काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टी संसारकै सर्वाधिक पुराना राजनीतिक दलमध्ये एक हो । १९० वर्ष पुरानो यो पार्टी ‘टोरी दल’ को उत्तराधिकार थियो । ‘टोरी इतिहास’ लाई समेत गणना गर्दा यो झनै पुरानो हुन्छ ।
बेलायती राजनीतिमा टोरी दल जति पुरानो छ, देशको राजनीतिक परिदृश्यमा भने निरन्तर अस्तित्ववान् र शक्तिशाली छ । १४ वर्ष लामो सत्ता नेतृत्वबाट भर्खरै प्रमुख प्रतिपक्षको भूमिकामा धकेलिएको छ । बेलायतको इतिहासमा सबैभन्दा धेरै प्रधानमन्त्री यही दलले दिएको छ ।
शताब्दीऔं पुरानो दलको नयाँ नेतामा भने ४४ वर्षीया केमी बेदुनोक निर्वाचित भएकी छन् । उनी अफ्रिकी मूलकी एक अश्वेत महिला हुन् । पार्टीभित्रको निरन्तर नेतृत्व सङ्कटले उनलाई यो अवसर दिएको हो ।
कन्जर्भेटिभ पार्टीको नेतृत्व सङ्कट सन् २०१६ को ब्रेक्जिटबाट सुरु भएको थियो । बेलायती जनताको ब्रेक्जिट निर्णय ठीक साबित भयो वा गलत त्यसबारे बहस आफ्नो ठाउँमा छँदैछ । तर, यो घटनाले प्रभावशाली प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता डेबिट क्यामरुन पार्टी र राज्यसत्ताको नेतृत्वबाट बाहिरिन बाध्य भएका थिए ।
क्यामरुन ब्रेक्जिटको विपक्षमा थिए । उनी बेलायतलाई युरोपेली सङ्घमा कायम राख्न चाहन्थे । तर, उनको पार्टीभित्रै ब्रेक्जिट पक्षधरको यस्तो आँधी चल्यो, उनले त्यसलाई थेग्न सकेनन् । बरु नेतृत्व परित्याग गर्न राजी भए । त्यसयता यो ब्रेक्जिट पक्षधरको हातमा पुगेको छ ।
तर, पार्टीमा दीगो, प्रभावशाली र विश्वसनीय नेतृत्वको जन्म भने हुन सकेको छैन । क्यामरुनपछि थेरेसा मे र बोरिस जोनसन करिब ३-३ वर्ष पार्टी नेता तथा देशको प्रधानमन्त्री रहे । तर, यी त्यति धेरै प्रभावशाली हुन भने सकेनन्, जति क्यामरुन थिए ।
थेरेसा मे एक औसत प्रधानमन्त्री तथा पार्टी नेता थिइन् । तर, बोरिस जोनसनबारे मान्छेका फरक धारणा र अपेक्षा थिए । जोनसन तिनै व्यक्तित्व थिए, जसले पार्टीभित्र क्यामरुनको भन्दा फरक वैचारिक धारको प्रतिनिधित्व गर्थे । ब्रेक्जिटको पक्षमा एक आक्रामक अभियानकर्ता थिए ।
सन् २०१९ को चुनावमा गतिलो बहुमतसहित उनी सत्तामा आए तर, अपेक्षा बमोजिमको बलियो प्रधानमन्त्री भने हुन सकेनन् । कोभिड–१९ कालीन सङ्कट, अर्थतन्त्रमा शिथिलता, पार्टीभित्र बढ्दो विवाद र असन्तोषका कारण जोनसनले करिब ३ वर्षमै सत्ता छोड्नुपर्यो ।
उनीपछि आएकी लिज ट्रसले ५० दिनमै सत्ता छोडिन् । त्यसपछि ऋषि सुनक आए । सुनकले पहिलो गैरइसाई, हिन्दू, पहिलो एसियाली तथा भारतीय मूलको प्रधानमन्त्रीको रकर्ड त बनाए तर, उनको शासनकाल भने सन्तोषजनक रहेन । सुनक करिब २ वर्षमात्र सत्तामा रहन सके ।
गत जुलाईको निर्वाचन जो कन्जर्भेटिभ प्रधानमन्त्री सुनकको आफ्नै रोजाइ थियो । उनले आफ्नो सरकारको सहजतामा ‘अर्ली इलेक्सन’ गराएका थिए । तर, परिणाम उल्टो आयो । पार्टी पराजित र सत्ताबाट बाहिरन बाध्य भयो । १४ वर्षपछि विपक्षी लेबर पार्टी प्रचण्ड बहुमतसहित सत्तामा फर्कियो । लेबर नेता कियर स्टार्मर प्रधानमन्त्री भए ।
यही पृष्ठभूमिमा पुरानो र प्रमुख प्रतिपक्षी दलले आफ्नो नयाँ नेता छानेको छ, केमी बेदुनोक । सत्तारुढ लेबर पार्टीसँग अहिले एकल र प्रचण्ड बहुमत छ । तसर्थ, बेदेनक तत्काल सत्तमा आउने कुनै सम्भावना छैन । तर, प्रमुख विपक्षी दलको नेताका रूपमा उनले कस्तो भूमिका गर्लिन् ? डेबिट क्यामरुनजस्तै एक बलियो कन्जर्भेटिभ नेता बन्लिन् वा त्यसपछिका मे, जोनसन, ट्रस र सुनकजस्तै अल्पकालीन भूमिकामै सीमित होलिन् ? यो बेदेनक सामू खडा भएको मुख्य प्रश्न हो ।
बेदुनोक कन्जर्भेटिभ पार्टीको मूल नेतृत्व प्राप्त गर्ने चौथी महिला भएकी छन् । यसअघि मार्गरेट थ्याचर, थेरेसा मे र लिज ट्रसले यो पार्टीको नेतृत्व गरिसकेका थिए । हो, पहिलो अश्वेत महिलाको रेकर्ड भने अब उनकै नाममा कायम भएको छ ।
दक्षिणपूर्वी लन्डनको विम्बल्डनमा जन्मिएकी बेदुनोक नाइजेरियामा हुर्किकी हुन् । पेशाले उनी कम्प्युटर इन्जिरियर हुन् । नाइजेरियाली मातापिताकी सन्तान बेदुनोक १६ वर्षको उमेरमा जन्म देश बेलायत फर्किएकी थिइन । सन् २००५ मा उनी २५ वर्षको उमेरदेखि कन्जर्भेटिभ पार्टीमा सक्रिय हुन थालेकी थिइन् ।
सन् २०१६ मा उनी ब्रेक्जिट अभियानकर्ता थिइन् । सन् २०१७ देखि उनी सांसद रहँदै आएकी छन् । त्यसअघि उनले सन् २०१२ मा लन्डन एसेम्ब्ली निर्वाचन जितेकी थिइन् ।
सन् २०१७ मा बोरिस जोनसनले पहिलोपटक मन्त्री बनाएकी बेदुनोक त्यसपछिका लिज ट्रस र ऋषि सुनक सरकारमा पनि मन्त्री थिइन् ।
यो बेलायती राजनीतिको रमाइलो संयोग हो कि पहिलो गैरइसाई, हिन्दू, एसियन वा भारतीय मूलको नेता तथा प्रधानमन्त्री कन्जर्भेटिभ पार्टीबाटै आएका थिए । पहिलो अफ्रिकी मूलको अश्वेत महिला नेता पनि यही पार्टीबाट आएकी छन् ।
सत्तारुढ लेवर पार्टीसँग यद्यपि यस्ता अभिलेख छैनन्, जो कन्जर्भेटिभभन्दा बढी उदार र प्रगतिशील मानिन्छ । सायद त्यसैले हुन सक्दछ, लेबर नेता तथा प्रधानामन्त्री स्टार्मरले बेदुनोकलाई बधाई शुभकामना दिँदै ‘देशकै लागि गौरवको कुरा’ भनेका छन् ।
बेलायती परम्परामा प्रधानमन्त्री र विपक्षी नेताले संसदीय कारबाहीमा नजिकको सम्बन्धमा रहेर काम गर्नुपर्ने हुन्छ । ऋषि सुनक र स्टार्मरको सम्बन्ध पनि रोचक र सुमधुर थियो । यी एर्काअर्काको नीतिगत आलोचना गर्थे तर, एकअर्कालाई उत्तिकै सम्मान र सार्वजनिक रूपमै प्रशंसा गर्थे ।
कन्जर्भेटिभ पार्टी नेताको चुनावमा बेदुनोक रोबर्ट जेनरिकलाई पराजित गरेकी हुन् । उनले ५३ हजार ८०६ पार्टी सदस्यको मत पाइन् । जुन ५६.५ प्रतिशत थियो । जेनरिक ४१ हजार ३३८ अर्थात् ४३.५ प्रतिशत मतमा सीमित भएका थिए । बेदुनोकसँगै जेनरिक पनि जोनसन, ट्रस र सुनक सरकारमा मन्त्री थिए । तसर्थ, यो निर्वाचन नजिकका सहकर्मी बीचको ‘नरम भिडन्त’ थियो ।
कन्जर्भेटिभ पार्टीभित्र अहिले त्यति चर्को वैचारिक सङ्घर्ष र तनाव छैन, जुन ब्रेक्जिट अवधिमा थियो । जुलाईको शर्मनाक हारपछि पार्टीमा एक प्रकारको सन्नाटा र निराशा छाएको छ ।
पार्टीप्रतिको निष्ठा, निरन्तरता र अथक सङ्घर्षलाई बेदुनोकको विजयको मुख्य कारण मानिएको छ तर, यति कारणले मात्र उनी यो पदका लागि सान्दर्भिक भइरहने छैनन् ।
उनले बेलायती संसद्मा अब प्रमुख प्रतिपक्षी नेताको भूमिका गर्नुपर्ने छ । आगामी निर्वाचनमा पार्टीलाई सत्तामा फर्काउन सकिने सम्भावना सृजना गर्नुपर्ने छ । अन्यथा त्यसपछिका दिनमा उनलाई यो पदमा रहिरहन सम्भव नहुन सक्छ ।
ब्रेक्जिट अवधिमा उनी बोरिस जोनसनको कट्टर समर्थक थिइन् । तसर्थ, उनलाई एक अल्पसङ्ख्यक समुदायकी नेताका रूपमा मात्र हेर्न मिल्दैन । ऋषि सुनकपछि बेदुनोकलाई पार्टी नेता छनोट गरेर कन्जर्भेटिभ सदस्यहरूले फराकिलो र उदार हुँदै गएको सोचको परिचय दिएका छन् । उनी अल्पसङ्ख्यक समुदायकी भए पनि पार्टीभित्र राजनीतिक तथा वैचारिक रुपमा उनी मूलधार नेताका रूपमा स्थापित छन् ।
अफ्रिकन अश्वेत समुदायकी पहिलो पुस्ता आप्रवासीका रूपमा रोजेको विचारधाराले बेदुनोकलाई कन्जर्भेटिभ पार्टीको नेताका रूपमा स्वीकार्य बनाएको छ । देशकै प्रधानमन्त्रीका रूपमा स्वीकार्य हुन भने उनी सामु थुप्रै चुनौती छन् । त्यसका लागि भने उनमा असीम धैर्यता, गतिशीलता र सक्रियता आवश्यक पर्ने छ ।
नेतामा निर्वाचित भएसँगै उनले पार्टीबाट टाढिएका मतदातालाई फेरि नजिक ल्याउनु आफ्नो पहिलो राजनीतिक कर्तव्य भएको बताएकी छन् । तर, त्यो काम उनले कसरी गर्लिन् ? सबैको जिज्ञासा यही प्रश्नमा छ । बेदुनोकको दाबी छ कि त्यो काम ‘इमान्दारिताबाट सम्भव’ हुनेछ ।
उनी भन्छिन्, “इमान्दारिताका साथ हामीले आफ्नो हिजोका गल्ती पनि स्वीकार गर्नु पर्दछ । हाम्रो पार्टीको इतिहास र भविष्य देशको इतिहास र भविष्यसँग जोडिएको यथार्थ म मतदातालाई स्मरण गराउन सफल हुनेछु ।”
बेदुनोक विगत करिब १० वर्षयता छैटौँ कन्जर्भेटिभ नेता हुन्, जबकि यसबीचमा प्रतिस्पर्धी लेबर पार्टीमा भने जेरेमी कोर्विन र वर्तमान प्रधानमन्त्री कियर स्ट्रार्मर गरी २ जना मात्र नेता भएका छन् ।
पूर्वप्रधानमन्त्री बोरिस जोनसन बेदुनोकको चयनले पार्टी पुनर्जीवित हुने अपेक्षा गर्दछन् । उनी भन्छन्, “बेदुनोकमा प्रष्टता र साहस छ र अहिले हाम्रो पार्टीलाई चाहिएको पनि त्यही गुण हो ।”
बेलायती राजनीति हिजोको जस्तो यतिखेर लेबर र कन्जर्भेटिभ दुई दलीय ध्रुवीकरणमा सीमित छैन । गत जुलाईको निर्वाचनबाट तेस्रो लिबरल डेमोक्रेटिक पार्टी ७२ सिट र १२.२ प्रतिशत भोटसहित उल्लेखनीय शक्तिको रूपमा विकास भएको छ ।
गत निर्वाचनमा कन्जर्भेटिभ पार्टी १२१ सिट र २३.७ प्रतिशत भोटमा सीमित भएको थियो । यो पार्टी इतिहासकै सर्वाधिक खराब नतिजामध्ये एक हो ।
लेबर पार्टीको उदय हुनुअघि टोरी र ह्वीङ्ग बेलायतका मुख्य दुई पार्टी थिए । टोरी दलको उत्तराधिकार अहिलेको कन्जर्भेटिभ पार्टी हो भने ह्वीङ्गको उत्तराधिकार लिबरल डेमोक्रेटिक पार्टी । करिब १०० वर्षयता खुम्चिएर बसेको लिबरल डेमोक्रेटिक पार्टीको उल्लेखनीय वृद्धिले कन्जर्भेटिभ पार्टीका चुनौती बढाएको छ ।
बेदुनोकको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले सत्तारुढ लेबर र तेस्रो दल एलडीपीसँग दोहोरो प्रतिस्पर्धा गर्नुपर्ने छ । यसको अर्थ हो कि बेदुनोकले त्यस्तो बेला नेतृत्व सम्हाल्ने अवसर पाएकी छन्, जब पार्टी सर्वाधिक कठिन मोडमा छ । नेतृत्व प्राप्तिको खुसीभन्दा बढी उनलाई राजनीतिक जटिलता र चुनौतीले घेरेका छन् ।
(द गार्जियनको सहयोगमा)
Facebook Comment
Comment