गाँउघर र देश-प्रदेश डुलिबस्दा आजकल आशाभन्दा धेरै निराशासँग साक्षात्कार हुन्छ । राजनीति, पार्टी र नेतासँग रिसाएका मान्छेहरू यत्रतत्र भेटिन्छन् । उनीहरूको गुनासो हुन्छ— देश बनेन ।
त्यसो त सहरमा पनि देश नबनेको खटपटी कम्ता छैन । त्यसैले होला, सहरमा देश किन बनेन भन्ने प्रश्नमा अनेकन् विमर्शहरू भइरहन्छन् । पत्रिकाका आलेख, होटेलका गोष्ठी, बुद्धिजीवीका कार्यपत्र र अनुसन्धानशालाका तथ्याङ्कमा प्राय: देखिने एउटै साझा निष्कर्ष छ— देश बनेन ।
तर, किन बनेन देश ? को हो दोषी ? एक दिन मलाई यो प्रश्नमाथि ती मान्छेको कुरा सुन्न मन लाग्यो, जो यस्ता प्रश्नमाथि हुने बौद्धिक बहसमा प्राय: कतै भेटिँदैनन् । होटेलका बहस र पत्रिकाका ओपेडभन्दा पर बस्ने मान्छेहरू, जो खेतमा भेटिन्छन्, अथवा जो सडकमा छन्, उनीहरू यी प्रश्नमा कसरी सोच्दा हुन्, मलाई त्यो जान्न मन लाग्यो । अथवा, मलाई सुन्न मन लाग्यो कि ती मान्छेका कुरा, जो राजनीतिको भीडभाडभन्दा पर गाई पालेर वा तरकारी रोपेर बसेका छन् ।
म सुन्न चाहन्थेँ, चिया पसलका कुरा । जहाँ किन बनेन देश भन्ने प्रश्नमाथि छलफल होस् । बुद्धिजीवीका भाषण, विद्वान्का कार्यपत्र र अभियन्ताका आलोचना त सुनिएकै हो । यो प्रश्नमा भारी बोकिरहेको भरिया, सार्वजनिक बसमा कोचिएर यात्रा गरिरहेको विद्यार्थी र माटो खनिरहेको कामदारको जवाफ के होला ?
यो प्रश्नमा सडकको हिलोमा चिप्लिएर लडेको यात्रु र सन्तानलाई विदेश पठाउन एयरपोर्ट आएकी आमाको जवाफ के होला ? यो प्रश्नमा तरकारी किन्दै गरेकी गृहणी र आफ्नो बच्चालाई उपचार गर्न अस्पतालको लाइनमा बसेको थकित पिताको जवाफ के होला ?
मलाई ‘थाहा’ चाहिएको थियो, कतै बौद्धिक निष्कर्ष र सडकको मनोविज्ञानमा फरक त छैन ?
मैले भदौको पहिलो हप्ता यी प्रश्नहरूमाथि भेटेसम्मका मान्छेसँग कुरा गर्ने निर्णय गरेँ । मान्छेसँग कुरा गर्दै म कागेश्वरी मनोहराका फाँट, तरकारी बारी र मूलपानीतिरका गाई फार्म घुमेँ । प्रभातकालीन भ्रमणदेखि चिया पसलसम्म मसँग थिए मेरा उनै प्रश्नहरू ।
म मान्छे भेट्नासाथ प्रश्न गर्थेँ । देश किन बनेन ? देश नबन्नुको मुख्य दोषी को हो ? मैले यत्रतत्र यी प्रश्नहरू सोधेँ । परिवारका सदस्यसँग सोधे । आफन्तसँगका भेटघाट र सार्वजनिक स्थानमा सोधेँ । बसमा सोधेँ, तरकारी पसलमा सोधेँ र चोकमा सोधेँ । मैले एकहप्तामा लगभग सय मान्छेसँग यी प्रश्नहरू गरेँ । यो मेरो अनौपचारिक र आफ्नै सुरको अनुसन्धान थियो ।
यो लेख तिनै मान्छेका विचारहरूबाट प्रेरित छ ।
देश किन बनेन ?
देश किन बनेन ? देश नबन्नुको पछाडि मुख्य दोषी को हो ? जब म प्रश्न गर्थेँ, मेरो कुराकानीमा लगभग ७० प्रतिशतको सिधा जवाफ थियो, “देश नेताहरूको कारणले बनेन ।” को नेता ? शीर्ष नेता । को शीर्ष नेता ? कतिपयले नामै किटान गरेर भने, “देउवा, ओली र प्रचण्ड ।”
मान्छेहरू जब तीनजना नेताको नाम लिन्थे, उनीहरूको अनुहारमा क्रोध देखिन्थ्यो र आँखामा देखिन्थ्यो विद्रोहको आगो ।
यस्ता उत्तर दिनेहरूको साझा मत थियो, “यी तीनजना नेताबाट अब हुँदैन ।” मैले भेटेका मान्छे यी नेताप्रति यति धेरै आक्रोशित थिए कि उनीहरूले व्यक्त गरेको आक्रोश यहाँ शब्दमा लेख्न पनि सकिँदैन ।
मैले कुराकानी गरेका झन्डै १३ प्रतिशत मान्छेहरू भने अलिकति फरक सोच्थे । उनीहरू ठान्दथे कि ‘लोकतन्त्रमा व्यक्तिको भूमिका नगन्य हुन्छ । त्यसैले देश नबन्नुमा नेताभन्दा पार्टीहरू दोषी छन् ।’ उनीहरूको निष्कर्ष थियो,”हाम्रा पार्टीहरूमा देश बनाउने सपना, योजना, रणनीति र कार्यदिशा छैन । युगको चेतनाबाट पर बसेर हाम्रा पार्टीहरू फगत चुनावको अङ्कगणितमा रमाइरहेका छन् ।”
के पार्टीहरू बिग्रनुमा पनि उनै नेताहरू दोषी छैनन् ? म प्रश्न गर्थेँ । उनीहरूको जवाफ हुन्थ्यो , “अवश्य नै पार्टी बिग्रनुमा पनि मुख्यतः उनै नेताहरू दोषी छन् । तर, जुन पार्टीका सदस्यहरू आफ्नो सार्वभौम शक्ति नेताको चरणमा समर्पित गरेर चम्चा, झोले र अरिङ्गाल बन्नमै रमाउँछन्, पार्टी बिग्रनुमा उनीहरूको दोष पनि कम छैन ।”
यस्तो विचार राख्नेहरूको साझा निष्कर्ष थियो, “कुवाजस्ता जमेका पार्टीहरू नै यो सङ्कट र गतिहीनताको मुख्य कारण हुन् । जहिलेसम्म या त यी पार्टीहरू सुध्रँदैनन्, अथवा नयाँ र राम्रा पार्टीहरू राजनीतिक प्रतिस्पर्धामा आउँदैनन्, देश बन्दैन ।”
मैले कुराकानी गरेका बाँकी १२ प्रतिशत मान्छे देश नबन्नुमा राजनीतिलाई भन्दा कर्मचारी प्रशासनलाई धेरै दोषी ठान्दथे । उनीहरूको भनाइ थियो, “हाकिम नेताका चाकर भए, नागरिकका सेवक भएनन् ।” यस्तो विचार राख्नेहरू हाम्रो कर्मचारी प्रशासनलाई क्षमताहीन, भ्रष्ट र पत्रु ठान्दथे ।
मैले कुराकानी गरेकामध्ये लगभग पाँच प्रतिशतले भने देश नबन्नुमा व्यवस्थालाई दोष दिए ।
आरोप के हो ?
प्रश्न आउँछ, किन मान्छेहरू यसरी सोचिरहेका छन् ? अलिक विस्तारमा कुरा गरौँ । जस्तो, नेताका कारण देश बनेन भन्नेहरूका पाँचवटा आरोप थिए । पहिलो आरोप थियो, नेता दलालहरूको घेरामा परे र विस्तारै स्वयम् दलाल बन्दै गए । कमलकोठीको गुँड भयो नेताको कोठरी ।
दोश्रो आरोप थियो, नेता व्यक्तिवादी भए । देश र नागरिकप्रति उनीहरूमा कुनै निष्ठा, सङ्कल्प र प्रतिबद्धता रहेन । तेश्रो आरोप थियो, नेताका लागि एजेन्डाभन्दा सत्ता प्यारो भयो । सत्ताका लागि उनीहरूले आफ्नो इमान, जमान, सिद्धान्त, एजेन्डा सबै त्यागे ।
मैले कुरा गरेका मान्छेहरूले नेतालाई लगाउने, चौथो आरोप थियो नेता भ्रष्ट भए । कसरी ? मेरो प्रश्नको जवाफ दिँदै मान्छेहरूले भन्थे, “उनको जीवनशैली, जोडिएको सम्पत्ति र रहनसहन हेर्दा त्यो स्पष्ट हुन्छ । उनका सेवकहरूको रवाफ हेर्दा त्यो देखिन्छ । उनीहरूले चुनावमा गरेको खर्च हेर्दा त्यो पुष्टि हुन्छ तर, यहाँ भ्रष्टाचार आर्थिक मात्र हैन, आचरण, निष्ठा र विचारमा पनि भइरहेको छ । अर्थात् उनीहरू यति धेरै भ्रष्ट भए कि भ्रष्टाचार स्वाभाविक प्रवृत्ति बन्यो । यति स्वाभाविक कि उनीहरूलाई आफू भ्रष्ट हुँ भन्नेसम्म पनि लाग्न छोड्यो ।”
मान्छेहरूले नेतालाई लगएको पाँचौँ आरोप थियो क्षमताको । मान्छेहरू ठान्दथे कि हाम्रा नेताहरू क्षमताहीन छन् । कतिपयको टिप्पणी निकै कडा थियो । एकजना प्रश्न गर्दै थिए, “वडाध्यक्ष हुनुपर्ने मान्छे प्रधानमन्त्री भएपछि देश कसरी बन्छ ?”
मान्छेहरूले नेतालाई लगएको पाँचौँ आरोप थियो क्षमताको । मान्छेहरू ठान्दथे कि हाम्रा नेताहरू क्षमताहीन छन् । कतिपयको टिप्पणी निकै कडा थियो । एकजना प्रश्न गर्दै थिए, “वडाध्यक्ष हुनुपर्ने मान्छे प्रधानमन्त्री भएपछि देश कसरी बन्छ ?”
यसैगरी देश नबन्नुमा पार्टीलाई दोष लगाउनेहरूको मुख्य गुनासो थियो, दलहरू निजी कम्पनीमा फेरिए र स्वयम् भ्रष्टाचार र दलालीका अड्डा भए । पार्टीभित्र सामूहिकता र लोकतन्त्र सकियो । किन यसरी पार्टीहरू अर्थहीन, ऊर्जाहीन र नष्ट हुँदै गए भन्ने प्रश्नमा उनीहरूको साझा आरोप कार्यकर्तामाथि थियो ।
मान्छेहरू ठान्दथे कि पार्टीका कार्यकर्ता नेताका फगत, चाकर, चम्चा र सेवकमा रूपान्तरित भए । आलोचना र प्रश्न सकियो । लोकतन्त्रमा जब पार्टीहरू नै लोकतान्त्रिक हुँदैनन् त लोकतन्त्र बन्छ कसरी ?
देश नबन्नुमा कर्मचारी प्रशासनलाई दोष लगाउनेहरूका तीनवटा आरोप थिए । पहिलो आरोप थियो, कर्मचारी नेतृत्व दलको छाँया भयो । दोश्रो आरोप थियो, कर्मचारी प्रशासनमा भ्रष्टाचार संस्थागत भयो । तेश्रो आरोप थियो, क्षमता, योग्यता र ऊर्जाको कमी । खासगरी मान्छेहरू कर्मचारीमा स्थायी नियुक्ति खारेज गर्नुपर्ने र युवा पुस्तालाई आकर्षित गर्नुपर्ने ठान्दथे । अन्यथा, अहिलेकै कर्मचारी प्रशासन यथावत् राखेर देश अगाडि नबढ्ने उनीहरूको मत थियो ।
व्यवस्थालाई दोष दिनेहरू मूलतः राजावादी थिए । उनीहरू ठान्दथे नेता त ठिकै हुन्, व्यवस्थाले उनीहरूलाई खराब बनाएको हो । नेताका कारण दलहरू बिग्रिएका होइनन्, गणतन्त्रका कारण दलहरू बिग्रिएका हुन् । मलाई पूर्वाग्रही भन्नु भए सहन्छु तर, म यो विश्लेषणमा सहमत थिइनँ । र, यो विषयमा धेरै चर्चा गर्नु आवश्यक पनि ठानिनँ ।
सत्य के हो ?
थोरै विचार गरौँ, के मान्छेहरू सत्य बोल्दैछन्, कि तथ्यहीन कुरा गरिरहेका छन् ? के नेता, राजनीति र राजनीतिक दल बिग्रिएकै हुन् कि हाम्रो समाज पूर्वाग्रहले ग्रस्त छ ? कतै मान्छेहरू नकारात्मक प्रवृत्तिको सिकार त भएका हैनन् ? एकछिन मान्छेले दल र नेतालाई लगाएका आरोप र गुनासाको परीक्षण गरौँ ।
मान्छेले किन नामै किटेर तीनजना नेतालाई असफल, क्षमताहीन र भ्रष्ट भने ? त्यो यसकारण कि यी नेताहरू पछिल्लो लगभग ३५ वर्षदेखि नेपाली राजनीतिको केन्द्रमा छन् । ०४६ साल, ०५१ साल, ०६३ र ०७२ साललाई राजनीतिक घटनाहरूको कोशेढुङ्गो मानेर हेर्दा पनि यी नेताहरू त्यो सबै ठाउँमा निर्णायक देखिन्छन्, जहाँ राजनीतिले नयाँ मोड लिएको थियो ।
तर, किन हाम्रो लोकतन्त्र, नेतातन्त्रमा सङ्कुचित भयो ? किन हाम्रा विश्वविद्यालयले झन्झन् साख गुमाउँदै गए ? किन हाम्रा स्कूलले गुणस्तर खस्कँदो छ ? किन अस्पतालमा उपचार छैन ? किन देशको ऋण बढ्दैछ, निर्यात घट्दैछ र आयात चुलिँदैछ ? ठूला र महत्त्वपूर्ण आयोजनाहरू पाँच पटकसम्म समय थप्दा पनि पूरा हुँदैनन् र भ्रष्टाचार बढ्दैछ किन ? किन हाम्रो अन्तर्राष्ट्रिय छवि बिग्रँदै छ ? यी यस्ता साङ्केतिक प्रश्न हुन्, जसलाई जतिसुकै सकारात्मक भएर हेर्दा पनि सकारात्मक जवाफ भेटिँदैन ।
मान्छेको दैनिक जीवन सङ्कटमा छ । मूल्यवृद्धि र कालोबजारी चर्को छ । उपभोक्ता दिनदिनै ठगिँदैछन् । हाकाहाकी राज्यहीनता र लुट् बढ्दो छ । युवा पलायन मात्र छैन, बौद्धिक पलायन अझ तीव्र छ । किन यस्तो छ ? किन आशाहरू हराउँदैछन् ?
के यस्ता यावत् प्रश्नको जवाफ दल र सरकारले दिनु पर्दैन ? के यसको उत्तरदायित्व तिनीहरूले लिनुपर्दैन, जो बितेका ३० वर्षदेखि प्रधानमन्त्री वा पार्टीको प्रमुख छन् ?
अझै पनि हाम्रा दश लाखभन्दा धेरै मान्छे वार्षिक कामको खोजीमा भारत र अन्य देशमा जान्छन् । हाम्रा युवा भाडाको सिपाही बनेर मरिरहेका छन् । रुस, युक्रेन, इजरायल र गाजा त पछिल्ला उदाहरण मात्र हुन् । राष्ट्र निर्माणको काम अधुरै छ । राज्य न्यायपूर्ण, समावेशी र लोकतान्त्रिक छैन । के यसको दोष उनीहरूलाई जाँदैन, जसले बितेका ३५ वर्षदेखि आफ्ना मतदातालाई कहिल्यै न्याय गरेनन् ।
आज भ्रष्टाचार राजनीतिक प्रवृत्ति बन्दैछ । भ्रष्टाचारको त्यान्द्रो पछ्याउँदै जाँदा त्यो पुग्छ या त प्रधानमन्त्रीको सचिवालयसम्म, अथवा पुग्छ पार्टी प्रमुखको सचिवालयसम्म । आफ्नै घरभित्र भ्रष्टाचार पसेको थाहा पाएर पनि चुपचाप बस्नेले यसको अन्त्य गर्छ कसरी ? अहिले त यस्तो देखिँदैछ कि विस्तारै राज्य नै भ्रष्टाचारमा संलग्न हुँदैछ । के यसको जवाफ उनीहरूले दिनु पर्दैन, जो बितेको ३० वर्षदेखि सत्ताको शिखरमा बसेर तर मारिरहेका छन् ?
जगजाहेर छ, आज हामी गरिबी, असमानता र दिशाहीनतामा फसेका छौँ । एकातिर दरबारमा लुट छ, अर्कोतिर भुइँमान्छे जीविकाको कष्टमा छन् । तथ्यहरूले भन्छन्, नेपालमा ४५ लाख मान्छेहरू खाना, नाना र छानाको सकसमा छन् । अझै १५ लाख मान्छेहरू बिजुलीको पहुँच बाहिर छन् । लगभग १० लाख बालबालिका अझै निकृष्ट श्रम गर्दछन् । र, ४० प्रतिशत नागरिकलाई स्वास्थसेवा सर्वशुलभ छैन ।
अझै पनि हाम्रा दश लाखभन्दा धेरै मान्छे वार्षिक कामको खोजीमा भारत र अन्य देशमा जान्छन् । हाम्रा युवा भाडाको सिपाही बनेर मरिरहेका छन् । रुस, युक्रेन, इजरायल र गाजा त पछिल्ला उदाहरण मात्र हुन् । राष्ट्र निर्माणको काम अधुरै छ । राज्य न्यायपूर्ण, समावेशी र लोकतान्त्रिक छैन । के यसको दोष उनीहरूलाई जाँदैन, जसले बितेका ३५ वर्षदेखि आफ्ना मतदातालाई कहिल्यै न्याय गरेनन् ।
मैले प्रश्न गरेका मान्छेहरू भन्दै थिए, बितेको ३५ वर्षदेखि सत्तामा यिनै छन्, सडकमा यिनै । सरकारमा यिनै छन्, प्रतिपक्षमा यिनै । योबीचमा यिनीहरू नै पटक पटक प्रधानमन्त्री भए । पार्टीका प्रमुख भए । सांसद यिनै भए । यिनै विपक्षी दलको नेता भए । तर, पनि देश बनेन त यसको जिम्मेवारी लिने कसले ?
