राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट

नेपालभ्युज

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार आएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताए ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौंमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे ।

सो भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved