काठमाडौं । न्युजिल्याण्डकी २२ वर्षीय सांसद हाना रावहिती माईपी–क्लार्कको कदमले यतिबेला विश्वको ध्यान खिचेको छ ।
ते पाटी माओरीकी यी सांसदले संसदमा गरेको हाका नृत्य र विवादास्पद विधेयक च्यातेको घटनाले विश्वभरको ध्यान खिचेको हो ।
२०२३ को निर्वाचनमा २१ वर्षकै उमेरमा संसदमा प्रवेश गरेकी हाना १७० वर्षयताकै सबैभन्दा कम उमेरकी सांसद हुन् ।
उनको राजनीतिक यात्रा निकै रोचक छ । सुरुमै लेबर पार्टीकी वरिष्ठ सांसद नानाइया माहुतालाई पराजित गरेर चर्चा बटुलेकी हानाले २०२४ मा “वन यंग वर्ल्ड पोलिटिसियन अफ द इयर” अवार्ड जितेर थप उचाइ हासिल गरिन् ।
किन भइन् भाइरल ?
१४ नोभेम्बर २०२४ मा हाना रावहितीले न्युजिल्याण्डको संसदमा माओरी र क्राउनबीचको सन्धिको पुनर्व्याख्या गर्ने विधेयकको विरोध गर्दै उनले संसदमा विधेयकको पहिलो वाचनको क्रममा ट्रिटी प्रिन्सिपल्स बिलको एक प्रति च्यातिन् र ‘ ’ ‘का माते’ हाका नेतृत्व गरेर विरोध गरिन् ।
विधेयकको प्रति च्यातेर संसद् कार्यवाही नै रोकिन पुग्यो । उनको यो कदमलाई सार्वजनिक ग्यालरीका दर्शकहरूले पनि साथ दिएको भिडियोमा देख्न सकिन्छ ।
यसपछि स्पीकर गेरी ब्राउनलीले सांसदलाई २० मिनेटका लागि स्थगित गरे र हाना रावहितीलाई उनको कार्यका लागि नाम लिएर २४ घण्टाका लागि संसद्बाट निलम्बित गरे ।
किन गरिन् विरोध ?
सन् १८४० को ऐतिहासिक वाइतांगी सन्धि माओरी र ब्रिटिस क्राउनबीचको महत्त्वपूर्ण सम्झौता हो । नयाँ विधेयकले यस सन्धिका केही प्रावधान परिवर्तन गर्न खोज्दैछ ।
जसले वाइतांगी सन्धिका केही सिद्धान्तहरू परिवर्तन गर्ने प्रयासमा छ । एउटा यस्तो कदम जसको धेरै माओरीहरूले विरोध गरिरहेका छन् ।
न्युजिल्याण्डमा माओरी समुदाय कुल जनसंख्याको झन्डै २० प्रतिशत रहेको छ । र यो नयाँ परिवर्तनले आदिवासी माओरी समुदायलाई कमजोर पार्ने आशंका गरिएको छ ।
हाना रावहितीको यो कदमले न्युजिल्याण्डको राजनीतिमा मात्र होइन, विश्वभर आदिवासी अधिकार र परम्परागत संस्कृतिको संरक्षणको विषयमा बहस सुरु गरेको छ ।
उनको विरोध प्रदर्शनले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ । जनसमुदायबाट उनले राम्रो प्रतिक्रिया पाइरहेकी छिन् । साथै कतिपयले उनी जस्तै सांसद संसद्मा आवश्यक छ भन्दै प्रशंसा गरिरहेका छन् ।
Facebook Comment
Comment