एक वैज्ञानिक अनुसन्धानअनुसार व्रत बस्नुका फाइदा बेफाइदा दुवै हुन्छन् ।
फाइदा– व्रतभङ्गपश्चात् पुनर्भोजन गर्दा मूल कोशिका (स्टेम सेल) को पुनर्सृजन र विभाजन छिटो हुन्छ । त्यसले आन्द्रामा भएका क्षतिलाई मर्मत गर्दछ ।
बेफाइदा– मूल कोशिकाको लगातार विभाजनले क्यान्सर पूर्व अवस्थाका गाँठाहरू सृजना गर्ने सम्भावना बढ्दछ ।
तर, यो निष्कर्ष मुसामा गरिएको अध्ययनबाट निकालिएको हो । मान्छेमा ठीक यही प्रक्रिया यसरी नै लागू हुन्छ भन्ने निश्चितचाहिँ छैन ।
प्रस्तुत छ- एक वैज्ञानिक पत्रकार म्याक्स कोजलोभको रिर्पाटको अनुवाद ।
व्रत बसिरहँदा भन्दा तोड्दा धेरै स्वास्थ्य लाभ हुन्छ, मुसामा गरिएको एक अध्ययनले यस्तो देखायो । अध्ययनबाट यो पत्ता लाग्यो कि खानबाट अलग गरिएका मुसाहरूको मूल कोशिका आन्द्रामा भएको क्षति मरम्मत गर्न अघि बढ्यो तर, त्यतिखेर मात्र जब मुसा फेरि आफ्नो चारो चुड्दै थियो ।
तर, मूल कोशिकाहरूको सक्रियता त्यस्तो मूल्यमा देखियो कि उपवास नगरेको तुलनामा उपवासपछिको अवधिमा क्यान्सर उत्पादन गर्ने अनुवांशिक परिवर्तन भएको खण्डमा मुसाहरूले आफ्नो आन्द्रामा क्यान्सर हुनुपूर्व अवस्थाका गाँठा बनाउने सम्भावना बढी हुन्छ ।
अगस्ट २१ मा नेचरमा प्रकाशित लेखमा कोलम्बिया विश्वविद्यालय इरभिङ चिकित्सा केन्द्रका मूल कोशिका जीववैज्ञानिक इम्मानुअल पासेगुऐ भन्छन् कि मूल कोशिकाको ‘पुनर्सृजन शक्ति लागतरहित’ छैन । तर, उनी यो अध्ययनमा संलग्न थिएनन् । भन्छन्, “त्यसमा एक अध्याँरो पाटो छ, जुन विचारयोग्य छ ।”
स्वास्थ्यको द्रुतमार्ग
अनुसन्धानकर्ताले दशकौंदेखि उपवासको सम्भावित स्वास्थ्य लाभबारे खोज गर्दै आएका थिए । यस्ता अध्ययनबाट त्यस्ता थुप्रै प्रमाण प्राप्त भएका छन् कि व्रत बस्दा कतिपय रोगले छुन ढिलो हुन्छ र मुसा प्रजातिका जन्तुको आयु लम्बिन्छ ।
तर, यी यस्ता फाइदा हुनु पछाडिका अन्तर्निहित जैविक संयन्त्रहरू भने रहस्यमै छन् । सन् २०१८ मा क्याम्ब्रिजको म्यासाचुसेट प्रविधि संस्थानका मूल कोशिका जीवविज्ञानशास्त्री अमेर यिलमाज र उनका सहयोगीले व्रत बस्दा मूल कोशिका संलग्न हुने सम्भावना पत्ता लगाएका थिए ।
व्रत बसेको समयमा मूल कोशिकाले ऊर्जाको स्रोतका रूपमा कार्बोहाइड्रेटको साटो बोसो पगाल्न थाल्दछ । जसले गर्दा मुसाको आन्द्रामा पुगेको क्षतिलाई मर्मत गर्न सक्ने क्षमता बढ्छ ।
यिलमाज र उनका सहकर्मीहरूले उपवासले कसरी र कहिले मूल कोशिका गतिविधि र सङ्ख्यामा वृद्धि हुन्छ भनेर बुझ्न खोजेका थिए । आफ्नो पछिल्लो काममा उनीहरूले मुसाहरूलाई ३ समूह बनाएर अध्ययन गरेका थिए ।
२४ घण्टा उपवासमा राखिएका मुसालाई सकिएपछि फेरि २४ घण्टा खान दिइएको थियो । अध्ययन अवधिमा मुसाहरू जतिखेर खान चाहन्छन्, त्यतिखेर खान अनुमति थियो ।
उपवासछि खान दिइएका मुसाहरूको आन्द्राको मूल कोशिका छिटो दरमा वृद्धि भएका थिए । यी मूल कोशिकाले आन्द्राको अस्तर्रेखालाई मर्मत र पुनर्सृजन गर्न मद्दत गरे । ‘पोलिमाइन’ भनिने अणुको भाग ठूलो मात्रामा उत्पादन भयो, जुन कोशिका बढ्न र विभाजन गर्न महत्त्वपूर्ण हुन्छ ।
यिलमाज भन्छन्, “व्रत बस्नुलाई हामी धेरै जोड दिइरहेका छौँ तर, कतिन्जेल उपवास बस्ने यो समीकरणको अर्को पक्षको बेवास्ता भइरहेको छ, उपवासपछि खाने अवस्थामा के हुन्छ ?”
तथ्यको दोस्रो पाटो
यसको अर्को पाटो पनि छ । आन्द्राका मूल कोशिकाहरू लगातार विभाजन हुने क्षमता क्यान्सरपूर्वको अवस्थाका कोशिकाको स्रोत पनि बन्न सक्दछ ।
जब अन्वेषकले क्यान्सर उत्पादन गर्ने जिनलाई पुनर्भोजन अवधिमा सक्रिय पारे, मुसाहरूले उपवास नगरेको अवधिमा भन्दा ट्युमरहरू विकास गर्ने सम्भावना बढी देखियो ।
म्यासाचुसेट बोस्टनकी हार्वड मेडिकल स्कूलकी क्यान्सर मेटाबोलिज्म विशेषज्ञ नादा कलानी भन्छिन्, “यी क्यान्सरका लागि अतिरिक्त प्रवृत्तिहरू हुन् । यीनले तन्तुलाई ट्युमर उत्पादन हुने किनारातिर धकेल्दछन् ।’
अनुसन्धाताहरू क्यान्सर निम्त्याउन सक्ने कुनै पनि कुराप्रति सधै चिन्तित हुनु पर्दछ । तर, लस एन्जलसस्थित साउथ क्यालिफोर्निया विश्वविद्यालयका बायोजेरेन्टोलोजिष्ट भाल्टर लंगो भन्छन्, “निमोठिएका जिन भएका मुसामा लगभग क्यान्सर हुने जोखिम थियो, र त्यो अझै अलिकति वृद्धि भयो । तर, यस अध्ययनमा फेला परेका यी कुरा सबैमा त्यति धेरै लागू नहुन सक्दछन् ।”
उदाहरणका लागि उनले सन् २०१५ मा प्रकाशित गरेको अध्ययनलाई औँल्याए, जसले यो देखाएको थियो कि उपवास बस्ने अन्य जन्तुको तुलनामा मुसाहरूमा असामान्य कोष र तन्तुको वृद्धि ४५ प्रतिशतले कमी थियो ।
यसको साटो लङ्गो भन्छन्, “नेचरको अध्ययन नतिजाले क्षतिग्रस्त तन्तुहरू सुधार गर्न कोशिकीय पुनर्सृजन गर्ने तरिका पहिचानमा मद्दत गर्दछ । उदाहरणका लागि आन्द्रामा ‘कोलोन एण्ड क्रोन’ रोगको पीडा भएका मान्छेका लागि ।”
यो अस्पष्ट छ कि नेचर अध्ययनका निष्कर्ष मानिसमा लागू हुन्छन् कि हुँदैनन् । यदि हुन्छन् भने कसरी हुन्छन् । यिलमाज भन्छन् कि यो कुरा पत्ता लगाउन उनी र उनका सहकर्मीहरू यसको क्लिनिकल परीक्षण गर्ने योजनामा छन् ।
तर, अहिलेसम्मका अध्ययनबाट यो कुरा भने प्रष्ट छ, व्रतपछिको पुनर्भोजन अवस्था निक्कै संवेदनशील हुन्छ । यिलमाज भन्छन्, “यो अवस्थामा कोशिकीय डिएनएलाई क्षति गर्न सक्ने कुनै पनि कुराको विरुद्धमा थप सावधानी अपनाउनु पर्दछ ।”
(नेचर डटकमबाट अनूदित)
Facebook Comment
Comment