काठमाडौं । आज नोभेम्बर ५ मङ्गलबार, अमेरिकामा ४७औं राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । अमेरिकामा करिब साढे २४ करोड मतदाता छन् । ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा छ । ७ करोड ५० लाखभन्दा धेरैले ‘अर्ली भोटिङ’ गरिसकेका छन् ।
चुनाव अमेरिकामा भए पनि नतिजाको विश्वभरि प्रतीक्षा भइरहेको छ । विश्वले नै यो निर्वाचनको परिणाम व्यग्रतापूर्वक पर्खिरहेको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा विश्वभरिका देशबाट त्यहाँ पुगेका आप्रवासी र तिनका सन्तानले समेत मतदान गर्नेछन् । निर्वाचन परिणाममा एसियाली, अफ्रिकी र हिस्पानिक मतदाताको पनि उल्लेखनीय सहभागिता हुनेछ । यस कारणले पनि अमेरिकी निर्वाचन विश्वकै लागि रोमाञ्चक बन्न पुग्दछ ।
एसियालीमध्ये भारतीय र चिनियाँ मूलका मतदाता उल्लेखनीय सङ्ख्यामा रहेको बताइन्छ । यी दुबै प्रकारका मतदाता ५०-५० लाखभन्दा बढी छन् । २५ हजारभन्दा बढी नेपाली मूलका मतदाताले समेत मतदान गर्दैछन् ।
दुबै मुख्य दलका मुख्य प्रतिस्पर्धी उम्मेदवार आप्रवासीका पहिलो पुस्ताका सन्तान हुन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जर्मन बुबा र स्कटिस आमाका सन्तान हुन् । उनकी पत्नी मेलानिया ट्रम्प स्लोभानियाली मूलकी हुन् । भलै कि ट्रम्पको राजनीतिक विचारधारा स्थानीय राष्ट्रवाद हो ।
डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस भारतीय आमा र जमैकाली बुबाकी छोरी हुन् । उनमा एसिया र अफ्रिकाको मिश्रण छ । तर, दुबै उम्मेदवार अल्पसङ्ख्यक समुदायको हैसियतले हैन, मूलधारको राजनीतिज्ञका रूपमा यहाँसम्म आएका हुन् ।
चुनाव अमेरिकामा हुन्छ तर, विश्वभरि यसबारे चर्चा, जिज्ञासा र उत्सुकता पैदा हुन्छ । त्यसको कारण निर्वाचन परिणामले विश्वमा पार्न सक्ने प्रभाव नै हो ।
ट्रम्प सन् २०१६ का निर्वाचित राष्ट्रपति हुन् । ह्यारिस सन् २०२० कि निर्वाचित उपराष्ट्रपति । यसर्थ, दुबै उम्मेदवारको आ-आफ्नै ओज छ । दुबैले अमेरिकी राजनीतिको दुई धारलाई मात्र प्रतिनिधित्व गर्दैनन्, विश्व राजनीतिसमेत फरक-फरक सोच, प्रवृत्ति र धारणाको प्रवर्द्धन गर्न खोज्दछन् ।
तर, विश्व यो कुराबाट पनि परिचित छ कि जसले जिते पनि अमेरिकी सोच, संविधान र प्रणालीको सीमा नाघ्न तिनलाई सजिलो हुने छैन । ट्रम्प एक परिक्षित व्यक्तित्व हुन् । उनले ४ वर्ष देशको नेतृत्व गर्दा के-कस्ता नीति अघि बढाएका थिए भन्ने विषयमा विश्व जानकार छ ।
त्यसो त ह्यारिस पनि नयाँ पात्र हैनन् । बाइडन प्रशासनमा उपराष्ट्रपतिका रूपमा उनको भूमिकाबाट सोच र कार्यशैलीको यथेष्ट अनुमान गर्न सकिन्छ । यद्यपि, उपराष्ट्रपति आफैँमा पूर्ण जिम्मेवारी थिएन । तसर्थ, राष्ट्रपतिका रूपमा ह्यारिस एक नयाँ व्यक्तित्व हुनेछिन् ।
ह्यारिसले जितेमा पहिलो महिला र दोस्रो अश्वेत राष्ट्रपतिको रेकर्ड बन्नेछ । करिब अढाई सय वर्ष लामो इतिहासमा एक जना पनि महिला राष्ट्रपति निर्वाचित हुन नसक्नु अमेरिकी लोकतन्त्रको अपूर्णता हो । अश्वेत राष्ट्रपतिको अभिलेख पनि वर्तमान शताब्दीको पहिलो दशकमा बाराक ओबामाले बनाएका हुन् ।
सन् २०१६ मा ट्रम्पले महिला उम्मेदवार नै सामना गर्नु परेको थियो । त्यतिखेर हिलारी क्लिन्टनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएकी थिइन् । तर, निर्वाचक मण्डल सङ्ख्या ट्रम्पको पक्षमा पुगेको थियो । क्लिन्टनले पहिलो महिला राष्ट्रपति दर्ज हुने अवसर गुमाउनु परेको थियो ।
ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकाल अनेक कारणले विवादित थियो तर, उनका समर्थक भने त्यसका बाबजुद अझ बढी कट्टर समर्थक हुँदै गएका थिए । त्यसैको दूर्भाग्य थियो— २०२१ जनवरी ६ को संसद् भवन आक्रमणको घटना ।
यो घटनामा ७ जना मारिएका थिए र १००० भन्दा बढी ट्रम्प समर्थकले जेल जीवन बिताइरहेका छन् । यसपटक यस्तो नहोस् भनेर विश्वले कामना गरिरहेको छ ।
यस अर्थमा ट्रम्प अमेरिकी राजनीतिका एक दुर्लभ पात्र हुन् । अनेक विवादास्पद कर्म र नीतिका बाबजुद उनी अमेरिकी जनतमा भने लोकप्रिय छन् । ट्रम्पले अमेरिकी संविधान, लोकतन्त्र र कयौं स्थापित मान्यतालाई चुनौती दिने गरेका छन् । तथापि, उनी लोकप्रिय छन् ।
ट्रम्पको यस्तो अनौठो प्रवृत्तिलाई राजनीतिशास्त्रीले पपुलिज्मको संज्ञा दिने गरेका छन् । तथापि, ट्रम्प समर्थक मनोविज्ञान बुझ्न विश्वलाई नै गाह्रो भइरहेको छ ।
यसपटक पनि ट्रम्प र ह्यारिसबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचन नतिजा ७ स्वीङ स्टेटमा निर्भर हुने बताइँदैछ । ब्लू र रेड स्टेट नतिजामा खासै भिन्नता नआउने अनुमान छ ।
ह्यारिस ट्रम्पको तुलनामा कम आक्रामक, शालीन र भद्र उम्मेवार मानिन्छन् । उनले पूर्वराष्ट्रपति बिल क्लिन्टन, बाराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडन परम्परालाई अघि बढाउने अपेक्षा गरिएको छ । क्लिन्टन, ओबामा र बाइडन ह्यारिस अभियानमा खटेर लागेका छन् ।
ह्यारिसको जितको एक बलियो आधार डेमोक्र्याटिक पार्टीभित्रको एकता पनि हो, जो रिपब्लिकन पार्टीमा तुलनात्मक रूपमा कमजोर छ ।
ट्रम्पले जितेमा विश्व आप्रवासन नीति कठोर हुने, बहुपक्षीयता कमजोर हुने, समकालीन विश्व व्यवस्था अझै भत्किने र विश्वभरिका अधिनायकवादी शासकलाई सहजता सृजना हुने ठानिएको छ । यद्यपि, रिपब्लिकन समर्थक यसलाई आरोप मात्र मान्दछन् ।
ट्रम्पले जितेमा सायद रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका लागि थप सहजता सृजना हुन सक्दछ । ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने, युक्रेनले नेटो प्रवेशको आकाङ्क्षा परित्याग गर्नुपर्ने धारणा राख्दै आएका छन् । ट्रम्पका उपराष्ट्रपति जोडा जेडी भान्सले यो कुरा निर्वाचन अभियानका क्रममा जोडदार रूपमा उठाएका थिए ।
ह्यारिसले जितेमा युक्रेन युद्ध र मध्यपूर्व तनावमा बाइडन प्रशासनकालीन अमेरिकी अडान कायमै रहने निश्चित छ । यतिखेर दोस्रो शीत युद्ध र तेस्रो विश्व युद्धका सम्भावनाबारे अनेक चिन्ता व्यक्त गरिँदैछ । यी असम्भव अनुमान मात्र हैनन् । हिजोका युद्ध र शीत युद्धहरू रातारात आएका थिएनन् । त्यसको पछाडि पनि एक विशिष्ट पृष्ठभूमि र लामो घटना शृङ्खलाको सञ्चिति थियो ।
आज पनि विश्व थप जटिल बन्दै गएको छ । यसलाई धेरैले ‘अनिश्चित विश्व’ भन्ने गरेका छन् । अनिश्चित विश्व दौरान र सङ्क्रमणकालीन नीतिका बीच विश्वले अपेक्षित प्रगति गर्न गाह्रो हुनेछ । विश्व शान्ति र समृद्धि सङ्कटमा पर्न सक्नेछ ।
अमेरिकी निर्वाचनले एक सन्तुलित र प्रगति उन्मुख विश्व व्यवस्थामा योगदान गरोस् भन्ने अपेक्षा सबैको छ । स्वयम् अमेरिकी मतदाता भने यस विषयमा कसरी सोचिरहेका होलान् ?
सम्भवत: बुधबार साँझसम्म निर्वाचन परिणाम विश्वले थाहा पाउनेछ । र, विश्व उत्सुकताले उत्तर पाउनेछ ।
Facebook Comment
Comment