हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश !
छोरीलाई नेपाल फर्काउन कागजात तयार गर्दागर्दै पक्राउ
नरेशले ३० जुलाइ साउन १५ मा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।
ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न प्रहरी अझै सफल भइसकेको छैन । बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेका नरेशलाई शुक्रबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो । उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ ।
नरेशले ३० जुलाइ साउन १५ मा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।
अदालतमा पेस गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रमाण फेला परेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।
प्रहरीले फरेन्सिक प्रविधि ‘ब्लुस्टार प्रयोग’ गरेर हेर्दा उनको घरको बेडरुम र बाथरुममा रगतको टाटा भेटिएको थियो । केही दिनअघि नरेशले किनेका तीनवटा चक्कुमध्ये १ वटा मात्र भेटिएको छ । र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्योल गरेर मुद्दा चलाएको हो ।
वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार नरेश भट्टले टेस्ला कार बेचिसकेको थिए । उनले एक वर्षे छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए ।
ममता काफ्ले र पति नरेश भट्ट बस्दै आएका घर
घर बेच्न दुई जनासँग कुरा चलाइसकेका थिए । उनले त्यहाँबाट भाग्ने तयारी गरिरहेको प्रमाणहरू फेला परेका छन् । प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्धृत गर्दै भनिएको छ, ‘ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए । सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए ।’
यही कारण प्रहरी अधिकारीहरूले नरेश भट्ट भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन् । प्रिन्स विलियम काउन्टीका अभियोजन साराह सामीले अनुसन्धानकर्ताहरूले परिवारको घरमा रगत फेला पारेको बताइन् ।
नरेशले जुलाइ ३० साउन १५ मा चक्कुहरू किनेका थिए, जुनदिन अन्त पटक ममताको परिवारसँग सम्पर्क भएको थियो । उनी सोही दिन घर सफा गर्ने समानहरू किन्न पनि गएका थिए । जसलाई अनुसन्धान गर्ने अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन् ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर २ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका हुन् । उनी ०७३ साल साउन १४ मा अमेरिकाका लागि उडे । अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे ।
अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । उनी बेलाबेला नेपाल आइराख्थे । अहिले उनी यूएस आर्मीको आइटी विभागमा कार्यरत छन् ।
५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढ्यो ।
त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।
पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका उडिन् ।
एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।
Facebook Comment
Comment