पूर्वबाट फेरि मौसम बदली सुरु, ठूलो वर्षा भने नहुने

नेपालभ्युज

पूर्वबाट फेरि मौसम बदली सुरु, ठूलो वर्षा भने नहुने

काठमाडौं । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेस प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।”

यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन् ।

तर, यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् ।

आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ ।

असोज १६ गते कोशी, मधेस प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved