हालैका वर्ष धेरै देश अक्सर भनिने ‘प्रियतावादी लहर’ बाट हैरान छन् । सामान्यतः विश्व राजनीतिमा यो नयाँ युग सन् २०१६ मा बेलायतको ब्रेक्जिट र अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको निर्वाचनबाट सुरु भएको थियो ।
मिडिया र राजनीतिक सम्भ्रान्त यी घटनाबाट स्तब्ध भए । उनीहरूले यो सम्बन्धको गाँठो पत्ता लगाउन खोजे कि यस्तो किन र कसरी भइरहेको छ । धेरैलाई लागिरहेको छ कि यो प्रवृत्ति आर्थिक, सामाजिक रूपान्तरणको पुनरावृत्ति हो ।
ती यो निष्कर्षमा पुगेका छन् कि भूमण्डलीकरण र प्राविधिक परिवर्तनले श्रमिक वर्गको जीविकोपार्जनलाई चकनाचुर पारेको छ । श्रमिक वर्ग समुदायलाई बेवास्ता गरेको छ । ती क्रोधित र असन्तुष्ट छन् । यसले यथास्थितिवाद र राजनीतिक संस्थापनमाथि प्रियतावादी प्रहार ल्याएको छ ।
संसारका धेरै देशमा आज प्रियतावादी पार्टीको चुनावी उछालले स्थापित लोकतान्त्रिक पार्टी र स्वयम् लोकतन्त्रलाई डुबाउँदैछन् । तर, यति ठूलो चेतावनीका बाबजुद ‘प्रियतावादी लहर’ को प्रकृति र राजनीतिक महत्त्वलाई अझै पनि गलत बुझिएको छ ।
प्रथमतः ‘प्रियतावादी लहर’ भन्ने विम्बको प्रयोग नै त्यस्तो गल्तीको प्रतिविम्ब हो । यस्तो विम्बले यसको आवश्यकताभन्दा बढी अतिरञ्जना गर्दछ । यसलाई एक सङ्गतिपूर्ण विश्व लहरका रूपमा बढाइचढाइ गर्दछ, जबकि प्रियतावादी आह्वानका आधार देशैपिच्छे फरक-फरक छन् । अझ महत्त्वपूर्ण कुरा यो विम्बले नीतिनिर्माण र लोकतान्त्रिक स्थायित्वमा प्रियतावादी पार्टीहरूको चुनावी सफलतालाई बढी आँक्दछ ।
तर, मामिला त्यस्तो हैन । प्रियतावाद माथिबाट तल झरेको प्रवृत्ति हो, तलबाट माथि आएको हैन । यो राजनीतिज्ञहरूको कमजोरीबाट निस्केर मतदातातिर सरेको प्रवृत्ति हो, स्वयम् जनताबाट उत्पन्न भएको हैन । प्रियतावाद मतदाताका लागि राजनीतिक सूचीको वैकल्पिक विस्तार हो । प्रभावकारी असन्तुष्टिको परिचालनबाट मूलधारका राजनीतिज्ञमाथि सृजित चुनौती हो ।
उदार लोकतन्त्रले लोकतान्त्रिक मान्यता र संस्थाहरूको सम्भावित क्षयको वास्तविक चुनौती सामना गर्दछ । लोकतन्त्रमा नागरिकले लोकतान्त्रिक प्रक्रिया, आफ्ना भलाइ र मूल्यहरूको लामो समयदेखि मूल्याङ्कन गरेका हुन्छन् । चुनावी राजनीतिमा प्रियतावादी राजनीतिज्ञको जित नै लोकतान्त्रिक पतनको सङ्केत भने हैन । बरु सत्तामा रहिरहेका नेताप्रतिको असन्तुष्टि हो ।
विशेषतः युरोप, अमेरिकामा र विश्वभरि नै पनि प्रियतावादी दलको चुनावी उछालले दोस्रो विश्वयुद्धपछिको राजनीतिक तथा दलीय स्थिरतामा धक्का लागेको छ । दशकौंदेखि स्थिर राजनीतिक दल प्रियतावादको चुनौतीले तिल्मिलाएका छन् । तर, यो अचम्म मान्नुपर्ने कुरा भने हैन ।
अहिलेको प्रियतावादी दलहरूको उदयभन्दा बीसौं शताब्दीको प्रारम्भमा सामाजिक जनवादी दलहरूको उदय धेरै नै नाटकीय थियो । त्यसको तुलनामा प्रियतावादको लहरका केही मूर्त कारण छन् ।
प्रियतावादी दलको निरन्तर बृद्धिको कारण आंशिक रूपमा सञ्चारमाध्यम र प्रचारप्रसार पनि हुन् । सञ्चारमाध्यमले ‘प्रियतावादी लहर’ को जति चर्चा गर्दछन्, त्यति नै यसको विस्तार पनि भइरहेको हुन्छ । मिडियाले प्रियतावादी पार्टीको चुनावी अभियानलाई जनमत बदलिन थालेको प्रवृत्तिका रूपमा जति चर्चा गर्दछन्, त्यति नै जनमत बदलिन योगदान पनि पुगेको हुन्छ ।
अर्को कुरा, प्रियतावादी दलको लोकप्रियता ह्रास र वृद्धि तिनको नेतृत्वको गुणस्तरमा पनि भर पर्दछ । कतै प्रियतावादी भावुकता बढी हुँदा पनि नेता प्राप्त नहुन सक्दछ । कतै नेताले प्रियतावादी भावुकताको विस्तार गर्न सक्दछ ।
प्रियतावादले मतदाताको भावनालाई महत्त्व दिएर बुझ्ने मात्र हैन, त्यसको अधिकतम् दोहन पनि गर्दछ ।
कथित ‘प्रियतावादी लहर’ को सबैभन्दा सघन व्याख्या भूमण्डलीकरण, नि-औद्योगगिकीकरण, प्रविधि परिवर्तन र आर्थिक असन्तुष्टि हो भनिन्छ । बीसौं शताब्दीमा वामपन्थको उदय पनि आर्थिक असन्तुष्टिको कारणले भएको ठानिन्थ्यो ।
कतिपयले प्रियतावादलाई नवउदारवादी आर्थिक नीतिका कमजोरी दण्डित गर्न नयाँ तरिकाले वामपन्थको उदय भएको ठान्दछन् । तर, यी भनाइ तथ्यसँग त्यति मेल भने खाँदैनन् ।
सन् २००८ को वित्तीय सङ्कटलाई सन् १९३० को महामन्दीपछिको सबैभन्दा ठूलो आर्थिक असन्तुष्टिको अवधि मानिएको थियो । तर, त्यतिखेर अहिलेको जस्तो प्रियतावाद आएन । अधिकांश प्रियतावादी दल सन् २०१० पछि उदित भएका छन्, जब विश्वको वित्तीय सङ्कट एक अर्थमा सम्बोधन भइसकेको थियो ।
सर्वेक्षणहरूले के देखाउँछ भने प्रियतावादी दलका समर्थक परम्परागत विचारधाराभन्दा भिन्न सोचका हुन्छन् । तिनमा आर्थिक असन्तुष्टिको मात्रा कम र अन्य कारणको प्रभाव बढी हुन्छ । प्रियतावाद निम्न वर्गबाट उदित हुँदैन, मध्यम वर्गबाट निम्न वर्गतिर फैलिन्छ ।
जस्तो कि स्पेनमा सन् २००९-१० तिर जीडीपी सङ्कुचन भएको थियो । बेरोजगारी २६ प्रतिशत पुगेको थियो तर, पनि कुनै प्रियतावादी दलको उदय भएन । यसको अर्थ हो कि आर्थिक असन्तुष्टि प्रियतावादको जन्म र विस्तारका लागि पर्याप्त कारण हैन । एक मात्र कारण त झनै हुँदै हैन ।
युरोपमा प्रियतावादको उदयमा आप्रवासी विरोधी भावना र राष्ट्रवाद मुख्य कारण देखिन्छ । युरोपमा आप्रवासन र शरणार्थी समस्या जति बढ्दै गइरहेको छ, दक्षिणपन्थी प्रियतावाद उत्तिकै वृद्धि हुँदैछ । फ्रान्समा म्यारिन लि पेनको अभियानलाई यसै सन्दर्भमा हेरिन्छ ।
सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्पको जितमा पनि आर्थिक असन्तुष्टिभन्दा बढी नश्ल र जातीय भावनामा आएको बदलाव मुख्य कारण थियो ।
पश्चिमा लोकतन्त्रहरूमा प्रियतावादी पार्टी र उम्मेदवारले पाएको समर्थन आर्थिक असन्तुष्टिसँग हैन, सांस्कृतिक सरोकारसँग जोडिएको छ । स्थानीय र राष्ट्रिय पहिचानमा आएको क्षयीकरणको चिन्तासँग जोडिएको छ । शरणार्थी र आप्रवासनको बढ्दो प्रवाहसँगै युरोपेली प्रियतावाद फस्टाएको छ । तसर्थ, आर्थिक असन्तुष्टि र अल्पविकासले प्रियतावाद आएको बुझाइ त्यति मिल्दो छैन ।
अर्को ध्यान दिनुपर्ने पक्ष पुस्तागत सोचमा भिन्नता हो । पुराना पुस्ता र नयाँ पुस्ताबीचको राजनीतिक सोचमा पर्याप्त भिन्नता छन् । पुरानो पुस्ताको तुलनामा नयाँ पुस्तामा नृजातीयता र सांस्कृतिक भावना कमजोर छ ।
मूलधारका राजनीतिक दलको चरित्र बढी संस्थागत र प्रक्रियामुखी हुन्छ । यस्ता पार्टीहरू नयाँ पुस्तालाई असहज लाग्दछन् । परम्परागत पार्टी पद्धति र नेतृत्व प्रणालीविरुद्ध मुखरित हुने नयाँ पुस्ताको चाहनाले प्रियतावादी पार्टीलाई फाइदा गरिरहेको हुन्छ ।
गठबन्धन सरकार र तिनका साझेदार दलले उत्पन्न गर्ने वितृष्णा प्रियतावादी पार्टीका लागि अर्को फाइदाजनक आधार बनिदिन्छ । जस्तो कि इटालीमा सन् २०२२ मा प्रधानमन्त्री जर्जिया मेलोनीको उदय हेरौँ ।
वास्तवमा उनको उदय पूर्वदक्षिणपन्थी नेता माटेयो साल्भिनीको गठबन्धन असफलता र सङ्कटको परिणाम थियो । प्रियतावादको उदयमा गठबन्धन सरकारको निर्माण र कार्यसंस्कृति जिम्मेवार हुन सक्दछ । राजनीतिक अवसरवादजस्तो देखिने झन्झटिला र अवैचारिक गठबन्धन सरकार मतदाताले मन पराउँदैनन् ।
परम्परागत दलले नागरिकमा गुनासो बढ्ने ठाउँ दिन्छन् भने प्रियतावादी दलले त्यसलाई भोटमा परिणत गर्ने सम्भावना रहन्छ । यदाकदा राजनीति जुवाको खालजस्तो बन्न पुग्दछ । जस्तो कि ब्रेक्जिट तत्कालीन प्रधानमन्त्री डेबिट क्यामरुनका लागि एक जुवाजस्तो भएको थियो । ब्रेक्जिटमा पराजयपछि क्यमरुन राजनीतिबाट बाहिरिए र त्यो स्थानमा प्रियतावादी बोरिस जोनसन अघि आए ।
परम्परागत दलहरूको शासनभित्र हुने कुशासन, भ्रष्टाचार, अनेक काण्ड र कुप्रबन्धनले प्रियतावादलाई बलियो आधार दिन्छ । जस्तो कि सन् २०१० मा हङ्गेरीका भिक्टर अर्वानको फिडेज पार्टीको उदय हुनुमा यो कारण धेरै बलियो थियो ।
भ्रष्टाचारका काण्ड धेरै भए मतदातामा ‘बदमासलाई लखेट्ने’ प्रतिरोधको भावना उत्पन्न हुन्छ । पुराना शासक दल र नेता बदमासहरूको प्रतीक बन्छन् । यस्तो बेला जसले भ्रष्टाचार, कुशासन, काण्ड र बदमासीको विरुद्ध चर्को आवाज उठाउन सक्दछ, मतदाताले उसैलाई रोज्दछन् ।
हङ्गेरीमा भिक्टर अर्वान सत्तामा आउनु यस्तै अनेक काण्डले सृजना गरेको एक आकस्मिकता जस्तो थियो तर, सत्तामा आएपछि उनले निर्वाचन प्रणालीलगायत केही सुधार गरे, जसले उनलाई लामो समय सत्तामा रहन अनुमति दियो । सन् २०१५ मा पोल्यान्डमा ‘ल एन्ड जस्टिस’ पार्टीको उदय हुनुको कारण पनि झन्डै यस्तै हो ।
राजनीतिशास्त्री न्यान्सी बेर्मियोका अनुसार कहिलेकाहीँ साधारण नागरिकलाई आफ्ना शासकप्रति असाधारण रिस उठ्दछ । विशेषतः त्यस्तो बेला जब शासक अनावश्यक रूपमा विधिको शासनविरुद्ध जान्छन् । नागरिकलाई बेवास्ता गर्दै आफैँ तानाशाह हुन खोज्दैछन् भन्ने अनुभूति बढ्छ ।
लोकतान्त्रिक दलका शासकले पनि सत्ता स्वार्थका लागि लोकतन्त्र सङ्गत नहुने कयौं कार्य गरेका हुन्छन् । यस्तो बेला निष्क्रिय नागरिकसमेत सक्रिय हुन्छन् । यस्तो बेला नागरिकलाई शासकप्रति मात्र हैन, प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुन सक्दछ । तसर्थ, साधारण नागरिकले असाधारण समाधान खोज्दा प्रियतावादले जमिन प्राप्त गर्दछ ।
यी सबै उदाहरणबाट के प्रष्ट हुन्छ भने प्रियतावादका लागि नागरिकभन्दा बढी राजनीतिज्ञको व्यवहार जिम्मेवार हुन्छ । र, यसको कारण आर्थिक असन्तुष्टिभन्दा अरु नै धेरै तत्त्व हुन्छन् ।
(द फरेन अफेयर्सबाट संक्षेपीकृत भावानुवाद)
Facebook Comment
Comment