हाम्रो अभियान ‘ट्रेक एन्ड ट्रीट’ केवल आफ्नो सौखको लागि मात्रै थिएन । दूरदराजमा रहेका नागरिकसम्म पुग्ने र अत्यावश्यक भएको ठाँउमा स्वास्थ्योपचार सेवा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य थियो ।
हाम्रो यस अभियानको उद्देश्य स्पष्ट थियो— हाइकिङ्ग फर ए कज ।
त्यहाँसम्म पुग्ने, जहाँ आजको नवीनतम् र उन्नत स्वास्थ्य प्रविधिको युगमा पनि मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । ती जीवनहरूमा थोरै भए पनि परिवर्तन ल्याउने हुटहुटी हामीमा थियो ।
योजना सरल देखिन्थो तर, उत्तिकै गहन र चुनौतीपूर्ण पनि थियो । हामीलाई हिमालहरूलाई पछाडि पारेर ती भूभागसम्म पुग्नु थियो, जहाँका मानिसले पारासिटामोलसमेत पाउँदैनन् ।
म सम्झन्छु, मेरो पहिलो ट्रेक एन्ड ट्रीटको क्षण । तत्क्षणका यादहरू ताजै छन् । सीमित स्रोतसाधन तर, असीमित आशाका साथ हामी हाम्रो सपना भेट्न उत्सुक थियौँ ।
म बिनेश गौतम र मेरो साथी साकार सुवेदी । दुवैजना पेशाले दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस्ट) । तर, ट्रेकिङ र नयाँ ठाउँहरू घुम्न रुचाउने हामीले हाम्रो पेशालाई उत्साह र सौखसँग मिसाएरका थियौँ । हामीले सपना पनि त्यहीसँगै देख्यौँ । जुन चाँडै नै वास्तविकतामा परिणत हुदैँ थियो । हाम्रो खल्तीमा त सीमित पैसा थियो । साथीहरू सुरज र अभिराजको सहयोगमा हामीले आफ्ना आशा, भरोसा, उत्साह र पीडाको कहिल्यै नटुङ्गिने यात्रा सुरु गर्ने निर्णय गर्यौँ ।
हाम्रा यात्रा उद्देश्यहरूले भरिएका थिए । काठमाडौंबाट सुरु गरेर हामीले रारा ताल हुँदै खप्तड राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने योजना बनायौँ र साथै त्यसबीचमा पर्ने विभिन्न विकट गाउँहरूमा आखाँ शिविर गर्ने हाम्रो योजना थियो ।
सन् २०१९ अक्टोबर १२ मा हामीले काठमाडौंको व्यस्त शहर छाड्यौँ र सिधा उडानबाट नेपालगञ्ज हान्नियौँ ।
हामीले त्यो रात नेपालगञ्जको साधारण होटलमा बितायौँ, जहाँ हामीले यात्राका लागि चाहिने उपकरण र औषधिहरू ध्यानपूर्वक तयार गर्यौँ । हामी यो नवीन यात्राको लागि धेरै उत्साहित थियौँ । केही शङ्का भए पनि धेरै आशाका साथ अर्को दिन हामी ताल्चा विमानस्थलमा उड्यौँ र करिब सात घण्टाको उकालो ओरालो बाटा पार गर्दै शान्त रारा ताल पुग्यौँ । हामी त्यो सुन्दर प्राकृतिक तालको काखमा बस्यौँ, जुन प्राकृतिक सुन्दरताले घेरिएको थियो, जसले ती क्षेत्रका मानिसहरूले सामना गरेका कठिनाइलाई ढाक्ने गर्दथ्यो ।
तेस्रो दिन, हामी पहिलो स्क्रिनिङ साइट खत्याडतर्फ हाइक गर्यौँ । ६ घण्टाको ट्रेकपछि हामी साँझ करिब ५ बजे गाउँमा पुग्यौँ र तुरुन्तै आफ्नो काम सुरु गर्यौँ । हामीले त्यहाँ करिब ४० जना बिरामीको स्क्रिनिङ गर्यौँ र तिनीहरूलाई अत्यावश्यक आँखा उपचार प्रदान गर्यौँ ।
खत्याडमा दुई दिनको आँखा शिविर सम्पन्न गर्दा हामी गौरवान्वित भएका थियौँ । हाम्रा प्रयासहरूले गाउँलेहरूको जीवनमा थोरै भए पनि प्रकाश ल्याएको अनुभूति हामीले गरेका थियौँ । आधारभूत स्वास्थ्य सेवासम्म पनि पहुँच नभएको, जहाँ एउटा प्यारासिटामोलको ट्याब्लेट प्राप्त गर्नु पनि एक ठूलो उपलब्धि थियो । त्यस ठाउँमा हामीले आँखा शिविर गरेका थियौँ, हामीले गौरवको महसुस गर्नु स्वाभाविक थियो ।
हाम्रो यात्रा त्यतिमा मात्रै सीमित थिएन, हामीले हाम्रा ब्याग प्याक गर्यौँ र हाम्रो अर्को शिविर स्थान, रातापानीतर्फ प्रस्थानको तयारी गर्यौँ । हामीलाई थाहा थिएन कि यी दुर्गम पहाडका घुमाउरो बाटामा हामीले एउटा यस्तो कथा भेटाउने छौँ, जुन सधैँ हाम्रो मनमा अङ्कित हुनेछ । जुन घटनाले हामीलाई सधैँका लागि परिवर्तन गरिदिनेवाला थियो ।
हामी रातापानीतर्फको बाटोमा हिँडिरहेका थियौँ, जब एक स्थानीय गाउँले हाम्रो नजिक आए र कसैका लागि मद्दतको याचना गरे । एक जोडीले आफ्नो २९ दिनको शिशु छोरीलाई काखमा च्यापेर ल्याएको दृश्य हामीले देख्यौँ, ती शिशुको बाँया आँखा पूर्ण रूपमा फुटेको थियो । दृश्य हृदयविदारक थियो । फुटेको त्यो आँखा यति सानो बच्चा र उसको अँध्यारो भविष्य । उसको आँखा गम्भीर अवस्थामा भएता पनि उनी अन्यथा स्वस्थ थिइन् । न ज्वरो थियो, न श्वासप्रश्वासमा कुनै समस्या । कति निर्दोष र प्यारी थिइन्, ती सानी अबोध शिशु । जब मैले उनलाई आफ्नो काखमा लिँए, त्यतिबेला उनको सानो शरीरको तौल र हाम्रा काँधमा रहेको अपार जिम्मेवारी महसुस गरेँ ।
हामीलाई थाहा थियो कि हामी त्यहाँ त्यो दुर्गम गाउँमा उनको उपचार गर्न सक्दैनौँ । स्थिति धेरै गम्भीर थियो । त्यसैले हामीले उनलाई नेपालगञ्जको फतेह बाल आँखा अस्पतालमा पठाउने निर्णय गर्यौँ । चिनजानको नेत्र विशेषज्ञहरूको मद्दतले नि:शुल्क उपचारको व्यवस्था पानि गरायौँ । उनका अभिभावक गरिब थिए । त्यसैले हामीले आफूसँग कमै भएको आफ्नो स्रोतसाधन मिलाएर उनीहरूलाई नेपालगञ्जको यात्रा र बसोबास खर्च जुटाउने पैसा दियौँ ।
हामीले उनीहरूलाई हतार गर्न आग्रह गर्यौँ । समय थोरै तर, सबैभन्दा महत्त्वपूर्ण थियो । यदि छिट्टै उपचार नगरिए उनको अर्को आँखा पनि प्रभावित हुन सक्थ्यो । हामीले उनीहरूलाई बिदा गर्यौँ, हाम्रो मन भारी भएको थियो । उनको बाँया आँखा बचाउन नसकिने थियो । तर, कम्तीमा पनि उनको अर्को आँखा जोगाउन सकियोस् भन्ने आशा हाम्रो मनमा थियो ।
त्यो रात त्यो बच्चीको मुहार र उसको अवस्था मेरो मानसपटलमा आइरह्यो । मैले उसको बारेमा सोच्न छोड्न सकिनँ । हाम्रो यात्रा जारी राख्दा पनि मेरो मन त्यो सानी नानीसँगै थियो । उनको निर्दोष अनुहारको तस्वीर मेरो मनबाट हटाउन सकिनँ । त्यसपछि हामीले स्थानीय गाइड दाइलाई अर्को दिन उनीहरूको अवस्थाबारे सोध्न लगायौँ । सायद उनी पुगी होलिन्, आवश्यक उपचार पाइन् होलिन् । यस्तै आशा राखेर हामी हिँडिरहेका थियौँ । तर, जुन खबर हामी सुन्नेवाला थियौँ, त्यो हाम्रो कल्पनाभन्दा धेरै अलग थियो ।
हाम्रा चलिरहेका पाइलाहरू भारी भएर अडिए । मन आत्तियो र आकाश खसेको अनुभूति भयो । त्यो खबरले हाम्रो मनलाई आकुल बनायो । हामीले भेटेको रात नै त्यो बच्ची बितिसकेकी थिइन् । हामी कुनै पनि हिसाबले त्यसका लागि तयार थिएनौँ । कसरी उनी बित्न सक्थिन्, उनको आँखा अवस्थाबाहेक उनी पूर्ण रूपमा स्वस्थ देखिन्थिन् । न ज्वरो थियो, न अरु कुनै सङ्केत, यो झट्का र शोकले मेरो मनलाई भारी बनायो ।
अहिले पनि म त्यो सानी बालिकालाई बिर्सन सक्दिनँ । के उनको मृत्यु साँच्चै प्राकृतिक थियो भन्ने प्रश्नहरूले आज पनि मलाई सताउँछन् । ती दुर्गम क्षेत्रहरूमा, जहाँ लिङ्गीय विभेद अझै कायम छ, जहाँ छोरीहरू छोराभन्दा कम मूल्यवान् मानिन्छन् । मैले यो सोच्न छोड्न सक्दिनँ कि के साँच्चै के भयो । के उनका अभिभावक, गरिबी र सामाजिक दबाब र एउटा आँखा नदेखने छोरीको अन्धकार भविष्य सोचेर उनी बाँचेकोभन्दा मरेको राम्रो हो भन्ने निर्णय गर्न बाध्य त भएनन् ? यी सोचहरूले आज पनि मलाई पिरोल्छन् ।
यस घटनाले मलाई धेरै कुराहरू सोच्न बाध्य बनाएको छ । के हामी साँच्चै यस्ता अवस्थामा बाँचिरहेकाहरूको बीच पुग्न सकेका छौँ, जहाँ जीवन जिउन अति आवश्यक आधारभूत सेवाहरू पनि सपना बराबर छन् ? यहाँ यस्ता ठाउँहरू अझै छन्, जहाँ २९ दिनकी अबोध बालिका एउटा आँखा फुटेको दुखद् परिस्थितिमा उपचार नपाइ बित्छिन् । के हामी साँच्चै भन्न सक्छौँ कि स्वास्थ्य सेवा अधिकांश जनसङ्ख्यालाई पुर्याइएको छ ? त्यस्ता धेरै निर्दोष छोरीहरू त्यहाँ कतै, उस्तै परिस्थितिमा जिउँदै छन् होला । यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्ता अनेकन् घटनाहरू होलान्, जहाँसम्म हामी पुग्न सकेका छैनौँ ।
के उनीहरूको बाँच्ने अधिकार छैन ? अब सबैले सोच्ने हो कि ? सबै मिलेर काम गर्ने बेला आएको छ । जहाँ जुन परिस्थितिमा जन्मिएका भए पनि सबै छोरीहरूलाई बाँच्ने वातावरण सुनिश्चित गराउनु छ । त्यो २९ दिनकी छोरीको मृत्यु मात्र उनका आमा-बाबुको लागि मात्र हानि थिएन । यो हाम्रो समाजमा अझै पनि गहिरो रूपमा रहेको लैङ्गिक भेदभावको कडा स्मरणपत्र थियो ।
हाम्रो ‘ट्रेक एन्ड ट्रीट’ अभियान जारी छ तर, मन अहिले पनि भारी छ । हामी ट्रेक गर्न जारी राख्नेछौँ, उपचार गर्न पनि जारी राख्नेछौँ । यो यात्रा केवल स्वास्थ्य सेवाको मात्र होइन, यो आशा, भरोसा र हरेक जीवनका लागि महत्त्वपूर्ण होस् भन्ने चाहना छ । त्यसैले हाम्रो यात्रा परिवर्तनको एक आह्वान हो ।
Facebook Comment
Comment