यो प्रश्न सुनिसकेपछि मैले भनेँ, तर देश त ठूलो कुरा हो नि ? तीनजना नेतालाई दोष लगाएर हामी सबै उम्कन मिल्छ । मान्छेहरूले मलाई नै प्रतिप्रश्न गरे, ‘के देश नबन्नुमा प्रधानमन्त्री नभएर हामी किसान दोषी हौँ त ? यदि हामी दोषी हौँ भने सजाय भोग्न तयार छौँ । भोट हाल्नु र स्वयम् ठगिनु हाम्रो दोष थियो भने हामीलाई सजाय हुनुपर्छ । अन्यथा, आफूले काम गर्न नसकेकोमा नेताहरूले नेपाली जनतासँग माफी माग्नुपर्छ र राजनीतिबाट सन्न्यास लिनुपर्छ ।’
मान्छेहरूको कुरा स्पष्ट थियो । मलाई लाग्यो, सार्वजनिक बसमा यात्रा गरिरहेको युवा होस् वा तरकारी किन्दै गरेकी गृहिणी, आफ्नो बच्चालाई स्कूल पुर्याइरहेका पिता होस् या त इँटा बोक्दै गरेको मजदुर; सबैलाई थाहा छ, देश उनीहरूका कारण नबनेको होइन । देश तिनीहरूका कारण नबनेको हो, जो राज्य र पार्टीमा दशकौंदेखि कुण्डली मारेर बसेका छन् । जहाँ बस्न उनीहरू किमार्थ योग्य थिएनन् र छैनन् ।
हेडक्वाटर भत्काउ
के गर्ने त अब ? मान्छेहरूको सिधा कुरा छ, जबसम्म तीनजना नेता र उनीहरू वरिपरिको झुण्ड राजनीतिको निर्णायक स्थानमा रहन्छ, देश बन्दैन । अतः आज राजनीतिमा गर्नुपर्ने तीनवटा काम छन् । पहिलो, असफल नेताहरूलाई राजनीतिबाट बिदा दिने । दोश्रो, राजनीतिलाई नयाँ सन्दर्भबाट पुनर्गठन गर्ने । तेश्रो, लोकतन्त्रलाई भुइँबाट उठाउने ।
यो काम सजिलै होला त ? यसको सुरुवात कहाँबाट गर्नुपर्छ ? मैले कुराकानी गरेका केही मान्छेहरूको सिधा भनाइ थियो, “पार्टीका हेडक्वाटर भत्काएर यसको प्रारम्भ गर्नुपर्छ । किनभने पुरातन राजनीतिको विकल्पमा रचनात्मक, युग चेतनायुक्त, सबल र गतिवान् नयाँ ‘हेडक्वाटरहरू’ आजको आवश्यता हो ।”
यस्तो हेडक्वार्टर जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरोस् । जसले लोकतन्त्रको चेतनालाई आत्मसात गरोस् । जसले विश्वराजनीतिका नवीनतम् आयामहरूलाई बुझोस् । हामीलाई यस्तो नयाँ नेतृत्व चाहिएको छ, जसले आउने दश वर्षमा जनताका आधारभूत आवश्यता पूरा गर्न सकोस् । अर्को १० वर्षमा समुन्नत राष्ट्र बनाउने ‘मिसन’ बाट अगाडि बढोस् । प्रत्येक मान्छेलाई स्वाभिमान र समृद्धि मिलोस् । र, जनताले आफ्ना नेताहरूप्रति गर्व गर्न सकून् ।
प्रष्ट छ— विचारविहीन, एजेन्डाविहीन, क्षमताहीन नेता र परम्परागत राजनीतिबाट नयाँ युग बन्दैन ।
राजनीतिक पुनर्गठनको प्रारम्भ कहाँबाट गर्ने ? किनभने यो व्यक्तिको मात्र फेरबदल हैन, विचार, एजेन्डा, कार्यशैली र संस्कृतिको फेरबदल पनि हो । मान्छेहरूको भनाइ थियो, “राजनीतिक पुनर्गठन आजको आवश्यकता हो । यसका लागि चौतर्फी हस्तक्षेप आवश्यक छ ।”
यद्यपि, भनिन्छ— रुख जराबाट बिग्रियो भने नासिन्छ, मान्छे टाउकोबाट बिग्रियो भने नासिन्छ । अहिले राजनीति टाउकाबाट नासिन थालेको छ । त्यसैले राजनीतिक पुनर्गठनको प्रक्रिया सुरु हुनुपर्छ टाउकोबाट ।
के समकालीन नेपाली राजनीतिमा क्रियाशील असल मान्छेहरूबाट यो अभिभारा पूरा होला ? के उन्नत र नवीन राजनीति चाहने नयाँ पुस्ताले यसको नेतृत्व गर्ला ? अथवा, पार्टीका युवा पुस्ताहरू के तपाईंहरूसँग आफ्नो ‘हेडक्वाटर’ बदल्ने हिम्मत छ ? अन्यथा, तपाईंको राजनीति समयको बर्बादी मात्र हो । किनभने यथावस्थामा तपाईंको पार्टी र नेताले कुनै नयाँ परिणाम दिने छैनन् । यो कुरालाई फलामका अक्षरले लेखेर राख्नुहोस् ।
[email protected]
Facebook Comment
Comment