पुस्तक चर्चा

नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको ‘ह्वाई नेसन्स फेल’ किताबमा के-के छ ?

यो विश्लेषणको आलोकमा राणा, शाह र पञ्च शासनविरुद्ध लडेका नेपालका क्रान्तिकारी नेताहरू मंगेत्स्कु र मुगाबेजस्तै लाग्छन् ।

नेपालभ्युज

नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको ‘ह्वाई नेसन्स फेल’ किताबमा के-के छ ?

काठमाडौं । सन् २०१२ मा प्रकाशित ‘ह्वाई नेसन्स फेल’ (राष्ट्रहरू किन असफल हुन्छन्) पुस्तकका लेखक डारोन एसिमग्लु र जेम्स ए. रोविन्सनले यस वर्ष अर्थशास्त्र विधाको नोबेल पुरस्कार पाए । त्यसपछि फेरि एकपटक यो पुस्तकको चर्चा विश्वव्यापी रूपमा चुलिएको छ ।

यहाँ पुस्तकको संक्षिप्त परिचय दिने प्रयास गरिएको छ ।

पुस्तकको पूरा नाम ‘ह्वाई नेसन्स फेल : द ओरिजन अफ पावर, प्रोस्पेरिटी एण्ड पोभर्टी’ छ । पुस्तकको नामबाटै प्रष्ट हुन्छ– यो राष्ट्रहरूको सफलता र असफलता त्यसको समृद्धि वा गरिबीमा निर्भर गर्दछ, समृद्धि र गरिबीको कारण भने शक्ति संरचना र अभ्यासमा आधारित हुन्छ भन्ने विषयमा केन्द्रित छ ।

पुस्तकमा १५ अध्याय र ५६० पृष्ठ छन् ।

पुस्तक भूमिकाबाट सुरु हुन्छ । प्रारम्भबाटै लेखकद्वयले राष्ट्रहरूको समृद्धि र गरिबीको तुलना गर्दछन् ।

बेलायत, अमेरिका, जर्मनी, पश्चिम युरोप, अष्ट्रेलिया, न्यूजील्यान्ड, क्यानडा, जापान, सिंगापुरलाई समकालीन युरोपको सबैभन्दा धनी क्षेत्रका रूपमा रेखाङ्कन गरिएको छ । सबसाहरन अफ्रिका, मध्य अमेरिका, दक्षिण एसियासँगै उत्तर कोरियालाई संसारकै सबैभन्दा गरिब क्षेत्रका रूपमा विभाजन गरिएको छ । बाँकी विश्वलाई समृद्धिको मध्ममस्तरमा राखिएको छ ।

चर्चा होस्नी मुबारककालिन इजिप्ट र अरब विद्रोह भनिएको ट्युनिसियाका राजनीतिक घटनाक्रमको आर्थिक प्रभाव हुँदै अघि बढ्छ । मध्यपूर्व तथा पश्चिम अरब क्षेत्रका अधिकांश देशमा राजनीतिक तानाशाही र सीमित शक्ति सम्भ्रान्तले कब्जा गरेका कारण ती राष्ट्र समृद्ध हुन नसकेको चर्चा छ ।

पहिलो अध्यायको नाम ‘सो क्लोज एण्ड येट सो डिफ्रेन्ट’ (यति नजिक र अहिले यति फरक) हो । अध्याय ‘नोगालेस’ नामको एक सानो शहरको उदाहरणबाट सुरु हुन्छ । यो उत्तरी मेक्सिको र दक्षिण अमेरिकाको सीमा शहर हो । शहरको बीचमा सानो घेराबेरा गरेर सीमा छुट्याइएको छ ।

अमेरिकी भाग एरिजोना राज्यमा पर्दछ र यसलाई ‘नोगालेस एरिजोना’ भनिन्छ । मेक्सिकोको भाग सोनोरा प्रदेशमा छ र यसलाई ‘नोगालेस सोनोरा’ भनिन्छ ।

दुबै भागमा एउटै नश्ल, जाति, भाषा, इतिहास, धर्म र संस्कृतिका मानिस बस्दछन् । दुबैको भूगोल र हावापानी एउटै हो । तर, समृद्धिको स्तरमा आकास जमिनको फरक देखाइएको छ । ‘नोगालेस एरिजोना’ को प्रतिव्यक्ति आय वार्षिक ३० हजार डलर भनिएको छ र ‘नोगालेस सोनोरा’ को ५ हजार डलर मात्र । एरिजोनातर्फ राम्रा सडक, स्कुल र अस्पताल छन् । राम्रा आवास, खानेपनी र सरसफाइ छ । सोनोरातर्फ त्यस्तो केही छैन । यो भिन्नता कसरी आयो ? जबकि यो उस्तै स्थान र मान्छेको शहर हो ।

लेखकद्वयले यो निष्कर्ष निकालेका छन् कि ‘नोगालेस एरिजोना’ ले अमेरिकी सञ्जाल र संस्थाको सम्पर्क र सुविधा पायो । ‘नोगालेस सोनोरा’ ले मेक्सिकन संस्था र सञ्जालको सम्पर्क पाए । यो भिन्नता नै समृद्धि स्तरको भिन्नताको मुख्य कारण हो ।

नोगालेसको उदाहरणलाई उनी अमेरिका र मेक्सिकोको उदाहरणमा ढाल्दछन् । अमेरिका र मेक्सिको सीमा जोडिएर पनि किन फरक भए, यसको लामो व्याख्या छ । यसको कारण पनि उनीहरूले संस्था स्रोतलाई मानेका छन् ।

स्वतन्त्रताअघि अमेरिका बेलायतको उपनिवेश थियो । मेक्सिको स्पेनको उपनिवेश थियो । अमेरिका बेलायती संस्था प्रक्रियामा संलग्न भएर अघि बढ्यो । सन् १६८८ को गौरवमय क्रान्तिले बेलायतमा औद्योगिक क्रान्ति निम्त्याएको थियो भने स्पेन निरङ्कुश राजतन्त्रात्मक मुलुृक थियो । बेलायती उपनिवेश खुकुलो र लोकतान्त्रिक हुँदै गयो । स्पेनी उपनिवेश कठोर र अधिनायकवादी हुँदै गए ।

अमेरिकी स्वतन्त्रताका मुख्य नेता जर्ज वासिङ्गटन र मेक्सिको स्वतन्त्रताका मुख्य नेता पोरफिरियो डियाज, अमेरिकी धनाढ्य बिल गेट्स र मेक्सिकोका धनाढ्य कार्लोस स्लीमको तुलना रोचक छ । डियाजको तुलनामा वासिङ्गटन लोकतान्त्रिक थिए । उनी दुई पटकभन्दा बढी राष्ट्रपति भएनन् । तर, डियाज अर्काे तानाशाह भएर निस्किए । बिल गेट्सले माइक्रोसफ्ट नवप्रवर्तनबाट धन कमाए, कार्लोसले टेलेम्याम्स राज्य दोहनबाट ।

नोगालेसको सानो उदाहरण दोस्रो चरणमा यसरी अमेरिका र मेक्सिकोको तुलनामा विस्तार हुन्छ र तेस्रो चरण सिंगो विश्वको दुईमा विभाजन र तुलना हुन्छ ।

दोस्रो अध्यायको नाम ‘थ्योरिज द्याट डन्ट वर्क’ (काम नगर्ने सिद्धान्तहरू) हो । यस खण्डमा नेपालको नाम पनि उल्लेख छ । नेपाललाई अफगानिस्तान, हैटी र सब-सहारन देशको समकक्षमा राखिएको छ । सबैभन्दा गरिब मुलुकको डालोमा हालिएको छ ।

दोस्रो अध्यायमा लेखकद्वय तीन हाइपोथेसिस भूगोलको भिन्नता, संस्कृतिको भिन्नता र शासकीय ज्ञानको भिन्नताको शिद्धान्त खण्डन गर्दछन् । उनीहरूको विचारमा यी भिन्नताले देशहरू धनी र गरिब भएका हैनन् । यो तर्कको पुष्टि गर्न दर्जनौं उदाहरण दिइएको छ ।

तेस्रो अध्याय ‘मेकिङ अफ प्रोस्पेरिटी एण्ड पोभर्टी’ (समृद्धि र गरिबीको निर्माण) दोस्रो अध्यायको पुष्टिका लागि उत्तर र दक्षिण कोरियाको तुलना हो । यी दुबै एउटै भुगोल, नश्ल, जाति, भाषा, धर्म, संस्कृतिका राष्ट्र थिए । तर, यी दुई देशमा आज समृद्धिस्तरमा किन फरक आयो भन्ने विश्लेषण छ ।

यही अध्यायमा संस्थाहरूलाई ‘एक्स्ट्राक्टिभ’ र ‘इन्क्ल्युसिभ’ गरी दुई भागमा बाँडिएको छ । उत्तर कोरियाका संस्थाहरू कसरी ‘एक्स्ट्राक्टिभ’ भए र, राष्ट्र गरिब हुँदै गयो, दक्षिण कोरियाका संस्था कसरी ‘इन्क्ल्युसिभ’ भएर धनी हुँदै गए भन्ने तुलना छ ।

चौथो अध्यायको नाम ‘स्मल डिफ्रेन्सस एण्ड क्रिटिकल जंकचर्स : द वेट अफ हिस्ट्री’ (साना भिन्नता र जटिल मोड : इतिहासको भार) हो । यसमा राष्ट्रको इतिहासमा कसरी ‘साना भिन्नता’ आउँछन्, पछि तिनै कसरी जटिल मोड बन्दछन्, फरक प्रकारका संस्था विकास गर्दछन् र इतिहासलाई फरक बाटोमा लैजान्छन् भनेर पुष्टि गर्न खोजिएको छ ।

इतिहासलाई मान्छेको इच्छामा मात्र निर्भर नगर्ने संयोगिक घटनाका रूपमा हेरिएको छ । साथै, इतिहासले कुनै प्रवृत्ति र बाटो पक्रिएपछि १/२ सय वर्ष लिन सक्ने र त्यसलाई बदल्न निकै गाह्रो हुने निष्कर्ष छ ।

पाँचौँ अध्यायमा ‘एक्स्ट्राक्टिभ’ संस्था वा तानाशाही शासन भएका देशमा पनि केही समय कसरी आर्थिक विकास हुन्छ र पछि गएर सङ्कट आउँछ भनेर विश्लेषण गरिएको छ । सन् १९४० देखि सन् १९७० बीच सोभियत सङ्घमा किन आर्थिक विकास भयो र त्यसपछि किन शिथिलता आयो र अन्ततः सोभियत सङ्घ नै विघटन भयो भन्ने उदाहरण छ । अहिलेको चीनको विकासलाई पनि यसै सन्दर्भमा हेरिएको छ ।

‘एक्स्ट्राक्टिभ’ संस्था भएका देशले पनि केही अवधि भौतिक विकास र आर्थिक बृद्धि गर्न सक्दछन् तर, आर्थिक समृद्धि हासिल गर्न सक्दैनन् र पतन हुन्छन् । यहाँ ‘आर्थिक बृद्धि’ र ‘समृद्धि’ किन र कसरी फरक हो भन्ने देखाउन खोजिएको छ ।

यस्तो हुनुका कारण ‘एक्स्ट्राक्टिभ’ संस्थामा हुने ‘सृजनशील ध्वंस’ प्रतिको भयलाई औँल्याइएको छ । जोसेफ सुम्पिटरको ‘द क्रियटिभ डिस्ट्रक्सन थ्योरी’ लाई लेखकद्वयले उच्च महत्त्व दिएका छन् र यसैलाई प्रगति र समृद्धिको एक आधार मानेका छन् ।

छैटौँ अध्याय ‘ड्रिफ्टिङ अपार्ट’ (फरक बहाव) मा विभिन्न राष्ट्रका राजनीतिक तथा आर्थिक संस्थाहरू के कस्ता ऐतिहासिक परिबन्धको कारण फरक तरिका र गुण भएका बन्छन्, संस्थाहरूको गुणस्तर किन फरक हुन पुग्दछ र तिनले कसरी समृद्धिलाई प्रभावित गर्दछन् भनेर देखाउन खोजिएको छ ।

युरोपभित्रै पूर्वी र पश्चिम युरोपमा किन फरक प्रकारका संस्था बने, पश्चिम र पूर्वी युरोपको समृद्धिस्तर किन फरक भयो, यसको ऐतिहासिक कारण खोतलिएको छ ।

सातौँ अध्याय ‘द टर्निङ पोइन्ट’ (घुमाउरा मोड)मा बेलायतको राजनीतिक तथा आर्थिक विकास क्रमको विस्तृत चर्चा छ । यस खण्डमा बेलायतको राजतन्त्र र नागरिक बीचको शक्ति सङ्घर्ष, गौरवमय क्रान्ति र औद्योगिक क्रान्तिको ऐतिहासिक सम्बन्ध दर्साइएको छ । बेलायतको शक्ति सङ्घर्ष निकै लामो र कठोर थियो तर, त्यो आवश्यक थियो । यदि राजतन्त्र र जनताबीच कठोर सङ्घर्ष हुँदैनथ्यो भने गौरवमय क्रान्ति हुँदैनथ्यो र त्यो नभएको भए औद्योगिक क्रान्ति पनि हुने थिएन । बेलायती सभ्यताको विस्तार पनि हुने थिएन भन्ने पुष्टि गर्न खोजिएको छ ।

आठौँ अध्याय ‘ब्यारियर्स टु डेभेलपमेन्ट’ (व्यावधानदेखि विकासतिर) मा ‘राजनीति केन्द्रिकरण’ को महत्त्वको चर्चा छ । समृद्धिलाई प्रोत्साहित गर्ने संस्थाहरू बहुलवादी हुनुपर्दछ तर, राजनीतिक केन्द्रिकरणसहितको । अन्यथा राजनीतिक अस्थिरता, उपद्रव, अराजकता, स्थानीय समुदायबीचका दङ्गा र गृहयुद्ध हुने जोखिम हुन्छ ।

यस अध्यायमा पनि नेपाललाई राजनीतिक केन्द्रिकरण नभएको एक अस्थिर र अराजक मुलुकको उदाहरण बनाइएको छ । तर, त्यस्तो राजनीतिक केन्द्रिकरणलाई निरपेक्ष शक्ति बन्न दिनु नहुने तर्क छ । त्यसो भए अर्को प्रकारको तानाशाही निम्तने र फेरि समृद्धि पछाडि पर्ने जोखिम हुन्छ । यस प्रकारको प्रवृत्तिलाई ‘अब्सोलुटिज्म’ को संज्ञा दिइएको छ ।

नवौँ अध्यायको ‘रिभर्सिङ डेभेलोपमेन्ट’ (उल्टो विकास) मा ‘द्धैत अर्थतन्त्र’ सिद्धान्तको खण्डन गरिएको छ । यसमा परम्परागत अर्थतन्त्र र आधुनिक अर्थतन्त्र, विकसित अर्थतन्त्र र अल्पविकसित अर्थतन्त्रजस्ता वर्गीकरण र अवधारण किन गलत छन् भन्ने पुष्टि गर्न खोजिएको छ । विशेषतः दक्षिण अफ्रिकाको उदाहरणबाट चर्चा गरिएको छ । यस प्रकारको भिन्नताको कारण विकासको दर नभएर संस्थागत प्रक्रियाको प्रभाव हुने निष्कर्ष निकालिएको छ ।

दशौं अध्याय ‘द डिफ्युजन अफ प्रोस्पेरिटी’ (समृद्धिको फैलावट) मा बेलायतको औद्योगिक क्रान्ति र फ्रान्सको राज्य क्रान्तिको युरोपेली र विश्व प्रभाव चर्चा गरिएको छ । यस विश्लेषणमा लोकतन्त्र र आधुनिक औद्योगिक अर्थतन्त्र यी दुई क्रान्तिको विश्वव्यापी विस्तार हो । अमेरिका, न्यूजील्यान्ड, क्यानडा र अष्ट्रेलियाको विकास बेलायती गौरवमय क्रान्ति र औद्योगिक क्रान्तिकै विस्तार हो भनिएको छ ।

विश्व क्रान्तिको प्रेरणाका लागि फ्रान्सेली राज्य क्रान्तिको धेरै ठूलो महत्त्व भए पनि यो क्रान्तिसमेत बेलायतको गौरवमय क्रान्ति र औद्योगिक क्रान्तिकै विस्तार हो भन्ने लेखकहरूको ठहर छ । लेखक यो ठान्दछन् कि क्रान्तिहरूको प्रभाव कुनै एक देशमा मात्र सीमित हुँदैन, क्रान्ति कतिपय अवस्थामा निर्यात र कतिपय अवस्थामा विस्तार हुन्छन् ।

राजनीतिक क्रान्तिको फैलावटबाट लोकतन्त्र र औद्योगिक क्रान्तिको फैलावटबाट आधुनिक अर्थतन्त्र सम्भव हुनु धारणा र प्रविधिको विस्तार मात्र हैन, समृद्धिको समेत विस्तार हो । यसैको विस्तार र सिको गर्ने क्रममा जापानको उन्नति सम्भव भएको हो । जापानको ‘मिजो रेस्टोरेसन’ युरोपेली क्रान्तिको सिको हो । चिनियाँ क्रान्ति सोभियत क्रान्तिको विस्तार थियो ।

यो अध्यायको निष्कर्ष छ कि आजको विश्व आर्थिक असमानता मूलतः क्रान्तिहरूको प्रभावको भिन्नता हो । जहाँ आधुनिक प्रविधि, विज्ञानसम्मत सोच र लोकतान्त्रिक संस्थाहरूको प्रवाह भयो, ती विकसित भए, जहाँ हुन सकेन, ती गरिब रहे ।

पुस्तकमा तीनपटक नेपालको नाम उल्लेख गरिएको छ तर, उदाहरणको लागि मात्र । नेपालबारे कुनै विशेष चर्चा छैन । तर, इथियोपिया र जिम्बाबेबारेको विश्लेषण नेपालसँग मिल्दोजुल्दो देखिन्छ ।

एघारौं अध्याय ‘द भर्चुअस सर्किल’ (सद्गुणचक्र) र बाह्रौं ‘द भिसिसियस सर्किल’ (दुर्भाग्य चक्र वा दुश्चक्र) ले यी दुई प्रकारका चक्रको विश्लेषण गर्दछन् । गरिबीलाई दुश्चक्रको परिणाम मान्ने हो भने समृद्धि सद्गुणचक्रको परिणाम हो । सद्गुणचक्र असल राजनीतिको परिणाम हो र दुश्चक्र खराब राजनीतिको प्रतिफल हो ।

यसरी ‘गरिबीको दुश्चक्र’ जस्तो प्रचलित अवधारणालाई प्रतिस्थापन गर्दै ‘समृद्धिको सद्गुणचक्र’ लाई स्थापित गरिएको छ । ‘समृद्धिको सदगुणचक्र’ बहुलवाद र विधिको शासनबाट सुरु हुने लेखकको निष्कर्ष छ । बहुलवाद र विधिको शासनले समावेशी राजनीतिक संस्था निर्माण गर्दछन् र सोही प्रकारका आर्थिक संस्था निर्माणको कारण बन्दछन् ।

यहीँनेर ‘पपुलिष्ट’ आन्दोलनको चर्चा छ । पपुलिष्ट आन्दोलनले संस्थाको साटो व्यक्ति, विज्ञान, प्रविधि र विवेकसम्मत सोचको साटो भावना र प्रक्रियाको साटो नायकत्वलाई अघि सार्ने हुँदा समृद्धिका लागि सहयोगी नहुने ठहर छ ।

अमेरिकी राजनीतिमा पपुलिष्टहरूको पतनपछि रुजबेल्ट युग सुरु भएको उदाहरण दिइएको छ ।

यी अध्यायमा ‘आइरल ल अफ ओलीगार्की’ पनि चर्चा छ । विशेषतः इथियोपियाको सन्दर्भमा । अल्पतन्त्रको लौह नियम’ ले क्रान्तिपछि पनि दुश्चक्र क्रियाशील हुने यथार्थलाई दर्साइएको छ । गरिब मुलुकहरूको एउटा दुर्भाग्य क्रान्तिहरूले पनि दुश्चक्र तोड्न नसक्नु हो, नयाँ पनि पुराना शासकजस्तै हुनु हो भनिएको छ ।

तेह्रौं ‘ह्वाई नेसन्स फेल टुडे’ (आज राष्ट्रहरू किन असफल छन्) रोवर्ट मुगाबेको जिम्बाबे किन असफल भयो भन्ने उदाहरणबाट सुरु हुन्छ । निष्कर्ष छ– त्यस्तो शासन जसले जनताका लागि प्रोत्साहन, बचत, लगानी र नवप्रवर्तन प्रदान गर्न नसक्ने संस्था बनाउँछन, ती असफल हुन्छन् ।

यस्ता असफल भएका वा झन् गरिब हुँदै गएका केही देशको सूची छ । त्यसमा अङ्गोला, क्यामरुन, चाड, कङ्गो, लाइबेरिया, हैटी, सियरालिओन, सुडान, जिम्बाबेसँगै नेपालको पनि नाम छ । यिनलाई सन् १९६० को दशकमा भन्दा पनि झन बिग्रँदै गएका देशको रूपमा चित्रण गरिएको छ ।

यसै अध्यायमा कम्युनिष्ट शासनमा ‘नवतनाशाही’ को जन्मलाई तिनको असफलताको कारण मानिएको छ । यहाँ सोभियत सङ्घदेखि उत्तर कोरियासम्मको चर्चा छ । तङ स्याओ फेङको उदय हुनुअघिको माओकालीन चीनलाई यसै कोटीमा राखिएको छ ।

चौधौं अध्यायले बोत्सवाना, चीन र दक्षिण अमेरिकाका बदलावको चित्रण गर्दछ ।

अन्तिम पन्ध्रौं अध्याय ‘अन्डरस्टान्डिङ प्रोस्पेरिटी एण्ड पोभर्टी’ (समृद्धि र गरिबीको समझ) ले समकालीन विश्व आर्थिक असमानताप्रति चिन्ता व्यक्त गर्दै समृद्धिका लागि लिइनुपर्ने निर्णयमाथि प्रकाश पार्दछ ।

बहुलवादी खुला समाज, राजनीतिक केन्द्रिकरण र स्थिरता, विधिको शासन, सृजनशील ध्वंसप्रतिको तत्परता, ढाँचा परिवर्तन, अल्पतन्त्रको अन्त्य, दुश्चक्र भेदन र सद्गुणचक्र स्थापना, सम्पत्तिको अधिकार, समान स्पर्धा मैदान, लगानीमैत्री वातावरण, नव प्रविधिको विकास र हस्तान्तरण, गुणस्तरीय शिक्षा र स्वतन्त्र मिडिया आदिलाई समृद्धिको आधार मानिएको छ ।

जहाँ यी संस्था छन्, त्यहाँ राष्ट्र सफल छन्, जहाँ छैनन्, त्यहाँ असफल छन् । संस्थाको अर्थ यहाँ अवधारणा र सङ्गठन दुबै हुन् ।

पुस्तकमा तीनपटक नेपालको नाम उल्लेख गरिएको छ तर, उदाहरणको लागि मात्र । नेपालबारे कुनै विशेष चर्चा छैन । तर, इथियोपिया र जिम्बाबेबारेको विश्लेषण नेपालसँग मिल्दोजुल्दो देखिन्छ ।

ती देशमा क्रान्तिपछि पनि ‘आइरन ल अफ ओलीगार्की’ ले कसरी दुश्चक्रलाई कायमै राख्यो, सद्गुण चक्र क्रियाशील हुन सकेन, क्रान्तिकारीहरू कसरी प्रतिक्रान्तिकारी र नवशोषक भए, फलतः ती देश गरिब नै रहे भन्ने कुरा जर्नेल मंगेत्स्कु र रबर्ट मुगाबेको शासन शैलीबाट प्रष्टाइएका छन् ।

यो विश्लेषणको आलोकमा राणा, शाह र पञ्च शासनविरुद्ध लडेका नेपालका क्रान्तिकारी नेताहरू मंगेत्स्कु र मुगाबेजस्तै लाग्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved