काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने एक व्यक्ति पक्राउपछि फरार भएका छन् । ऋषि धमलासँगको टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।
गोरखा स्थायी घर भएर काठमाडौं बस्दै आएका नवराज अर्याललाई निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गरेकाले मङ्गलबार पक्राउ गरिएको थियो । तर, आज भने उनी फरार छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीका अनुसार अर्याललाई सम्बन्धित विषयमा ४ घण्टा सोधपुछ गरेर आज उपस्थित हुने सर्तमा छाडिएको थियो ।
तर, अहिले उनी फरार छन् । उनले मोबाइल घरमै छाडेर हिँडेका छन् । “उहाँको भनाइसँग वास्तविकता मिलेको छैन । उहाँका कुराहरू काल्पनिक देखिन्छन् । आज फेरि उपस्थित हुने सर्तमा छाडेका थियौँ,” बोगटीले भने ।
प्राइम टेलिभिजनको अन्तर्वार्तामा पुगेका अर्यालले आफूले १६ जना मन्त्रीको गाडी चलाएको र त्यही क्रममा कञ्चनपुर पुग्दा त्यो घटना देखेको दाबी गरेका थिए ।
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ । उनले ऋषि धमलालाई समेत ढाँटेर अन्तरवार्ता दिएको हुनसक्ने बताइएको छ ।
टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला समेत सीआईबीको नियन्त्रणमा छन् । अहिले धमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।
सीआईबी स्रोतले भन्यो, ‘अन्तरवार्तामा प्रसारित सामग्रीको विषयमा सोधपुछको लागि मात्र बोलाएका हौँ । उहाँसँग काम सकिएपछि घर जानुहुनेछ ।’
Facebook Comment
Comment