साँच्चै भगवान्ले उनलाई चार दशकदेखि सबै थोक दिइरहेका छन् । अहिले भने उनको दु:ख अलि कम भएको छ । उनको पेशालाई अहिले छोराहरूले काँध हालेका छन् । हिसाब-किताब छोराहरूले नै हेर्न थालेदेखि पण्डितलाई धेरै सहज भएको छ ।
काठमाडौं । सानो हाते ह्यामरले काँटी टिकटिक टिकटिक ठोक्दै भगवान्लाई कपडा लगाइदिइरहेका विकाउ पण्डित बेलाबेला रमाइला कुरा गर्दै सँगै काम गर्ने साथीहरूलाई हँसाउन पनि भ्याउँछन् ।
भगवान् सिङ्गार्न व्यस्त आफ्ना छोरा-नातिसरहका सहकर्मीलाई काम गर्दा दिक्क नलागोस् भन्नेमा उनी सचेत छन् । उमेरले ५६ कटेका पण्डित भगवान् बनाउने पेशामा लागेको चार दशक बितिसक्यो ।
उमेरमा ‘दादाजी’ भए पनि उनी निकै रमाइलो छन् । पण्डितले भगवान्को प्रतिमूर्ति बनाएर नै आफ्ना सन्तानको शिक्षा-दीक्षा पूरा गरेका छन् । आफ्ना परिवारको सम्पूर्ण आवश्यकताको जोहो गर्न उनलाई भगवान् बनाएर नै पुगिरहेको छ ।
साँच्चै भगवान्ले उनलाई चार दशकदेखि सबै थोक दिइरहेका छन् । अहिले भने उनको दु:ख अलि कम भएको छ । उनको पेशालाई अहिले छोराहरूले काँध हालेका छन् । हिसाब-किताब छोराहरूले नै हेर्न थालेदेखि पण्डितलाई धेरै सहज भएको छ ।
“कामलाई दु:ख भन्नु हुँदैन, म त काम गर्छु । काम गर्दा खुसी लाग्छ,” पण्डित भन्छन् । निधारको पसिना हातको बाहुलाले पुछ्दै विकाउ पण्डित भन्छन्, “भगवान् मन पर्ने भएकाले सानैदेखि आफूले यो पेशा रोजियो ।”
अक्सर पण्डितलाई लाग्छ, आफूलाई मन पर्ने काममा त चर्किएको घामले पनि नपोल्दो रहेछ ! बारिएको टिनबाट निस्किएको रापले पनि नगुम्साउँदो रहेछ ! वृद्ध भइसकेको उमेरले पनि नछेक्दो रहेछ ! पसिनाले भिजेको शरीरले पनि थकान महसुस नगराउँदो रहेछ ! हो पण्डितलाई यस्तै यस्तै लाग्छ ।
जे देखियो
दिउँसो मध्याह्नको घाम, वरपर टिनले बारिएको टहरा, गर्मीको के कुरा गर्नु । माथिबाट टाङ्गिएको निलो त्रिपालबाट पारदर्शी पारिलो रापले गुमुक्क चोटा रापिरहेको थियो । कर्ममा व्यस्त कालिगड (मूर्तिकार) हरू कोही भगवान्को आँखामा गाँजल लगाइरहेका थिए भने कोही लेप (मूर्तिमा कमेरोले पोत्नु) लगाउन भ्याइ-नभ्याइ थिए ।
सबैलाई बेला बेला निर्देशन पनि दिँदै थिए पण्डित । पण्डितको यो उमेरको जोश र जाँगरले युवा हुँ भन्दै सडकमा चिच्याउँदै सरकारलाई रोजगार माग्नेहरूलाई दरिलो झापड दिइरहेको थियो ।
उनका एक छोरा अर्को साइटमा स्टाफ सम्हाल्दै काममा खटिइरहेका थिए भने कान्छा छोरा वरवरको रेखदेख गर्दै हिसाबकिताबमा व्यस्त देखिन्थे । “चाडबाड नजिकिँदै गर्दा कामको चाप धेरै हुन्छ यति बेला हामी सबै खट्छौँ,” उनले भने ।
‘सानो छँदा मूर्ति बनाउन पराल र माटो चोरेर भाग्थेँ’
पण्डितले १४ वर्षअघि फर्किँदै आफ्नो सुरुवाती दिनका रमाइला किस्सा सुनाए । जति बेला उनका दाइले मूर्ति बनाएर बेच्ने गर्थे । पण्डित हुर्किँदै जाँदा उनलाई पारिवारिक सीपले तान्यो । उनलाई पनि दाइ जस्तै भगवान्को प्रतिमा बनाउन मन पर्थ्यो ।
तर, उनी सानै भएकाले बिगार्ने डरले उनलाई मूर्ति बनाउन दिँदैन थिए । त्यो बेलाको रमाइलो किस्सा सुनाउँछन् पण्डित, “मैले त दाइको पराल र माटो चोरेर मूर्ति बनाएको थिएँ सुरुमा, देखाएर बनायो भने गाली गर्थे त्यसैले चोरेर बनाएको थिएँ ।”
पण्डितलाई सम्झना छ, उनले सुरुमा बनाएको मूर्ति सरस्वतीको थियो । त्यसरी चोरेर मूर्ति बनाएको पछि दाइले थाहा पाउनुभएन भन्ने प्रश्नमा उनी छोटोमा उत्तर दिन्छन्- पाउनुभयो ।
अनि थाहा पाएपछि के भन्नुभयो त ? अब भने उनी बोल्न चाहेनन्, मात्रै फिस्फिसाए । सुरुमा उनले बनाएको सरस्वतीको प्रतिमूर्ति उनले बडो सम्हालेर राखेका थिए । त्यहाँबाट बिस्तारै उनको भगवान् बनाउने व्यवसाय सुरु भयो ।
राजा वीरेन्द्र मन पर्थ्यो
राजा वीरेन्द्रको हत्याभन्दा एक वर्ष अगाडि उनी काठमाडौं आएका थिए । वीरेन्द्रको हत्या हुँदा आफू धेरै रोएको अनुभव बाँड्छन् पण्डित । “हामीलाई राजा वीरेन्द्र मन पर्थ्यो, हत्या हुँदा बहुत दु:ख हुवा, हाम सब रोए,” पण्डितले भने ।
उनी कर्म गर्ने मान्छे, उनलाई अहिलेका नेताहरूप्रति कुनै आश छैन र कुनै वितृष्णा पनि छैन । सरकारले केही दिन्छ जस्तो पनि लाग्दैन उनलाई । आफ्नो काम र परिवारलाई समय दिँदा नै सकिन्छ उनको दिन ।
बेतुकको कुरा छाँटेर, नेताको कुरा काटेर हिँड्ने फुर्सद छैन उनलाई । एक सुरले आफ्नो काममा तल्लीन पण्डितले कहिल्यै ठूलो सपना देखेनन् । “पढाइ छैन हामको, १५ सालमा बिहे गरेँ । त्यसपछि परिवार र काममै बित्यो बाँकी समय,” उनले सुनाए ।
जीवन के हो ?
जीवनको ५५ वर्ष सकाइसकेका उनलाई साथीहरूजस्तै विदेश जाने सोच कहिल्यै आएन । आफूले नपढे पनि उनले आफ्ना सबै सन्तानलाई उच्च शिक्षाको अवसर दिएका छन् । तपाईंको भोगाइअनुसार जीवन के हो भन्ने प्रश्नमा पण्डितको छोटो जवाफ आउँछ, “जिन्दगी त सबको छ ।”
Facebook Comment
Comment