उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

धनुषा । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज (शुक्रबार) बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।

त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।

त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज बिहानै व्रतालु पनि पुनः छठघाटमा पुगेका थिए । जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई उनीहरूले छठ पर्व सम्पन्न गरेका छन् ।

किन महापर्व कहलिन्छ छठ ? यस्ता छन् ११ विशेषताः

१. धार्मिक विश्वासका साथ मनाइने भएकोले यो आस्थाको पर्व हो ।

२. सबै धर्म, वर्ग, लिग र समुदायले छठ मनाउने हुँदा यो धर्म निरपेक्ष पर्व हो ।

३. विश्वव्यापी एकैदिन समान विधिका साथ मनाइने गरिएको हुँदा यो अन्तर्राष्ट्रिय धार्मिक पर्व हो ।

४. व्रतालुहरूको कठोर एकाग्रता र समर्पण हुने गरेको हुँदा यो निष्ठाको पर्व हो ।

५. यस पर्वमा प्रयोग हुने मुख्य प्रसाद (ठेकुवा/भुसवा) आफ्नै घरमा पकाइने हुँदा यो शुद्धताको पर्व पनि हो ।

६. छठमा प्रसादको रुपमा प्रयोग हुने केरा, उखु, सुन्तला, स्याउ, भ्यान्टा, बोडी, मुला, बेसारजस्ता प्राकृतिक प्रकृतिका तरकारी तथा फलफूलले गर्दा यो प्राकृतिको पर्व हो ।

७. स्थानीय जैविक विविधताको प्रयोग गरी मनाइने यो पर्व जैविक विविधताको महत्व दर्शाउने एकमात्र पर्व हो ।

८.  हस्तनिर्मित माटोका पाक वर्तन तथा नाङ्लो, ढकिया, सुपती र डगरीजस्ता बाँसबाट निर्मित भाँडाकुडा/सामग्री प्रयोग हुने भएकोले यो उद्यमशीलता प्रवर्द्धनको पर्व हो ।

९. यो पर्व नदी, नहर, पोखरी, ताल, सिमसारजस्ता जलासयको तटमा मनाइन्छ । यसले गर्दा पर्वताका त्यस्ता जलाशयको सरसफाइ तथा आवश्यक मर्मत गरिन्छ । यसर्थ यो जलाधार व्यस्थापनको पर्व हो । स्वच्छताको पर्व पनि हो ।

१०. यो साक्षात देवता (सूर्य)को पूजा गरिने पर्व हो ।

११. छठ सामाजिक सद्भाव, सहिष्णुता, लोककल्याण, गैरराजनैतिक र वर्ग विभेदरहित पर्व भएकोले यसलाई महापर्व भनिएको हो । (विज्ञसँगको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved