काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं ल्याइँदै छ ।
उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
लामिछानेलाई आज बिहान जहाजबाट काठमाडौं ल्याइन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् ।
आइतबार मात्रै कास्की जिल्ला अदालतले उनलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । यसपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
लामिछानेलाई दुई वा तीन दिन काठमाडौंमा नै राखेर बयान लिने बताइएको छ ।
उनी पोखराको सूर्यदर्शनलगायत सहकारीकाे रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।
Facebook Comment
Comment