तीज मनाउन नेपाल आउने तयारीमा थिइन् ममता, प्रतीक्षामा सजिएको घर डुब्यो शोकमा
तीजको लागि छोरीको प्रतीक्षामा सजिएको माइतीघर शोकमा डुबेको छ । ममता आएपछि छ तीजमा रमाइलो गर्ने आशामा रहेको परिवार आँसुको सामना गरिरहेको छ । ममता काफ्लेको माइतीघरको कथा ।
पनौती । काभ्रेको पनौती बजार । नमोबुद्ध जाने रोड, रोडमाथि एउटा दुईतले घर । छेवैमा करेसाबारी, छानासम्म फर्सी र चिचिण्डाका लहराहरू फैलिएका छन् । मानौँ, तिनीहरूले घरलाई अँगालो मारेका छन् ।
घरको पछाडिपट्टि बारीमा थाँक्रोमा फर्सी, काँक्रा झुन्डिएका छन् । माल्भोग केराहरू बोटमै राता हुन लागिसकेका देखिन्छन् । सीता कुमारी काफ्लेले सोचेकी थिइन् कि यी फलफूलले यसपालि तीजमा छोरीलाई दर खुवाउनेछु । हरेक फल र तरकारीमा उनले छोरी ममताको मुहार देखेकी थिइन्, हरेक स्वादमा छोरीको मुस्कानको अपेक्षा गरेकी थिइन् ।
घर पछाडि गोठमा एक कुनामा, लैनो भैँसी छ । उसको दूधबाट खिर बनाएर छोरीलाई खुवाउने सपना थियो सीता कुमारीलाई । यसपालिको तीजको दर खाने दिनको ‘मेन्यू’ सीता कुमारीले बनाइसकेकी थिइन् ।
सीता कुमारीको परिवार, जो कृषि निर्वाहमुखी अर्थतन्त्रमा रमाएको थियो । अब एक गहिरो शोकमा डुबेको छ । बर्खाभर मस्तले काम गरेर थाकेको यो परिवारले अब आफ्नो थकाइ मार्ने एक तीजको पनि आनन्द लिन पाएन ।
अमेरिकामा थिइन् छोरी ममता । अमेरिका गएपछि पहिलोपटक स्वदेश फर्किँदै थिइन्, तीज मनाउन । छोरी तीज मनाउन आएपछि मज्जाले रमाइलो गरौँ भन्ने लागेको थियो काफ्ले परिवारलाई । ग्रामीण जीवन, थकाइ मार्ने र रमाउने दिन नै त्यही थियो, तीज ।
नमोबुद्ध रोडमुनि एक घरमा भुइँतल्लामा उनीहरूको चिया पसल छ । चिया पसल पति कमल काफ्लेले चलाउँथे, सहयोगी थिइन् सीता कुमारी । अब चियाको कप जस्तै तातो आँसु पिउँदै छन् यी दुई प्राण ।
सीता कुमारी पुरानो फोटो एल्बम हेर्दैछिन् । उनको आँखामा आँसु टल्किन्छ, जब उनी आफ्नी छोरी ममताको तस्वीर देख्छिन् । ‘ममता, मेरी प्यारी छोरी’, उनको मुटु गाँठो पर्छ । छातीमा हात राख्दै भन्छिन्, “तिमी कहाँ छौ नानी ?”
अनिश्चिततामा परिवार
पनौतीको सानो चिया पसलमा कमल काफ्ले बस्छन् तर, उनको मन भने अमेरिकाको कुनै अज्ञात कुनातिर भौँतारिइरहेको छ । चियाको कप भर्दाभर्दै उनका हातहरू काम्छन्, मानौँ ती हातहरूले छोरी ममतालाई छुन खोजिरहेका छन् । ग्राहकहरूको भीडमा पनि उनी एक्लै छन्, हरेक अनुहारमा छोरीको छायाँ खोज्दै ।
ग्राहकहरू आउँछन् र जान्छन् तर, उनको आँखामा एउटै प्रश्न देखिन्छ, “के भयो मेरी छोरीलाई ?”
सीता कुमारी एक वर्षीया नातिनीको तस्वीर नियाल्छिन् । त्यो तस्वीरमा एउटा अनमोल मुस्कान छ, जसले सीताको मुटुमा एकैपटक आशा र पीडाको लहर ल्याउँछ । सीता कुमारी सोच्छिन्, “तिमीले कहिल्यै आफ्नी आमाको अनुहार देख्न पाउनेछौँ ?”
सीताकुमारीको मनमा प्रश्नहरूको भुमरी चल्छ ।
चिया पसलमा कमल बरबराउँछन्, “मेरी छोरी फर्केर आइदिए पनि हुन्थ्यो ।” यो वाक्य एक पिताको हृदयबाट निस्किएको अर्तनाद हो, जसले आफ्नो सन्तानलाई फेरि एकपटक अँगाल्न चाहन्छ ।
उनीहरूको मनमा एउटा सानो आशाको किरण अझै बलिरहेको छ कि एकदिन ममता घर फर्किनेछिन् र यो घर फेरि खुसीले भरिनेछ ।
सीता र कमलको आशा तीजमा छोरी आइदिए हुन्थ्यो भन्ने छ । तर, पनौतीको यो सानो घरको यो परिवारको सपना टुक्रा-टुक्रा भएको छ ।
तीजको रमझम र खुसीको सट्टा, अब पीडा र अनिश्चितता छ । किनकि अमेरिकामा सरकारी वकिल कार्यालयले ममताको हत्या भएको निष्कर्षसहित उनकै पतिविरुद्ध मुद्दा चलाइरहेको छ । यता बुबाआमाको तीजको रातो सारीजस्तै रङ्गिन हुनुपर्ने यो समय, अब शोकको कालो छायाले ढाकिएको छ ।
यता बुबाआमा जसको प्रतीक्षामा छन्, उसको हत्या भएको अमेरिकी प्रहरी अधिकारीको दाबी छ । तर, शव नभेटिएकाले उता परिवारमा अनिश्चितता अझै देखिन्छ ।
अमेरिकी प्रहरीको दाबी र नेपाली आमाबुबाको आशाबीच एउटा अदृश्य युद्ध चलिरहेको छ । शव नभेटिएको खबरले सीता कुमारी र कमलको मनमा सानो आशाको किरण बालेको छ तर, त्यो किरण हरेक बित्दो क्षणसँगै मधुरो हुँदै गएको छ ।
प्रेमको सुरुवात : सामाजिक सञ्जालमार्फत भेट
कमल र सीता कुमारी काफ्लेले आफ्नी छोरी ममता काफ्लेलाई दु:ख-सुख सहेर हुर्काए । तरकारी बेचेर रातदिन खटेर छोरीलाई बोडिङ स्कूलमा पढाए । “हामीले गरिबी सहेर छोरीलाई शिक्षाको उज्यालो दिन चाह्यौँ,” कमलको गला अबरुद्ध हुन्छ ।
ममताले गाउँमै स्कूल र प्लस टू सकिन् । त्यसपछि नर्सिङ पढ्न भारतको बैंगलोर पठाइयो । चार वर्षसम्म मेहनत गरेर ममताले नर्सिङ पूरा गरिन् ।
भारतमा अध्ययनरत रहँदा ममता र अमेरिकामा रहेका नरेश भट्टबीच सामाजिक सञ्जालमार्फत चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो । ममताले बैंलोरमै रहँदा नरेशलाई काभ्रेका आफ्ना बुबाआमासँग फोन सम्पर्क गराइन् । बिस्तारै समय बित्यो, ममता गाउँ फर्किइन्, नरेश पनि अमेरिकाबाट स्वदेश फर्किए ।
२०७३ साउनमा अमेरिकामा बस्दै आएका कञ्चनपुरका नरेश भट्ट साढे चार वर्षपछि नेपाल आए । २०७७ साल मङ्सिर २७ गते ममता र नरेशले विवाह गरे । धनगढीबाट जन्ती प्लेनमा काठमाडौं आए । ममताको घर तल रहेको पनौतीकै श्रीराम पार्टी प्यालेसमा विवाह सम्पन्न भयो । त्यही साँझ जहाजमा जन्ती दुलहीसहित धनगढी फर्कियो ।
विवाहको आठ महिनापछि ०७८ साउन १० मा ममता नरेशसँगै अमेरिका उडिन् । नरेश यूएस आर्मीको आइटी विभागमा कार्यरत थिए । ममता रजिष्टर नर्स भएकाले अस्पतालमा काम गर्न थालिन् । उनीहरूको जीवन आर्थिक रूपमा राम्रो चल्दै थियो ।
२०८० भदौमा ममताले छोरीलाई जन्म दिइन् तर, सन्तान जन्मिएपछि ममता र नरेशबीचको सम्बन्धमा चिसोपना आउन थाल्यो ।
मिलनको सपना, वियोगको यथार्थ
बिहेपछि ममता अमेरिकाको आकाशमुनि बुबा-आमा काभ्रेको पहाडी भूमिमा । उता सूर्योदय हुँदा यता राति, यता बिहानीको किरण फैलिँदा उता तारा टल्किने बेला सुत्ने समय । दुई भिन्न संसारमा बाँचेका बुबाआमा र छोरीको सम्बन्ध कहिलेकाहीँ हुने फोन संवादमा सीमित थियो ।
भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा ममताको जीवन बिरामीहरूको सेवामा समर्पित थियो ।
व्यस्तताको बीचमा पनि माइती र ममताबीचको प्रेमको धागो टुट्न पाएको थिएन । हरेक साताजस्तो फेसबूक र ह्वाट्सअपमा कुराकानी भइरहन्थ्यो ।
तीजको रङ्गिन चाडमा छोरी ममताको आगमनको प्रतीक्षा गर्दै काफ्ले परिवार उत्साहित थियो । मिठास र खुसीको साटासाट गर्ने सपना बुनिरहेका थिए ।
ममताको बिहेको चौथो वसन्त फुलिसकेको थियो, अमेरिकाको माटोमा टेकेको नै साढे तीन वर्ष पुगिसकेको थियो ।
गत वर्ष मात्र ममताले छोरी जन्माइन् तर, नेपाली परम्पराअनुसार सुत्केरी बस्न माइती आउन पाएकी थिइनन् । यसपालिको तिजमा छोरी आउने प्रतीक्षामा थिए, काफ्ले परिवार । मिठो खाएर खुसी साट्ने योजनामा थियो ।
लामो समयदेखि भेटघाट नहुँदा न्यास्रिएका थिए, आमा-बुबा । लामो विरहले थकित बुबाआमाको मनमा छोरीको अनुहार हेर्ने तृष्णा बढ्दै गएको थियो ।
यसपालिको तिज उनीहरूका लागि केवल चाड मात्र थिएन, यो त पारिवारिक पुनर्मिलनको पवित्र अवसर थियो । जहाँ, टुक्रिएका हृदयहरू फेरि जोडिँदै थिए ।
अलग बस्ने सोचमा थिइन् ममता
सन्तान जन्मिएपछि ममता र नरेशबीचको सम्बन्ध चिसिन थाल्यो । ममताले सिंगल बस्ने सोच बनाइसकेकी थिइन् । उनले विभिन्न वेबपेजहरूमा आफूले सिंगल बस्न चाहेको, छोरीको जिम्मा लिन पति नरेशले नचाहेकोले समस्या भएको लेखेकी थिइन् ।
जीवनको यात्रालाई निरन्तरता दिन ममताले हप्ताको दुई दिन काम गरेर आफ्नो र छोरीको भविष्य सुरक्षित गर्ने योजना बनाइन् ।
उनको मातृत्वको प्रेम र व्यावसायिक आकाङ्क्षाबीच सन्तुलन खोज्दै छोरीलाई हेरचाह केन्द्रमा राख्ने विकल्पबारे सोचविचार गरेकी थिइन् ।
प्रेमको कोपिलालाई विवाहको फूलमा फुलाएकी ममता साउन १६ (जुलाई ३१) देखि अचानक सम्पर्कविहीन भइन् । माइती आउने मिति नजिकिँदै गर्दा ममता हराउनुले माइतीघरमा चिन्ता र शङ्काको कालो बादल छायो । परिवारको आशा र उत्साह अनिश्चितताको भुमरीमा परे ।
आशा र पीडाको सङ्घर्ष
यता आमा-बुबाले छोरीलाई फोन लगिरहेका थिए । छोरीको फोन नलागेपछि ज्वाइँ नरेशलाई फोन गरेको र नउठेको सीता कुमारी बताउँछन् ।
ममता हराएको भनिएको केही दिनपछि ज्वाइँको फोन ससुरालीमा आयो, एक सर्को आशाको किरणजस्तो ।
उनले ममता साथीकोमा बस्न गएको हुनसक्ने अनुमान व्यक्त गरे । यता, आमा-बुबाको मुटुको धड्कन छोरीको फोनको घण्टीसँग जोडिएको थियो ।
सीता कुमारी भन्छिन्, “छोरीलाई फोन गरेको लागेन । उसको फोन कुरिरहेका थियौँ । धेरैपटक फोन गर्दा नलागेपछि ज्वाइँलाई गरेको उठेन । बल्लबल्ल भ्वाइस म्यासेज आयो ।”
नरेशले ममताले आफ्नो केही सामानहरू सबै लिएर छाडेको दाबी गर्दै भ्वाइस म्यासेज गरेका थिए ।
उनले भनेका थिए, “ममता घर नआएको दुई/तीन दिन भइसक्यो । खै कता गइन् । जहाँ पहिला बस्थिन्, जहाँबाट पहिला लिएर आएका थियौँ । त्यहाँ पो गाकी छन् कि ! उसले आफ्नो बेसिक सामानहरू सबै लगिसक्या छ । खै कस्कोमा बसेकी छ । कहाँ गएकी छ । सम्पर्कमा आएको छैन, हाम्रो पनि सम्पर्कमा आएको छैन ममता ।”
आमा सीता कुमारीको आवाजमा पीडा र क्रोधको मिश्रण छ । उनी भन्छिन्, “त्यो पापीले मेरो छोरीलाई मारिसक्यो । मेरो छोरीलाई जति यातना दिएको थियो, यसलाई पनि त्यति नै यातना चाहियो । यही छ मेरो हृदयको पुकार ।”
ममताको हत्याको दाबीसहित मुद्दा चलेपछि नातिनी लिन लागि जान माइती पक्षले चाहेको छन् । अमेरिकी दूतावासबाट भिसा प्रक्रिया अघि बढाएका छन् ।
करुणा र दृढता झल्किएको भावमा सीताकुमारी भन्छिन्, “मेरो छोरी नभए पनि उसको नमूना नातिनी छ । हाम्रो चिन्ता नातिनीको हो । उसलाई हेर्ने चाहना छ । अब हाम्रो पनि उता जाने तयारी छ । नातिनी ल्याउन पाए ल्याउने । नत्र त्यही केयर गरेर बस्ने हो । जता राम्रो हुन्छ, कता सजिलो हुन्छ उतै राख्न पाए हुन्थ्यो ।”
बुबा कमलको आवाजमा व्याकुलता छ । उनी भन्छन्, “हाम्रो जीवन अस्तव्यस्त छ । न खान मन लाग्छ, न सुत्न । छोरीका साथीहरूले बताएअनुसार उसको शरीरमा निल डामहरू लिएर काममा गएकी थिइ रे ! यसैले पहिल्यै यातना दिने गरेको रहेछ । अहिले पनि मारेर फालेछ ।”
हिरासत र आगामी कदमहरू
नेपाली समुदायले सुरुदेखि नै नरेशमाथि शङ्का गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टलाई पक्राउ गरेको हो । ममताको हत्या गरी शव लुकाएको नरेशमाथि अभियोग लगाइएको छ ।
अभियोग पत्रमा उल्लेख छ— नरेशले ३० जुलाईमा घरभित्रै ममताको हत्या गरी शवलाई घिसार्दै बाहिर लगेको ।
अभिआयोजकहरूले खुलासा गरे कि जुलाई ३० मा नरेशले तीनवटा चक्कु किनेको र भोलिपल्ट सफाइका सामग्री खरिद गरेको । उनले प्रमाण नष्ट गर्ने प्रयास गरे, घर बेच्ने योजना बनाए, टेस्ला गाडी बेचे, र छोरीलाई नेपाल फर्काउने कागजात तयार पारे ।
अझ चकित पार्ने कुरा, नरेशले महिनौँ अघिदेखि यो अपराधको योजना बनाएको देखिन्छ । वासिङ्टन पोस्टका अनुसार, उनले आफ्नो ल्यापटपमा गुगलमा सर्च गरेर ‘श्रीमतीको मृत्युपछि कति समयमा पुनर्विवाह गर्न मिल्छ ?’ भनेर अनलाइनमा सर्च गरेको खुलेको छ ।
हाल नरेश हिरासतमा छन् तर, अपराध स्वीकार गरेका छैनन् । सोमबार उनलाई मनसासस्थित प्रिन्स विलियम अदालतमा पेस गरिएको थियो ।
सुनुवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायाधीशले धरौटीमा छाड्न अस्वीकार गरेका छन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।
Facebook Comment
Comment