सञ्चारमन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआईजीपीहरूको माग

'अभिव्यक्ति फिर्ता लिई आईजीपीसँग क्षमायाचना गर्नुपर्छ'

नेपालभ्युज

सञ्चारमन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआईजीपीहरूको माग

काठमाडौं । पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आईजीपी वसन्तबहादुर कुँवरलक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भन्ने सञ्चारमन्त्री गुरूङको अभिव्यक्ति अमर्यादित भएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त अभिव्यक्ति फिर्ता लिन, आईजीपी कुँवरसँग क्षमायाचना गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षक विरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ । यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ ।’

मन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘‘धेरै अवरोध गर्ने त्यही क्षेत्रका मान्छेहरू हुन् । प्रहरीको आईजीपीले के भन्नु भो ? म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी, सरकारको नीतिको, व्यवस्थाको विरूद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि । प्रहरी ऐन ल्याउँदै ल्याउँदिनँ भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले है ।’

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरूङलाई सचेत गराइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved