आतिशी मार्लेना : कट्टर कम्युनिष्ट परिवारमा जन्म, नाममै छ मार्क्स र लेनिनको मिश्रण

आतिशीका अभिभावक कम्युनिष्ट विचारका समर्थक थिए । उनी घरमा कम्युनिष्ट विचार र समाजवादी आन्दोलनको इतिहासका किताब पढ्दै हुर्किएकी थिइन् । बुबाआमा कम्युनिष्ट भएपनि आतिशीले भिन्नै विचार, राजनीति र पार्टी रोजिन् ।

नेपालभ्युज

आतिशी मार्लेना : कट्टर कम्युनिष्ट परिवारमा जन्म, नाममै छ मार्क्स र लेनिनको मिश्रण

काठमाडौं । आम आदमी पार्टी (आप)का नेता तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल १७७ दिनपछि जेलबाट छुटे अगाडि उनको राजनीतिक कदम कस्तो हुन्छ भन्ने जिज्ञासा धेरैमा थियो ।

सर्वोच्च अदालतले उनलाई छोड्न जमानत त दियो तर, केही शर्तसमेत राख्यो । आफूविरुद्धका प्रमाण मेट्न नसकून् भनेर कार्यालय जान, सरकारी कागजातमा हस्ताक्षर गर्न र साक्षी राखिएका व्यक्तिलाई भेट्न निषेध गरियो ।

यस्ता शर्त मानेर सायद उनी मुख्यमन्त्री पदमा बसिरहन सक्दैनथे । सेप्टेम्बर १७ को आप संसदीय दलमा उनले आफ्नो उत्तराधिकारका रूपमा अतिशी सिंह मार्लेनालाई प्रस्ताव गरे । सिंह नयाँ दिल्लीको ८औं मुख्यमन्त्री बनिन् ।

यी सबै घटनाक्रम जति नाटकीय थिए, उत्तिकै स्वाभाविक पनि लाग्थे । केजरीवालका विकल्प सीमित हुँदै गएका थिए ।

आतिशी केजरीवाल सरकारमा शिक्षा, संस्कृति तथा पर्यटनमन्त्री थिइन् । विश्वव्यापी प्रशंसा पाएको दिल्लीका सार्वजनिक विद्यालय सुधार अवधिमा उनले तत्कालीन शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकार भएर काम गरेकी थिइन् ।

यो संयोगले उनलाई दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनायो । भाजपा नेतृ सुष्मा स्वराज दिल्लीको पहिलो महिला मुख्यमन्त्री थिइन् । सन् १९९८ मा उनी ५२ दिन मुख्यमन्त्री भएकी थिइन् । कांग्रेस नेतृ शिला दीक्षित भने करिब १५ वर्ष मुख्यमन्त्री भइन् ।

आतिशी देशका दुई बहालवाला महिला मुख्यमन्त्रीमध्ये एकसमेत बन्न पुगेकी छन् । पश्चिम बंगालमा ममता बेनर्जीबाहेक अहिले अरु कुनै प्रदेशमा महिला मुख्यमन्त्री छैनन् ।

सन् १९८१ मा जन्मिएकी आतिशी सिंह अहिले ४३ वर्षकी मात्र छिन् । अरविन्द केजरीवाल जेलमा रहेको अवधिमा उनले दिल्ली सरकारका ६ वटा मन्त्रालय सम्हालेकी थिइन् ।

सन् २०१२ मा जनलोकपाल विधेयकको माग गर्दै भएको भ्रष्टाचार विरोधी अन्ना हजारे आन्दोलनबाट अरविन्द केजरीवाल र आम आदमी पार्टीको उदय भएको थियो ।

आपका मुख्य नेताहरूको पतनको कारण पनि भ्रष्टाचार नै बन्यो । आपका मुख्य चार नेता अरविन्द केजरीवाल, मनिष सिसोदिया, संजय सिंह र सत्येन्द्र जैनमाथि अहिले भ्रष्टाचारको आरोप छ र यिनीहरूले मुद्दा खेपिरहेका छन् ।

आतिशी आपकी प्रवक्तासमेत थिइन् । पार्टी प्रवक्ताको भूमिकाले उनलाई सार्वजनिक व्यक्तित्वका रूपमा स्थापित हुन मद्दत गरेको थियो ।

उनी पञ्जाबी राजपुत परिवारकी छोरी हुन् । तर, उनको ‘मार्लेना’ उपनामले धेरैलाई आश्चर्यचकित बनाउँछ । भनिन्छ– उनका मातापिता कट्टर कम्युनिष्ट थिए । कम्युनिष्टका मुख्य नेता दार्शनिक कार्ल मार्क्स र पहिलो कम्युनिष्ट राज्यका संस्थापक रुसका लेनिनको नामलाई मिलाएर यो उपनाम सृजना गरिएको हो ।

मुख्य नेता जेलमा रहेको अवधिमा आतिशीले पार्टीलाई एकताबद्ध र दिल्ली सरकार सञ्चालन राख्न भूमिका खेलेकी थिइन् । उनी पार्टीलाई आपत परेको बेला मोर्चा छोडेर नभाग्ने एक निर्भिक नेताका रूपमा प्रस्तुत भएकी थिइन् ।

आतिशीका पिता विजय सिंह र माता तृप्ता वासी दुबै दिल्ली विश्वविद्यालयका प्राध्यापक थिए । आतिशीका अभिभावक कम्युनिष्ट विचारका समर्थक थिए । उनी घरमा कम्युनिष्ट विचार र समाजवादी आन्दोलनको इतिहासका किताब पढ्दै हुर्किएकी थिइन् ।

उनकी दिदीको नाम जर्मन समाजवादी आन्दोलनकी नेतृ रोजा लेक्जेम्बर्गको नामबाट राखिएको छ– रोजा बसन्ती ।

बुबाआमा कम्युनिष्ट भएपनि आतिशीले भिन्नै विचार, राजनीति र पार्टी रोजिन् । उनी अभिभावकको हैन, आफ्नै बाटोमा अघि बढिन् । दिल्लीपछि उनले अक्सफोर्डमा पढेकी थिइन् ।

सन् २००७ मा देश फर्किएर उनीमध्ये प्रदेशको एक स्कुलमा काम गर्न थालेकी थिइन् । त्यही उनको प्रविण सिंहसँग भेट भयो, जो पछि उनको पति भए । सन् २०१० मा आतिशीको मनिष सिसोदियासँग भेट भएको थियो । यसरी उनी अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलन र आम आदमी पार्टीको टिममा जोडिएकी थिइन् ।

सन् २०१३ मा पार्टीको घोषणापत्र मस्यौदा समिति सदस्यको जिम्मेवारी निर्वाह गरेकी थिइन् । सन् २०१५ मा उनी शिक्षामन्त्री सिसोदियाको सल्लाहकार नियुक्त भइन् । सन् २०२० मा उनी पहिलोपटक प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

केजरीवाललाई धेरैले ‘नरम हिन्दुत्व’ मान्ने नेता ठान्दछन् । उनी आफैँ मान्दछन् कि ‘हनुमानमान भक्त’ हुन् । ‘राम भक्त’ प्रधानमन्त्री नरेन्द्र मोदीले शासन गरिरहेको देशमा ‘हनुमान भक्त’ हुनुको राजनीतिक अर्थ कति रहन्छ, त्यो भिन्नै कुरा तर, सेप्टेम्बर १३ को साँझ जेलबाट छुटेर केजरीवाल सरासर हनुमान मन्दिर गएका थिए ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, केजरीवाल पत्नी सुनिता, आप नेताहरू सञ्जय सिंह र मनिष सिसोदियासँगै अतिशी मार्लेना हनुमान मन्दिर पुगेकी थिइन् ।

आफ्नो नाममा भौतिकवादी कार्ल मार्क्स र भ्लादिमिर लेनिनको उपनाम बोकेरै उनी हनुमानको पूजा गर्दै थिइन् ।

अचेल उनलाई यो ‘मार्लेना’ उपनाम त्यति सहज लाग्दैन । उनी अतिशी सिंह मात्र भन्न रुचाउँछिन् । कतिपयले मार्लेना उनको क्रिश्चियन उपनाम हो कि भन्ने शङ्कासमेत गर्छन् । मर्लेना उपनामले उनको राजनीतिक यात्रा र वैचारिक आस्थासँगको सम्बन्धलाई असहज बनाएको छ ।

सन् २०१९ मा एक चुनावी सभामा उनले भनेकी थिइन्, “मेरो थर सिंह हो, मार्लेना त मेरा अभिभावकले दिएको एक उपनाम मात्रै हो ।”

‘नरम हिन्दुत्व’ अतिशीको आफ्नै छनोट भने हैन, पार्टी नेता अरविन्द केजरीवालको रुचि हो । नेतृत्वसँग तालमेल मिलाउन मात्र उनी ‘हनुमानको शरण’ मा पुगेजस्तो लाग्दछ ।

दिल्लीको मुख्यमन्त्रीबाट केजरीवाल बाहिरिएसँगै आम आदमी पार्टीको नेतृत्वमा नजानिँदो हस्तान्तरण भएजस्तो भान हुन्छ । आपको मुख्य राजकीय जिम्मेवारी अब पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र आतिशी सिंहको हातमा छ ।

अरविन्द केजरीवाल, मनिष सिसोदिया र सञ्जय सिंह उनीहरूलाई पर्दा पछाडिबाट परिचालित गर्नु पर्ने स्थितिमा पुगेका छन् । सत्येन्द्र जैन अहिले पनि जेलमै छन् । आपका एक अर्का विधायक अमनातुल्ला खानसमेत भ्रष्टाचारको केसमा पक्राउ परेका छन् । उनी सन् २०१९ मा शाहिन बाग क्षेत्रबाट निर्वाचित विधायक हुन् ।

तर, केजरीवालले दिल्लीको मुख्यमन्त्रीमा फर्किने आशा अझै छोडेका छैनन् । उनी पुन: निर्वाचित भएर फर्किने सोचमा छन् । आगामी वर्ष दिल्लीमा नयाँ विधानसभा निर्वाचन हुनु पर्नेछ । यस अघि सन् २०२० मा निर्वाचन भएको थियो ।

पार्टी र नेतृत्वले असहज स्थिति सामना गर्नुपर्दा आतिशीले छोटो समयमै भारतजस्तो देशको राजधानी राज्यको नेतृत्व गर्ने अवसर पाएकी छन् । सँगसँगै उनको चर्चा विश्वभरि छाएको छ । तर, यति कारणले मात्र उनको राजनीतिक भविष्य तय हुन सक्दैन । अतिशीको राजनीतिक भविष्य तब मात्र सम्भव हुनेछ जब उनले मुख्यमन्त्रीको रूपमा राम्रो परिणाम दिनेछिन् ।

त्यसो त अहिले आप पार्टीको भविष्यलाई लिएर अनेक आशङ्का छन् । दुई प्रदेशको सत्तारुढ दल भएर पनि गत लोकसभा निर्वाचनमा आपले राम्रो नतिजा हासिल गर्न सकेन । दिल्लीका सातवटै सिटमा पराजित भयो । देशभरिबाट जम्मा ३ सिट मात्रै जित्न सक्यो ।

दिल्लीको आगामी प्रदेशसभा निर्वाचन आपका लागि अघिल्ला निर्वाचनजस्तो सहज नहुने अनुमान गरिन्छ । आपले दिल्ली गुमायो भने केजरीवालसँगै आतिशी पनि कमजोर हुनेछिन्, साथै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका झनै अन्योलग्रस्त हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved