राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान

नेपालभ्युज

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । उनलाई शुक्रबार हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाइ गरेका थिए ।

अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर बिहीबार साँझ उनी दोहा आइपुगेका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी थिए ।

यही कात्तिक २६ देखि सुरु भएको कोप–२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसीक्यूजी)’ रहेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved