टिप्पणी

रुसमा किन जन्मिन्छन् स्टालिन र पुटिनजस्ता शासक ?

यसको समस्या सधैँ ‘स्व’ वा ‘पहिचान’ को भावना हैन । स्वपहिचान त रुससँग सधैँ थियो, छ र हुनेछ । तथ्य के हो भने यसको क्षमता यसका अपेक्षासँग कहिल्यै मेल खाएनन् । रुस सधैँ आकाङ्क्षा प्राप्तिको सङ्घर्षमा हुन्छ । महाशक्ति रहिरहने आकाङ्क्षा पूरा गर्न चाहन्छ । तर, सक्दैन ।

रुसमा किन जन्मिन्छन् स्टालिन र पुटिनजस्ता शासक ?

रुसमा जोसेफ स्टालिन, भ्लादिमिर पुटिनजस्ता शासकको उदय किन हुन्छ ? यो प्रश्नको उत्तर प्राप्त गर्न रुस कस्तो देश हो भनेर बुझ्न आवश्यक छ ।

रुस एक उल्लेखनीय सभ्यता हो । कला, साहित्य, सङ्गीत, नृत्य, चलचित्र हरेक क्षेत्रमा यो एक देशभन्दा बढी सभ्यता हो । रुसले सधैँ यस्तो महसुस गर्दछ कि यो एक ‘विशेष स्थान’ हो र यसको ‘विशेष मिसन’ छ ।

रुस एक ‘पूर्वी अर्थोडक्स’ हो, पश्चिमी हैन । र, यो एक ठूलो शक्तिको रूपमा खडा हुन चाहन्छ । यसको समस्या सधैँ ‘स्व’ वा ‘पहिचान’ को भावना हैन । स्वपहिचान त रुससँग सधैँ थियो, छ र हुनेछ । तथ्य के हो भने यसको क्षमता यसका अपेक्षासँग कहिल्यै मेल खाएनन् ।

रुस सधैँ आकाङ्क्षा प्राप्तिको सङ्घर्षमा हुन्छ । महाशक्ति हुने आफ्नो आकाङ्क्षा पूरा गर्न चाहन्छ । तर, सक्दैन । किनकि पश्चिम रुसभन्दा शक्तिशाली भएको छ ।

रुस एक महाशक्ति हो तर, सधैँ हैन । इतिहासका केही क्षणमा बाहेक रुस महाशक्ति रहन सकेन । रुस पश्चिमसँग शक्तिको बराबरी गर्न चाहन्छ । तर, जब क्षमताले भ्याउँदैन, तब जबरजस्ती गर्न चाहन्छ ।

यहाँनेर बुझ्नुपर्ने रोचक कुरा छ, शक्तिको आकाङ्क्षा जबरजस्तीले पूरा हुँदैन । यसो भनौँ, सदाबहार महाशक्ति बन्ने रुसी अपेक्षालाई क्षमताले साथ नदिएपछि इतिहासको बाटो गडबढाउँछ ।

तसर्थ, रुस राज्यकेन्द्रित दृष्टिकोणमा पुग्दछ । रुसलाई लाग्दछ कि पश्चिमलाई हराउन राज्यलाई बलियो बनाउनु पर्दछ । तसर्थ, उनीहरू सैन्यकरणमा जोड दिन्छन । अर्थतन्त्रको राज्यकरण गर्दछन् ।

यस्तो प्रयासले एउटा समयमा काम गर्दछ तर, सतही र क्षणिक रूपमा मात्र । महाशक्ति बन्ने आकाङ्क्षामा रुसले सैन्य शक्ति बढाउँछ । आर्थिक बृद्धि बढाउँछ । तर, त्यसपछि एउटा यस्तो अवस्था आउँछ, त्यही बाटोमा हिँड्दै जाँदा पर्खालमा टाउको ठोकिने स्थितिमा पुग्छ ।

स्थिरता र गतिरोध आउँछ । समस्या झनै बढ्छ । समस्या सामधान गर्न खोजिन्छ तर, झनै बिग्रिन्छ । रुस पश्चिमसँगको आर्थिक बृद्धि, सैन्य शक्ति र प्रविधिको दूरी पुर्न खोज्छ तर, झनै फराकिलो हुन्छ ।

रुसी इतिहासको विरोधाभास नै यही हो । पश्चिमसँग सधैँ बन्दै आएको दूरीलाई व्यक्तिगत शासकको क्षमताबाट परिपूर्ति गर्न खोज्छ । बलियो राज्य बनाउने र पश्चिमलाई जित्ने चाहनाले रुस बलियो शासक बनाउन पुग्दछन् । जार, स्टालिन वा पुटिन यही रुसी भावनाको जगमा जन्मिएका हुन् ।

अन्ततः तिनले व्यक्तिवादी शासक पाउँछन् । एक तानाशाह पाउँछन् । तानाशाही औसत निरङ्कुश हुन्छ । तिनले ठूलो शक्ति बन्ने आकाङ्क्षा त राख्दछन् तर, सक्दैनन् । अनि बलियो राज्य, व्यक्तिवादी शासक र निरङ्कुश शासनमा फस्दछन् । युरेसियन शक्ति एंग्लो-अमेरिकन शक्तिको प्रारूपभन्दा कमजोर छ । इरान, रुस र चीन तीनवटै देशको शक्तिको प्रारूप एउटै हो, असमान क्षमतास्तरमा पश्चिमलाई पछ्याउन खोज्नु । पश्चिमलाई समात्न र बराबरी गर्न खोज्नु ।

यही कारणले युद्ध एक गलत पूर्वानुमान ‘मिस क्याल्कुलेसन’ बन्न पुग्छ । युद्धको सत्य कसैको विश्वास, मान्यता वा चाहनामा आधारित हुँदैन । गलत पूर्वानुमानबाट सृर्जित युद्ध जितिनेभन्दा हारिने सम्भावना धेरै हुन्छ ।

नि:सन्देह भ्लादिमिर पुटिनको अहिलेको शासन जारको जस्तो वा स्टालिनकै जस्तो हैन । संसार बदलिएको छ । शिक्षा र शहरीकरण बदलिएको छ । शक्तिका ढाँचा बद्लिएका छन । यी यथार्थबाट कोही पनि भाग्न सक्दैन । तर, रुसी शक्तिको संरचना, प्रारूप वा आकाङ्क्षा भने अहिले पनि उही हो । आकाङ्क्षा ठूलो क्षमता कम । कम्तीमा पश्चिमसँगको तुलनामा ।

जब एक तानाशाह, व्यक्तिवादी निरङ्कुश शासक सत्तामा हुन्छ, उसले निर्णय गर्दा सायदै कसैको सल्लाह लिन्छ ।

सम्भवत: उसले त्यस्ता सूचना सुन्न चाहँदैन, जो उसलाई मन पर्दैन । मानिस जब कमभन्दा कम अरुको कुरा सुन्छ, ऊ एकलकाँटे हुँदै जान्छ । उसलाई अरुबाट केही सुन्नु नै हुँदैन । उसले सुन्नुपर्ने कुरा सुन्दैन, सुन्न चाहेको कुरा मात्र सुन्दछ ।

निरङ्कुश शासकको समस्या नै यही हो । ती ठान्दछन् कि ती श्रेष्ठ, उच्च र चतुर छन् । निरङ्कुशताले अन्ततः आफ्नै कमजोरीको एक परिस्थिति सृजना गर्न थाल्दछ । सुधारात्मक संयन्त्र कमजोर हुँदै जान्छन् । गल्तीहरू परिणात्मक हुँदै जान्छन् ।

पुटिनले ठानेको कुरा यही हो, युक्रेन वास्तविक देश हैन, युक्रेनी वास्तविक जनता हैनन् । ती रुस र रुसी जस्तै: उस्तै एउटै हुन् । उनले ठाने कि युक्रेनी सरकारलाई एक धक्कामै ढाल्न सकिन्छ । यो उनलाई कसैले भनेको हैन, उनी आफैँले ठानेको हो कि किभ केही दिनमै पतन हुन सक्दछ । रुसी सेनाको शक्तिले किभको राष्ट्रपतिलाई उनले चाहेजस्तो कागजमा हस्ताक्षर गर्न बाध्य पार्नेछ ।

यो ‘मिस क्याल्कुलेसन’ थियो । रुसी इतिहासमा यस्तो गलत पूर्वानुमान पहिलो हैन । एकपटक सन् १९६८ को ‘प्राग स्प्रिङ’ बारेमा सोचौँ । अलेक्जेन्डर दुब्चेकको सुधारलाई रोक्न, ‘समाजवादको मानवीय अनुहार’ लाई जोगाउन बार्सा सम्झौताअनुरूप लियोनिद ब्रेझनेभले सोभियत सेना प्राग पठाए । त्यो यस्तै एक गलत पूर्वानुमान थियो ।

अर्को उदाहरण छ, सन् १९७९ को अफगानिस्तान घटना । सोभियत सेनाले अफगानिस्तानमा हस्तक्षेप गरे, काबुलमा एक टुकडी जासुस र लडाका पठाएर ‘कू’ गराइयो । अफगान नेतृत्वको हत्या भयो र बर्बरा कार्मलको कठपुतली सरकार स्थापना गरियो । ब्रेझनेभले सत्ता परिवर्तन त गराए तर, १० वर्षे अफगान युद्धको परिणाम के आयो, सबैलाई थाहा छ ।

अफगानी जनताजस्तै युक्रेनी जनता पनि आफ्नो देशको लागि लड्न र मर्न सक्दछन् भन्ने पुटिनले सोच्दै सोचेनन् । यहाँनेर पनि रुसको गलत पूर्वानुमान भयो । पुटिनले ठाने यो बहुध्रुवीय विश्व हो, नयाँ महाशक्तिका रूपमा चीनको उदय भइसकेको छ । पश्चिमको पतन भइरहेको छ । ठीक यही बेला युक्रेनजस्तो एक ‘फेक नेसन’ लाई उनले ठेगान लगाउन सक्दछन् । यो पनि एक गलत पूर्वानुमान थियो ।

‘पश्चिम’ भनेको कुनै देश वा भौगोलिक स्थान हैन । यो संस्था र मूल्यहरूको शृङ्खला हो । ‘युरोप’ र ‘पश्चिम’ को अवधारणाका बीच भिन्नता छ । रुस पनि युरोपेली देश हो तर, पश्चिम हैन । जापान युरोपमा छैन तर, पश्चिम हो । पश्चिम भनेको युरोपियन वा अमेरिकन हुनु हैन ।

पश्चिम भनेको लोकतन्त्र, विधिको शासन, निजी सम्पत्ति, खुल्ला बजार, व्यक्तिको सम्मान, विविधता, विचारको बहुलवाद र अन्य सबै प्रकारका स्वतन्त्रताहरू हुन् । हामी यी चिज भोग्छौँ तर, कहिलेकाहीँ बिर्सन्छौँ । यथार्थमा पश्चिम भनेको यही हो ।

यी चिजहरू भ्लादिमिर पुटिन र सी चिन फिङबाट अपेक्षा गर्न सकिँदैन । पश्चिमसँग युरेसियन शक्तिको मुख्य दूरी यो हो । अरु तरिकाले यो खाडल पूरा हुँदैन ।

किभको पतन हुने वा नहुने स्थितिलाई कसरी बुझ्ने भन्ने बिषय यससँग जोडिन्छ । यदि तपाईं ठान्नुहुन्छ कि पश्चिम कमजोर भएको छ, अफगानिस्तानबाट अमेरिका भागेको छ । पश्चिमको पतन हुँदैछ । युक्रेन वास्तविक राष्ट्र हैन, युक्रेनी जनता वास्तविक जनता हैनन् । जेलेन्स्की केही हैन, एक टिभी अभिनेता, हाँस्यकलाकार मात्र हो, पूर्वी युक्रेनको एक रुसीभाषी यहुदी हो— दुईचार दिनमै किभको पतनको कल्पना गर्न सकिन्छ तर, यी पनि लगत पूर्वानुमान मात्र हुन् ।

यो सत्य हो कि पश्चिम भनेको नेटो मात्र भनेर बुझ्ने हो भने यो रुस र चीनसँग हार्न सक्दछ । नेटो पश्चिमको वास्तविक शक्ति हैन । नेटोको विस्तारले पश्चिमको विस्तारलाई मद्दत गदर्छ । तर, नेटो भन्नु नै पश्चिम हैन ।

जब यो अवधारणा संस्था र मूल्य प्रणालीको शृङ्खलामा जोडिन्छ, हार्न सम्भव नै हुँदैन । युरेसियन शक्तिको कमजोरी नै यही हो, तिनले सभ्यताको गौरवगाथाको कथा हाले । सभ्यताको महानताको कुरा गरे ।

हो, युरेसियन सभ्यता हो । इतिहास हो । पहिचान हो तर, समकालीन विश्वमा यसको मूल्य प्रणाली के हो ? छैन । यो अभावले नै स्टालिन र पुटिन जन्मिने हुन् । पश्चिमलाई यस्ता शासक जरुरी नै पर्दैन । किनकि पश्चिमसँग संस्था र मूल्यहरू छन् । शासक जो आए पनि केही फरक पर्दैन ।

महानताको कथा हालेर गौरवगाथाले मात्र युद्ध जितिँदैन । कथा निर्मित रणनीति प्रत्युत्पादक हुन सक्दछन् । सन् १९४० मा नाजीहरू किभ पुगेका थिए । तिनले सबै विलासी होटल कब्जा गरेका थिए । केही दिन मस्ती गरे । त्यसपछि त्यस्ता होटल नै ध्वंस्त पार्न थालियो ।

युक्रेनीहरूको प्रतिरोधको आफ्नै तरिका छ । त्यही कारण हो, पुटिनको अनुमानअनुरूप किभको पतन भइरहेको छैन । र, युद्ध अझै कति लम्बिन्छ, कसैले भन्न सक्दैन ।

कसको पतन पहिले हुन्छ ? किभको कि पुटिनको ? यो इतिहासको रोचक प्रश्न हो । तत्काल दुवैको पतन सम्भव देखिँदैन । तर, कुनै न कुनै दिन त हुनै पर्छ । इतिहास सधैँ यही बिन्दुमा अड्केर बस्न सक्दैन । कि दुवैको पतन हुँदैन ? संवाद, सम्झौता र शान्तिको प्रक्रिया अघि बढ्छ ।

युद्धसँग यस्ता अनेकन् सम्भावना हुन्छन् । यो युद्धको सबैभन्दा खतरनाक पक्ष युद्ध यसरी लम्बिँदै जाँदा कुनै दिन आणविक हतियारको प्रयोग हुने त हैन ? रुससँग आणविक क्षमता छ । पुटिनले कुनै दिन त्यसको बटन थिच्ने त हैनन् ?

(द न्यूओर्करको एक लामो अन्तर्वार्ताबाट सम्पादित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved