लेबनानमा इजरायली आक्रमणपछि नेपाली शान्ति सैनिकको अवस्था के छ ? 

इजरायली सेनाले बेसमा रहेको मुख्य गेट भत्काएको र कम्तिमा १५ जना सामान्य घाइते भएको जनाएको छ । घाइते सबै शान्ति सैनिकको उपचार भइरहेको युएनआईएफआइएलले जनाएको छ ।

नेपालभ्युज

लेबनानमा इजरायली आक्रमणपछि नेपाली शान्ति सैनिकको अवस्था के छ ? 
इजरेल र लेबननलाई छुट्याउने काल्पनिक सीमा रेखा ब्लू लाइनमा गस्ती गर्दै नेपाली शान्ति स्थापक सैन्य (फोटो- बीबीसी)

काठमाडौं । लेबननमा युद्ध चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरू हालसम्म सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

हिजबुल्लाहविरुद्ध इजरायलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेको अवस्थामा नेपाली सेनाको क्याम्पमा भने कुनै क्षति नभएको जनाइएको छ ।

आक्रमणमा अरू देशबाट गएका  शान्ति सैनिकहरू घाइते भएका छन् । यी विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

उनले भने, ‘शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको छ ।  सम्पूर्ण फौज सुरक्षित रहेका छन् । लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने छ ।’

यद्यपी शान्ति मिसन वरपर छिटपुट घटना भएकाले यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको भने जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ, । हाल लेबनानमा ८७७ नेपाली शान्ति सैनिक छन् ।
लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने शान्ति सैनिकहरूमाथि इजरायलले आक्रमण गरेपछि ३४ वटा देशहरूले निन्दा गरेका हुन् ।

आइतबार लेबनानमा रहेको युएनआईएफआइएलको बेसमा इसराइली डिफेन्स फोर्सले आक्रमण गरेको थियो ।

इजरायली सेनाले बेसमा रहेको मुख्य गेट भत्काएको र कम्तिमा १५ जना सामान्य घाइते भएको जनाएको छ । घाइते सबै शान्ति सैनिकको उपचार भइरहेको युएनआईएफआइएलले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल)का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो । यसमा नेपालसहित ३४ राष्ट्रले हस्ताक्षर गरेका छन् ।

यस्तै यस द्वन्द्धमा सामेल रहेका सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ ।

पालसँगै अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल–साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनियाले निन्दा गरेको हो । यी सबै राष्ट्रबाट शान्ति सैनिक खटिएका छन् ।

विज्ञप्तिमा सबै राष्ट्रले दक्षिणी लेबनान र मिडल इस्टमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबननमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गरेका थिए । युएनआईएफआइएलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved