‘मरेको मान्छे बचाउँछु’ भन्ने गफाडी विजय शाहीको ‘कमब्याक’, उद्योग मन्त्रीकै साथ !

वर्ष दिनअघि ‘मरेको मान्छे बचाउने’ भन्दै भ्रम फैलाएपछि गुमनाम उनी फेरि चर्चामा आउन मन्त्रीमै साथमा देखिएका छन् । उनी पहिलेजस्तै छिटोभन्दा छिटो पुस्तक पढेर रेकर्ड राख्ने दाबी गर्दै ‘कमब्याक’ भएका हुन् ।

नेपालभ्युज

‘मरेको मान्छे बचाउँछु’ भन्ने गफाडी विजय शाहीको ‘कमब्याक’, उद्योग मन्त्रीकै साथ !

काठमाडौं । ठगी प्रयोजनका लागि अद्भुत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही १५ घण्टामा ३०० बढी पुस्तक पढेर रेकर्ड राख्न भन्दै ‘कमब्याक’ भएका छन् ।

वर्ष दिनअघि ‘मरेको मान्छे बचाउने’ भन्दै भ्रम फैलाएपछि  गुमनाम उनी फेरि चर्चामा आउन मन्त्रीमै साथमा देखिएका छन् । उनी पहिलेजस्तै छिटोभन्दा छिटो पुस्तक पढ्न सक्ने दाबी गर्दै ‘कमब्याक’ भएका हुन् । उनले नयाँ रेकर्ड राख्दै दाबी पनि गरेका छन् ।

उनले शनिबार १५ घण्टामा ३०० भन्दा बढी पुस्तक पढ्ने भन्दै उद्योगमन्त्री दामोदर भण्डारीलाई बोलाएका थिए । शनिबार कीर्तिपुरस्थित ‘इम्पसिबल टु पसिबल रिसर्च सेन्टर’को कार्यालयमा विजय शाहीले उद्योगमन्त्री भण्डारीकै अघि पुस्तक पढ्न सुरु गरेका थिए ।

‘इम्पसिबल टु पसिबल रिसर्च सेन्टर’ भन्ने संस्था मरेको मान्छे व्युझाँउने संस्था भन्दै विजय शाहीले भ्रम छर्दै गफ दिँदै आएका छन् ।

अहिले पुस्तक पढ्न थालेका विजय शाहीले गरेको दाबीलाई धेरैले मजाकमा उडाइरहेका छन् । सामाजिक सञ्जालमा अपलोड गरिएका फोटो भिडिओमा उनलाई अत्यधिक नकारात्मक कमेन्ट र गालीगलौज भइरहेका छन् ।

तर, पुस्तक पढ्न सुरु गर्नुअघि उनले ‘च्याम्पियन बुक अफ द वल्ड रेकर्ड’मा आफूले रेकर्ड कायम गरिसकेको दाबी गरेका थिए । तर, ‘च्याम्पियन बुक अफ द वल्ड रेकर्ड’को वेब साइटमा उनको नाम कतै उल्लेख देखिँदैन ।

‘मरेको मान्छे बचाउँछु’भन्ने गफाडीलाई मन्त्रीकै साथ

वर्ष दिनअघि विजय शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँकेका थिए । उनले भनेका थिए, ‘मान्छे मरेको ८ घण्टाभित्र खबर गर्नुस्, कुदेर आउँछौँ र फेरि जीवित पार्छौँ ।’

‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौँ । पूर्वमन्त्रीज्यू आफैँले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ विजय शाहीले भनेका थिए । चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । यसका लागि भर्खरै मरेको ताजा लास खोज्न अस्पताल जान लागेको उनले बताए ।

आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरेपछि उनलाई कतिपयले ‘मानसिक सन्तुलन गुमाएको’देखि भाइरल हुन जे पनि गर्ने भन्ने आरोप लगाएका थिए ।

विजय शाही कुनै पनि पुस्तक एकैछिन पल्टाएको भरमा कन्ठाग्र पार्न सक्ने दाबी गरेर चर्चामा आएका थिए । सुरूमा सबैको प्रशंसा पाएका थिए । पछि उनको क्षमतामाथि धेरै प्रश्नहरू उठेपछि मानिसहरूकै अगाडि पढेर भन्न भन्न लगाइएको थियो ।

तर उनले त्यो नसकेपछि स्क्याम गरेको पुष्टि भएको थियो । उनलाई ठगको संज्ञासमेत दिइयो । सम्झिने गरी पुस्तक पढ्ने सूत्र सिकाउने भन्दै विजय शाहीले सयौँ विद्यार्थीबाट शुल्क समेत असुल गरेका थिए ।

उनले झुटो प्रचार गरेर पैसा उठाएको भन्ने थाहा भएपछि केही पैसा फिर्ता गरेका थिए । तर केही पीडितले अझै फिर्ता पाएका छैनन् ।

त्यसपछि उनी गुमनाम भएका थिए । एक पटक त उनले आफ्नो मृत्यु भएको भन्दै हल्ला फैलाउन लगाएका थिए । सुतेर नाकमा कपास कोचेर फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएका थिए । तर, प्रहरीले उनकै घरमा सकुशल फेला पारेको थियो ।

तीनै गफाडी विजय शाहीको अर्को फण्डामा सरकारकै उद्योगमन्त्री भण्डारीले साथ दिएका छन् । मन्त्रीलाई अघि राखेर पुस्तक पढेपछि धेरैले पत्याउलान् भन्ने विजय शाहीको स्वार्थ थियो । त्यसको लागि मन्त्रीले उनलाई सहयोग गरेको देखिएको छ ।

यो घटनापछि कतिपयले मन्त्रीलाई व्यङ्ग गरिरहेका छन् । समाजशास्त्री निर्मला ढकालले फेसबुकमा लेखेकी छन्, ‘सम्मानित र फुर्सदिला आदरणीय मन्त्रीज्यूबाट सम्मान पाएकोमा श्री विजय शाही भाइलाई बधाई । उन्नति प्रगति हुँदै जाओस्, यी मन्त्रीहरू भाइको पाउ पर्ने होउन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved