काठमाडौं । सरकारी अस्पतालहरुले अब सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवस, जन्मजयन्ती जस्ता सार्वजनिक बिदामा ओपीडी सञ्चालन गर्न मन्त्रालय मातहतका सबै अस्पतालहरुलाई निर्देशन दिएको हो ।
पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा सरकारी अस्पतालमा ओपीडी खोल्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका छन् । त्यसैगरी सार्वजनिक दिवस अन्तर्गत गणतन्त्र दिवस, शहीद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस रहेको छ ।
जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुने मन्त्रालयले जनाएको छ ।

Facebook Comment
Comment