आरोपमा श्रीमान् नरेश भट्टविरुद्ध अभियोग दर्ता गरिने भएको छ ।

गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी दिन मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार साँझ पत्रकार सम्मेलन गरेका थिए ।

त्यसक्रममा लुगोले ममताको घरमा भेटिएको डीनएन रिपार्ट सार्वजनिक गरेका छन् । भट्टको सुत्ने कोठामा रहेको रगत ममताको नै भएको र जुलाई २९ मा नै हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनले जनाएको छ ।

यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटा देखिएको थियो । अवस्था हेर्दा ममता जिउँदो हुने सम्भावना नरहेको पनि प्रहरीले अदालतमा बताएका थिए ।

लुगोले भने, ‘सुरुवातदेखि हामीले अपराधस्थलको आधारमा उनको हत्या भएको विश्वास गर्यौं, यसले (डीएनए परीक्षणको नतिजा) केसलाई मद्दत गर्दछ ।’

काफ्लेको शव टुक्रा-टुक्रा भएको देखाउने प्रमाणसँग शव लुकाएको आरोप जोडिएको भन्दै उनले भने, ‘हामीसँग बलियो प्रमाण छ जस्तो लाग्छ ।’

प्रिन्स विलियम काउन्टीको अनलाइन अदालतको रेकर्डअनुसार यसअघि भट्टलाई पनि हत्या गरेर शव लुकाएको आरोप लगाइएको थियो । आज मंगलबार भट्टविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता गरिने प्रहरी प्रमुख लुगोले जानकारी दिए । भट्ट अहिले प्रहरी हिरासतमै छन् ।

ममता गत साउन १५ गतेदेखि सम्पर्कविहीन थिइन् । ७ भदौमा नरेशलाई प्रहरीले पक्राउ गरेको थियो ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-२ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका थिए । उनी ०७३ साल साउनमा अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरेका थिए ।

अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भएका थिए । उनी बेला-बेला नेपाल आइराख्थे ।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध भयो ।

त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भएको थियो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिका उडिन् ।

एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।

थप सम्बन्धित सामग्री-

तीज मनाउन नेपाल आउने तयारीमा थिइन् ममता, प्रतीक्षामा सजिएको घर डुब्यो शोकमा

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश !

नरेशका वकिलको दाबी : ममता जीवितै छिन्, अपरिचित महिलासँग निस्किएकी थिइन्

ममतालाई नरेशले नै हत्या गरेको प्रमाण अदालतमा पेस, १२ वटा पोका बनाएर फालेका थिए शव


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved