शीतल निवास पुगे प्रधानमन्त्री, राष्ट्रपतिसँग के भयो कुराकानी ?

नेपालभ्युज

शीतल निवास पुगे प्रधानमन्त्री, राष्ट्रपतिसँग के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरुलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरु मिलेर मुलुकमा देखिएका समस्याहरुको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गाउँगाउँमा आधारभूत सुविधाहरु पुगेर बस्ने अवस्था सृजना भएपनि रोजगारी र आम्दानी नभएकाले मानिसहरु गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले आवश्यकता औल्याए ।

राष्ट्रपति पौडेलले हालै आएको बाढीपहिरोबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका कामलाई तिव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  उनले दुईवटा ठूला दल मिलेर बनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved