मैले कति पटक डोनाल्ड ट्रम्पलाई गनेँ, अब म त्यसको गणना गर्न पनि सक्दिनँ । प्रत्येक पटक मेरो सोचलाई चकित पार्दै उनी झन् बलियो भएर आए । जबकि, म ठान्थेँ कि उनी कमजोर भएर जानेछन् ।
मैले ठानेकी थिएँ कि सन् २०१६ मा ‘एक्सेस हलिउड टेप’पश्चात् उनी राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर हुनु पर्नेछ ।
मलाई लागेको थियो, सन् २०२१ जनवरी ६ को क्यापिटल हिल आक्रामणलाई उक्साएपछि उनी निर्वासनमा जानु पर्नेछ ।
मैले सोचेकी थिएँ कि महिलाको प्रजनन अधिकार खोस्ने धार्मिक कट्टरपन्थीहरूलाई सर्वोच्च अदालतमा लग्ने निन्दनीय कदमबापत् उनको वापसी योजना विफल हुनेछ ।
मलाई लागेको थियो कि उनको अन्तिम हप्ताको बेलगाम, अभद्र र नियन्त्रणहीन चुनावी अभियान उनलाई परास्त गर्न काफी कारण हुनेछ ।
तर, ट्रम्प यस्ता कुनै ‘सुन्तले धुवाँ’ मा निस्सासिन परेन । मलाई लागेको थियो, मतदाता ट्रम्प महोदयबाट विमुख भइसकेका छन् तर, हैन रहेछ । उनले त झन् धेरै मतदातालाई लोभ्याउन सके ।
ट्रम्प, जेडी भान्स र उनीहरूको र्यालीका हल्लाबाजहरू धेरै वटा मतदाता क्षेत्रलाई खुइल्याउन पाउँदा खुसी छन् ।
हामीले अब यो बुझ्न नसकेको कुरा बुझ्नैपर्ने हुन्छ । सबै प्रकारका स्त्रीद्वेषी, जातिवादी, असभ्य र अलोकतान्त्रिक कुरा उनले भने, गरे । तिनले मतदाताका बीच उनको लोकप्रियता र अपिललाई कम गरेन । उनी फेरि हाम्रो राष्ट्रपति भएका छन् ।
अब हामी आफ्नो सिटबेल्ट आफैँ बाँधौँ । किनकि, हामी एक उबड़-खाबड़ अमेरिका हुँदै गुज्रिने छौँ । हामीले अब यो स्वीकार गर्नु पर्दछ कि हामी नचाहौँला तर, धेरै अमेरिकी ट्रम्प नै सत्तामा हुन् भन्ने चाहन्छन् । अधिकांश अमेरिकीलाई ट्रम्प मन परेको छ र हामी उनीहरूको चाहनालाई अपमान गर्न सक्दैनौँ ।
ट्रम्पले ल्याटिनो र अश्वेत दुबै खालका पुरुष मतदाताको समर्थन बढाएका छन् । तिनलाई थाहा थियो कि उनी त्यस्ती महिलासँग चुनाव लड्दैछन्, जो पहिलो अश्वेत महिला राष्ट्रपति हुने दौडमा छन् । एक नयाँ इतिहास बनाउनेछिन् । यो ज्ञान हुँदाहुँदै पनि उनीहरूले ट्रम्पलाई नै भोट दिन मन पराए ।
रिपब्लिकनहरूले त ट्रम्पको अर्थतन्त्र र सीमा नीतिलाई अनुमोदन गर्न ‘पुरुषलाई महिलाको खेलबाट बाहिर राख्नु’पर्ने भइहाल्यो । ट्रम्पको धोकाधडीसँग नलठ्ठिने अन्ततः कोही रहेन ।
अश्वेत पुरुष नै अश्वेत महिलालाई सबैभन्दा शक्तिशाली पदमा राख्न हिच्किचाउँछन् भने अरुको आशा गर्नु किन ? अन्यथा एक अश्वेत महिलालाई त्यो पदमा राख्ने ऐतिहासिक अवसर त थियो ।
जस्तो कि सीएनएनमा बेन जोन्सले भने, “यहाँ त्यस्ता धेरै अफ्रिकी-अमेरिकी महिला छन्, जो ‘अझ धेरै चोट पाउन अझ धेरै आशाको व्यापार गर्दछन् ।”
जस्तो कि जेम्स कार्निभले चेतावनी दिएका छन्, “डेमोक्रेटिक पार्टीले अर्ती-उपदेश छाँट्ने महिलालाई अघि सार्न बन्द गर्नु पर्दछ ।” तर, त्यसपछि पनि बाराक र मिचेल ओबामाले अश्वेत पुरुषलाई मोह जताएर यो यथार्थलाई लुकाउन खोजिरहेका छन् ।
जस्तो कि मिसेल ओबामाले भनेकी छन्, “हामीलाई पुरुषसँग हाम्रो जीवनका लागि अझ राम्रो गरून् भनेर माग गर्ने अधिकार छ । हाम्रो जीवन उनीहरूको क्रोध र निराशाभन्दा बढी मूल्यवान् छ ।”
चुनावी अभियानका अन्तिम दिनतिर ट्रम्पको भाषा गाढा अँध्यारो हुँदै गएको थियो । उनी अपमानपूर्ण वाक्य सजिलै बोल्न सक्ने भएका थिए । यस पटकको चुनावी अभियान लैङ्गिक युद्धजस्तो बनेको थियो । कमला ह्यारिसले वियोन्से, ओपरा विन्फ्रे र लेडी गागाका साथ चुनावी अभियान समापन गरिन् । अर्कोतिर ट्रम्प-भान्सले भने ‘ब्रो-इकोसिष्टम’ को दुलोभित्र सयर गर्दै जो रोगर्सलाई अङ्गालो हाले ।
मतदान अन्त्य हुन केही बेर बाँकी हुँदा ट्रम्पका सल्लाहकार स्टिफन मिलरले ट्वीट गरे, “यदि तपाईं कुनै यस्तो पुरुषलाई चिन्नुहुन्छ, जसले मतदान गरेको छैन भने उसलाई मतदान केन्द्रमा लिएर जानु होला ।”
नर्थ क्यारोलिनाको एक मतदान केन्द्रमा एक युवाले सीएनएनलाई अनौठो प्रतिक्रया दिए । उनले भने कि आफ्नी गर्लफ्रेन्डका कारण कमला ह्यारिसलाई भोट गर्न बाध्य भए । यदि उनले कमला ह्यारिसलाई भोट दिँदैनथे त उनकी प्रेमिकाले उनीसँगको सम्बन्ध नै तोड्न सक्थिन् । तर, यी कुनै पनि ‘लिसिस्ट्राटा रणनीति’ ले अन्ततः काम गरेनन् ।
सीएनएन एक्जिट पोलका अनुसार ५४ प्रतिशत पुरुषले ट्रम्पलाई र ५४ प्रतिशत महिलाले ह्यारिसलाई भोट दिए । ह्यारिस रणनीतिको एक अङ्ग महिला मतदातालाई अनुकूल गर्न सकिन्छ भन्ने थियो । तर, ह्यारिसले अपेक्षा गरेका धेरै अर्धसहरिया क्षेत्रका महिलाले ट्रम्पलाई नै भोट दिए ।
रोचक कुरा के हो भने महिला भोटमा ह्यारिसले उल्लेखनीय दूरीसहितको अग्रता बनाउन सकिनन् । बरु महिलालाई उनीबाट अलगावमा राख्न रिपब्लिकनले हरसम्भव कोसिस गरे । ट्रम्प-भान्सले ह्यारिसको बारेमा कुनै पनि छुद्र वचन प्रयोग गर्न बाँकी राखेनन् । यहाँसम्म कि भान्सले ‘निसन्तान महिला’ समेत भन्न भ्याए । ‘अल्छी’, ‘बोक्सी’, ‘बोधो दिमागकी’ आदि इत्यादि सबै ।
भान्सको व्यवहार रहस्यमय थियो । उनी ४० वर्षका शिक्षित हुन् । उनकी प्रिय पत्नीको वकिलको शक्तिशाली करिअर थियो । तर, उनी चुनावी अभियानमा महिलाविरुद्ध सन् १९५० को दशकका शब्द प्रतिनिधित्व गर्थे । उनले ‘बालबच्चाविहीन विराली महिला’ भने ।
७८ वर्षीय ट्रम्प लस भेगसको एक कार्यक्रममा जेम्स ब्राउनको गीत— ‘यो पुरुषको, पुरुषको, पुरुषको दुनियाँ हो’ बज्दै गरेको पष्ठभूमिमा प्रवेश गरेका थिए ।
ट्रम्प र कमलाले लोकतन्त्र र विधिको शासनबारे ठीकविपरीत धारणा प्रस्ताव गरे । उनीहरूमा शैलीगत भिन्नता थियो । ट्रम्प नियन्त्रण बाहिर थिए । ह्यारिस आत्म-नियन्त्रणको उदाहरण बनिरहेकी हुन्थिन् । उनी यति आत्म-नियन्त्रित थिइन् कि यदाकदा मञ्चमै अपारदर्शी लाग्दथिन् ।
धेरै मतदाताले उनको देशसम्बन्धी सोच के हो भन्नेबारे प्रष्टता नभएको गुनासो गर्थे । उनलाई सुन्दा मनमा गतिलो अनुभूति र आत्मविश्वास पैदा नहुने बताउने कम थिएनन् । ह्यारिसका सन्देश भ्रामक र सपाट भएका हुन सक्दछन् ।
जो बाइडनको दौड परित्यागपछि ह्यारिसले चुनावी अभियान छोटो समयमै तानेकै हुन् । तर, देशलाई कता लैजान चाहन्छिन्, उनी राष्ट्रपति बने के हुन्छ ? त्यसको गतिलो, स्थिर र चित्तबुझ्दो उत्तर उनीसँग थिएन ।
व्यक्तिगत रूपमा डेमोक्र्याट्सहरू भित्रभित्रै चिन्तित थिए । ती ठान्थे कि दुई स्वीङ स्टेटका गभर्नर पार्टीका बलिया उम्मेदवार हुन सक्थे । यस स्थितिका लागि राष्ट्रपति बाइडन धेरै आरोपका हकदार छन् । उनी स्वार्थी र व्यर्थ थिए । उनी घरमा बसेर आफ्नै शत्रुहरूको सूचीलाई रङ्गरोगन गर्दै थिए ।
उनले आफ्नो कार्यकालमा आफ्नो पार्टी, आफ्नो विरासत र आफ्नो देशलाई चोट पुर्याए । कार्यकालको सुरुमै उनले दोस्रो कार्यकालमा चुनाव लड्ने छैन भनेर प्रष्ट गरिदिनुपर्थ्यो । त्यसो भए पार्टीका सबै चम्किला ताराहरूले आन्तरिक प्रतिस्पर्धा गर्न पाउँथे । त्यसो भएको भए डेमोक्र्याट्सहरूले लोकतन्त्रको रक्षा गर्न सक्ने सबैभन्दा शक्तिशाली उम्मेदवार रोज्न सक्थे ।
ह्यारिससँग प्रमाणित गर्नुपर्ने भयानक कुराको सूची लामो थिए तर, ती प्रमाणित गर्न समय छोटो थियो । उनले ह्यारिस ट्रम्पजस्ती छैनन् भन्ने अर्थमा पनि धेरै मतदाता छोटो समयमै तानिन् तर, कतिपय मतदाताका लागि त्यति कुरा पर्याप्त भएन ।
उनले एक बडो शक्तिशाली भनाइ राखेकी थिइन्, “ट्रम्प शत्रुहरूको नामको सूची बोकेर ह्वाइट हाउस आउने छन्, म गर्नुपर्ने कामको सूची बोकेर ह्याइट हाउस जानेछु । उनले अमेरिकालाई ब्युँझाउनेछन्, बदला लिने हैन ।”
जब जो बाइडन निर्वाचन दौडमा छँदै थिए र ट्रम्पमाथि गोली हानी हत्या प्रयास भएको थियो, ट्रम्प दबाबमा देखिन्थे । तर, जब बाइडनले दौड छोडेर ह्यारिसलाई अघि सारे ट्रम्प सारा सीमा र नियन्त्रण नाघेर आक्रामक हुँदै गए ।
टक्कर कार्लसन, रोवर्ट एफ केनेडी जुनियर र एलन मस्कले ट्रम्पका लागि थप मतदाता जुटाए । ट्रम्पले सन् २०२० मा भन्दा सबै जनसाङ्ख्यिक क्षेत्रमा राम्रो गरे, ह्यारिसले सन् २०२० मा बाइडनको भन्दा नराम्रो प्रदर्शन गरिन् ।
सीएनएनको एक सर्वेक्षणअनुसार ५८ प्रतिशतले बाइडनलाई अनुमोदन दिएनन् । ४३ प्रतिशत मतदाता उनीसँग रिसाएका र आक्रोशित थिए । बाइडनकालमा देशले सही दिशा नसमातेको तिनको धारणा थियो ।
कमलाको तौल बाइडनसँग जोडियो र पछारियो । उनले कहिल्यै यी अलोकप्रिय राष्ट्रपतिबाट आफूलाई टाढा गर्न सकिनन् । मानिसलाई परिवर्तनको प्रेरणादायी दुरदृष्टि प्रस्तुत गर्न सकिनन् । ट्रम्पले आफ्ना समर्थकका लागि परिहासपूर्ण र अनौठा टिप्पणी गरे, जसले उनीमाथिको ‘फासिष्ट’ को आरोप फिका बनाइदियो ।
ट्रम्पको व्यक्तित्वमा ‘ढाँट मान्छे’ र ‘नाटकी मान्छे’ को समिश्रण छ । मलाई उनी सधै एक ‘नक्कली केटो’ जस्तो लाग्दछन् तर, उनलाई स्रोता र मतदाताले आत्मस्वाभिमान र विजय हासिल गर्ने क्षमता भएको मान्छे भनेर मन पराउँछन् । जबकि, उनले हारेका पनि छन् ।
अक्सर राजनीतिज्ञहरू भाषणमा एउटै कुरा दोहोर्याउँछन् । तीभन्दा फरक ट्रम्प समर्थकसँग सहज, स्वीकारोक्तिपूर्ण र घनिष्ठ तरिकाले कुरा गर्दछन् । ट्रम्पका नजिकका साथी धेरै छैनन् । तर, उनको र्यालीमा गएका मान्छेसँग उनी साथीजस्तै भएर कुरा गर्दछन् । ती मान्छेलाई लागेको हुन्छ कि डेमोक्र्याटिक पार्टीका सम्भ्रान्तहरू उनीहरूलाई साथी ठान्दैनन् ।
ट्रम्प एक अर्बपति हुन् । उनको जीवन सुनौलो र चम्किलो छ । तर, पनि खाना र आवासका लागि सङ्घर्ष गरिरहेका मानिसलाई उनीहरूको नेता आफैँ हो भन्ने अनुभूति गराउन सक्दछन् ।
बिल क्लिन्टनलाई जस्तै ट्रम्पलाई पनि आफूलाई मन पराउने मान्छेसँग अन्त्यहीन ढङ्गले कुराकानी गर्न मन पर्दछ । धेरै राजनीतिज्ञ यो छवि बनाउन चाहन्छन् कि धेरै लामो कुरा गर्न सकिँदैन । ट्रम्पको आत्ममुग्धता भीडद्वारा उत्प्रेरित छ । उनीमाथि ३४ अपराधका मुद्दा छन् । तर, उनको भीड-प्रेम र आत्मविश्वास सधैँ उस्तै हुन्छ ।
मान्छेलाई लाग्छ कि ट्रम्प रमाइला छन् र उनीसँग आफ्ना कुरा निर्धक्क भन्न सकिन्छ । र भन्दाभन्दै केही नराम्रो भनियो भने पनि ट्रम्प त हुन केही फरक पर्नेवाला छैन । तिनलाई लाग्छ कि ट्रम्पले केही गरिरहेका छन् भने पक्कै नराम्रो गरिरहेका छैनन्, राम्रै गर्न खोजेको हुनु पर्दछ ।
पक्कै यहाँ एक उच्चस्तरको ‘ग्लास सिलिङ’ छ र त्यो चकनाचुर पनि हुनेछ तर, कुनै दिन आज हैन । ‘म्याडम प्रेसिडेन्ट’का लागि अर्को समय पर्खिन पर्नेछ । मानेँ मैले यो दुनियाँ अझै पनि पुरुषहरूकै हो ।
(द न्यूओर्क टाइम्सबाट संक्षेपीकृत अनुवाद)
Facebook Comment
Comment