त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्याङ सडक कालोपत्रस्तरको स्तरउन्नति’ कार्य सुरू भएको छ । दुप्चेश्वर गाँउपालिका–६ स्थित समुन्द्रटारमा आज आयोजित सडक कालोपत्रस्तरको स्तरउन्नति कार्यको नेपाली कांगेसका प्रवक्ता डा प्रकाशशरण महतले शुभारम्भ गर्दै तोकिएको अवधिभित्र गुणस्तरीय कामसहित सम्पन्न गर्न ध्यानाकर्षण गराए ।
गत आर्थिक वर्षमा आफू अर्थमन्त्री रहदाँ रू एक अर्ब २० करोडको श्रोत सुनिश्चित गरेर ठेक्का लगाएको उक्त योजना सरकार परिवर्तनपश्चात कटौती हुदाँ दबाब र खबरदारी मार्फत बजेट पुनःबहाली गराउन सफल भएको स्मरण गराउदै अब कार्यान्वयनको पक्षमा कुनै कमजोरी हुन नदिन पूर्वमन्त्री डा महतले सचेत गराए ।
‘जनताको माग र देशको विकासको लागी तर्जुमा भएका योजना कार्यान्वयनसम्म ल्याउन निकै सङ्घर्ष गरेका छौँ,’ उनले भने, ‘कार्यान्वयनमा सडक डिभिजन र निर्माण व्यवसायीले सोहीअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ । लाभग्राही जनताले बाधा अवरोध नगरी सचेत भएर सहयोग पुर्याउनुपर्दछ ।’
आर्थिक वर्ष २०८०–८१ मा विनियोजित बजेटको उक्त योजनामा बहुबर्षीय ठेक्का लगाएर गत फागुनमा नै काम सुरु हुनुपर्ने भए पनि कांग्रेस सरकारबाट बाहिरिए पश्चात योजना खारेजीको प्रक्रियामा पुगेको थियो । निरन्तरको खबरदारी र दबाबले पुनःबहाली भएको उक्त योजनाको कार्यान्वयनले यहाँको जनतामा आउने जीवनस्तरको परिवर्तनले ठूलो महत्त्व राख्ने पूर्वअर्थमन्त्री महतको भनाइ छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्ने लिखु गाउँपालिकाको ढिकुरे बजारबाट सुरू हुने उक्त योजना सूर्यगढी, तादीको छ । सडक निर्माणले जिल्लाको दुर्गम तथा पिछडिएको क्षेत्रको आर्थिक, सामाजिक एवं शैक्षित्र क्षेत्रको विकासमा चमत्कारी परिवर्तन ल्याउन सकिने नेकपा ९एमाले० का नुवाकोट अध्यक्ष बद्री मैनालीले बताए ।
योजनाअन्तर्गत ढिकुरे–समुन्द्रटार २२ किमीमा हाल कायम रहेको कालोपत्रसहितको सडकको स्तरउन्नति गर्न र समुन्द्रटा र–गोल्फुभञ्याङ २३ किमीको धुले सडकलाई स्तरउन्नतिसहित कालोपत्र गर्ने काम एकैसाथ दुई प्याकेजमा अघि बढाउन अध्यक्ष मैनालीले सुझाव दिए ।
काठमाडौं जोडिने हुँदा अहिले दुर्गममा रहेका भूगोललाई सिधैँ राजधानीसँग जोडेर विकासका विभिन्न आयामका परिवर्तन ल्याउन सकिने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख छ ।
सडक निर्माणको जिम्मेवारी महालक्ष्मी–अमृत–जलुकेनी–जेभीले तीन वर्षभित्र पूरा गर्न रू ६८ करोड ५६ लाखमा जिम्मेवारी पाएको छ । सडक स्तरउन्नति, चौडा विस्तार, ढल नाली तयार गरेर अस्फाल्ट प्रविधियुक्त कालोपत्र गर्न तोकिएको अवधिमा कुनै समस्या नभएको निर्माण व्यवसायी सुशील फुयाँलले प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीलाई तोकिएको अवधिभित्र कार्य पूरा गर्न निर्माण सामग्रीको सहज आपूर्ति र कार्य क्षेत्रमा सुरक्षा बन्दोवस्ती मिलाउन लाभान्वित हुने चारवटै पालिकाको अध्यक्षले प्रतिबद्धता जनाएका छन् ।
कार्य सम्पन्नको लागी चालु आवमा रू १० करोड मात्र बजेट प्राप्त भएको सडक डिभिजन नुवाकोटका प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए । तीन वर्षभित्र सडकको कालेपत्र सम्पन्न गर्न चालु आवमा रू ४० करोडको काम हुनुपर्ने छ । –रासस
Facebook Comment
Comment